गाउँले सहर झरे, उत्तरी गोरखाका गाउँ सुनसान

गाउँले सहर झरे, उत्तरी गोरखाका गाउँ सुनसान
चुमनुब्री गाउँपालिका ७ को तिब्बती सीमा नजिकैको निले गाउँ।

गोरखा : जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन्। हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा विगत वर्ष जस्तै अहिले पनि जाडो छल्न धमाधम सहर झर्न थालेका स्थानीयको भनाइ छ।

‘अहिले ८० प्रतिशत गाउँलेहरू काठमाडौं झरिसके। २० प्रतिशत मात्र बाँकी छन्, तीचाहिँ घर कुर्न बसेका हुन्’, चुमनुब्री ७ छेकम्पारका पासाङफुन्जो लामा भन्छन्, ‘अहिले हरेक घरमा एकेक जनामात्र घर कुर्न बसेका होलान्।’ घरमा बसेकाले खेतीपाती र वस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ। गाउँमा रहेकाहरूले छरछिमेक तथा आफन्तहरूको घरको पनि रेखदेख गरिदिने उनले बताए।

जाडो बढेपछि मंसिर दोस्रो सातातिर लेकको चरन र खर्कहरूमा राखिएका चौरीहरू गाउँमा झारिएको छ। याक भने हिमाली क्षेत्रको चरनमै छन्। ‘याकको चाहिँ भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ। चौंरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राखिन्छ’, सोही वडाका वडाध्यक्ष टासी लामा भन्छन्, ‘ती चौंरी स्याहार गर्नका लागि पनि घरघरमा एक एक जनाचाहिँ बस्छन्। अरू सबै सहर झर्छन्। घरमा बसेकाले वरिपरि छरछिमेक र इष्टमित्रको घरको पनि रेखदेख गर्ने गर्छन््।’

चुमनुब्री १ मा पनि बस्ती खाली हुन थालेको छ। तिब्बत सीमानानजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको स्थानीयको भनाइ छ। यहाँका करिब ४५ घरधुरीमध्य १०, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङचुक लामाले जानकारी दिए। ‘धेरै घरहरू खाली भइसकेका छन्’, उनले भने, ‘एकदुईबाहेक होटलहरू पनि बन्द भएका छन्।’

जाडो बढेपछि चुमनुब्री २ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका ४ को कोखेटारमा सारिएको छ। आउँदो चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँँका प्रधानाध्यापक बाबुराम धमला बताउँछन्। गाउँलेहरू पनि प्रायः सहर झरिसकेका छन्।

उत्तरी गोरखाका सबैजना बौद्ध धर्मावलम्बी हुन्। उनीहरू सहर झरेका बेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन्। ‘धेरैजसो तीर्थ गर्न जान्छन्। कोहीकोही काठमाडौंंमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्’, चुमनुब्री–७ निलेका लोप्साङ लामा भन्छन्, ‘हाम्रातिरचाहिँ घरमा ढोका लगाएर सबै सहर झर्दैनन्। कम्तीमा पनि प्रत्येक घरमा एक एक जना घर कुरुवा बस्छन्।’ अहिले सहर झरेकाहरू सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.