संरक्षण कूटनीति : २६ गैंडा विदेशमा
काठमाडौं : ७ वर्षकी रुद्रकली र ६ वर्षका खगेन्द्रप्रसाद नाम गरेका एक जोडी हात्ती बिहीबार कतार पुगिसकेका छन् । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपालले उपहार स्वरूप कतारलाई प्रदान गरेका यी हात्तीहरू अल खोर पार्क जुमा राखिनेछन् । तर, संरक्षण कूटनीति विस्तारमा नेपालबाट बिदेसिने सबैभन्दा धेरै संख्या गैंडाको रहेको छ ।
हालसम्म २६ वटा गैंडा विभिन्न मुलुक पुगिसकेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका अनुसार पछिल्लो समय सन् २०१८ को जुलाई र अगष्टमा नेपालले चारवटा गैंडा चीनलाई उपहार स्वरूप दिएको थियो । भद्र र रुपसी नाम गरेका गैंडालाई चिमेलड सफारी पार्कमा लगिएको थियो भने सोल्टी र मितिनीलाई सांघाई वाइल्ड एनिमल पार्कमा लगिएको थियो । गैंडा नै सबैभन्दा धेरै उपहारमा दिइएको विषयमा विभागका प्रवक्ता वेदकुमार ढकालले भने, ‘देशहरूको मागबमोजिम नै दिइएको हो । हामीले पनि दिन सक्ने भएकाले नै दिएको हो । प्राविधिक रूपमा हेर्दा एक, दुईवटा गैंडा निकाल्दा केही हुँदैन भन्ने देखियो ।’
सद्भाव प्रतीकका लागी दीर्घकालीन विचार गरेर ती वन्यजन्तुहरू उपहार दिइएको र त्यसको अप्रत्यक्ष फाइदा पाएको ढकालले बताए । अन्य देशहरूबाट पनि वन्यजन्तु नेपाल ल्याउनुका साथै भविष्यमा पनि ल्याउन सक्ने ढोकाहरू खुल्लै रहेको बताए । विश्व वन्यजन्तु कोष नेपालका आवासिय प्रतिनिधि डा. घनश्याम गुरुङ भन्छन्, ‘कुनै पनि देशले वन्यजन्तु उपहार दिन सक्नु भनेकै संरक्षणको क्षेत्रमा राम्रो काम गरेको भन्ने सन्देश दिनु हो । दुई मुलुकबीचको कूटनीतिक, राजनैतिक सम्बन्ध विस्तार त हुन्छ नै त्यसका साथै जनचेतना पनि फैलाउन मद्दत गर्छ ।’
‘एक/दुईवटा उपहार दिँदा केही हुँदैन । यसले नेपालमा मात्रै हैन अर्को ठाउँमा पनि संरक्षण गर्न मद्दत हुन्छ ।’ उपहार दिँदा पनि वन्यजन्तुलाई व्यवस्थापन गर्न जुन खालको वातावरण चाहिन्छ ती सम्पूर्ण वातावरण भए नभएको सुनिश्चित गरेर मात्रै पठाउने गरेको गुरुङले बताए । उचित व्यवस्थापन भए नभएको सुनिश्चित गर्न नेपालबाटै मानिस जाने गरेको उनले बताए । गुरुङका अनुसार भारत आसामदेखि नेपालसम्मै एकसिंगे गैंडा पाइन्छ । दुईवटा सिंग भएका ठूला खालका गैंडा अफ्रिकामा पाइन्छन् । सानो सिंग भएको गैंडा भने इन्डोनेसियामा पाइन्छन् । मलेसियामा पहिला गैंडा पाइए पनि हाल संरक्षणमा नभएको बताए ।
राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले सन् २०२१ को तथ्यांकअनुसार ७ सय ५२ वटा गैंडा भएको बताए । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा छन् । अन्य बर्दिया र शुक्लाफाँटा राष्ट्रिय र निकुञ्जमा छन् । डा. गुरुङले भने जस्तै चारकोषेझाँडी भएको समयको जत्तिकै संख्यामा पुर्याउन चुनौती रहेको आचार्यले बताए । पहिलाको अवस्थामा पुर्याउन नसके पनि भएकालाई राम्ररी व्यवस्थापन गर्ने र प्राकृतिक हिसाबले उपयुक्त वातावरण दिने काम गरेको उनले बताए ।
आचार्यले पनि अन्य मुलुकसँग भएको सम्बन्ध अझै प्रगाढ बनाउन यस्ता उपहार दिने कामले गरेको बताए । ती वन्यजन्तुहरू संरक्षणका लागि दिइएको बताउँदै उनले भने, ‘त्यहाँको चिडियाखानामा राखेपछि नेपालको संरक्षणको प्रचार–प्रसार हुन्छ । संरक्षणको हिसाबले नेपालले गरेको काम देखिन्छ’, आचार्यले थपे, ‘उपहार दिँदा घाटा केही छैन ।
नेपालले आम्दानी गर्न बेचेको पनि होइन ।’ उपयुक्त वासस्थानभन्दा फरक ठाउँमा लगेर राख्ने संरक्षणको विधिअनुसार नै वन्यजन्तुहरू पठाइने गरेको उनले बताए । अर्को देशको सरकारले चासो दिएर नेपालका वन्यजन्तु पाल्ने तथा संरक्षण शिक्षामा प्रचार–प्रसार गरिदिनु राम्रो कार्य भएको उनले बताए । गैंडाको जनसंख्या ढिलो बढ्छ । यसको बच्चा जन्माउने प्रक्रिया झन्डै १७, १८ महिना लाग्छ । गैंडा एकै ठाउँमा दिशा गर्छन् । तर, लामो दूरीसम्म हिँड्दैनन् । भाले गैंडाहरू एकअर्कामा जुधेर मर्छन् । तर, मानिसले चाहेर पनि जनसंख्या बढाउन सक्दैनन् ।
राष्ट्रिय निकुञ्जको तथ्यांक हेर्दा पनि ठूलो संख्या गैंडाको मृत्यु हुने गरेको देखाउँछ । ०८१ साउन देखि ०८२ साउन सम्म मात्रै चितवन राष्ट्रिय निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको छ । विरामी भएर तथा बाघको आक्रमणमा परेर, जुधेर, प्राकृतिक विपत्तिमा फसेर तथा अन्य कारण मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आन्तरिक स्थानान्तरण
चितवन राष्ट्रिय निकुन्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अन्जली नाम गरेको एकसिंगे गैंडालाई करिब दुई वर्ष पहिला कोशीटप्पु वन्यजन्तु आरक्ष पुर्याइएको थियो । कोशीटप्पुमा एकसिंगे गैंडा थिएनन् र उनीहरूलाई पहिलो पटक स्थानान्तरण गरिएको हो । उनीहरूको जनसंख्या एक ठाउँबाट अर्कोमा पनि विस्तार गर्न तथा संरक्षणका लागि त्यहाँ लगिएको विभाग बताउँछ । एकसिंगे गैंडा चोरीशिकारीको मुख्य चुनौती बनेको छ । दुई वर्षपछि बच्चाहरूको खाग पलाउन सुरु हुन्छ । तर, तस्करहरूको तारो परिपक्क गैंडा हुन्छन् ।
प्रतिक्रिया दिनुहोस !