मधेशमा रोहिंग्या शरणार्थी बढ्दै, थपिँदै सुरक्षा चुनौती

मधेशमा रोहिंग्या शरणार्थी बढ्दै, थपिँदै सुरक्षा चुनौती
फाइल तस्बिर ।

जनकपुरधाम : मधेशका सहर बजार र गाउँघरमा अहिले भिन्दै खालको भेषभूषा र बुझ्न समेत अप्ठ्यारो हुने भाषामा कुराकानी गर्ने थुप्रै अपरिचित व्यक्तिहरूको आवागमन बढेको छ । वीरगञ्ज, सिरहा, धनुषा, महोत्तरी, रौतहटलगायत मधेश प्रदेशका अधिकांश जिल्लामा रोहिंग्या शरणार्थी हजारौंको संख्यामा प्रवेश गरेपछि यसले सर्वसाधारणमाझ असुरक्षाको वातावरण बनाएको छ । 

सिरहाको धनगढी माई नगरपालिका- १० कृषि बजारमा पाल टागेर बसेका सयौं रोहिंग्या शरणार्थीका कारण कृषि बजारमै चोरीडाँकाको घटना बढेको थियो । अपराधिक गतिविधिहरू बढेपछि वडाअध्यक्ष सरोजकुमार महतो आफैंले ती सबै अपरिचितलाई कृषि बजारको जग्गाबाट हटाएको बताउँछन् । 'उनीहरू को हुन्,कहाँबाट आए,कुन समुदायको हो केही भन्दैनन् । पटकपटक आएर वडाका विभिन्न स्थानमा घर बनाएर बस्छ । यिनीहरूका कारण समाजमा चोरीडाँकाका घटनाहरू पनि बढ्न थालेपछि मैले आफैं आएर सबैलाई हटाएको हो,'वडाअध्यक्ष महतो भन्छन्, 'यस्ता अपरिचित व्यक्तिलाई सीमानाकाबाट नेपाल प्रवेश गर्न नै दिनु हुँदैन् ।'

पर्साको वीरगञ्ज नाकाबाट सयौंको संख्यामा नेपाल छिर्ने प्रयास गरेका रोहिंग्या शरणार्थीलाई स्थानीयको विरोधपछि प्रहरीले बाटैबाट भारत तर्फ फिर्ता पठाएको थियो । धनुषाको जनकपुरसहित आसपासका गाउँमा पाल टागेर ठूलो संख्यामा यस्ता व्यक्तिहरू बसेको देखिन्छन् ।

मगन्ते,फुटपाथे व्यापारी र स-साना सामानहर बेच्ने नाममा गाउँसहर पसेका यस्ता अपरिचित व्यक्ति अधिकांश रोहिंग्या शरणार्थी रहेको प्रहरीको भनाइ छ । भारतको बाटो हुँदै सीमाबाट नेपाल छिर्ने यस्ता रोहिंग्या शरणार्थीबाट मधेशमा सुरक्षा खतरा समेत बढेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया बताउँछन् । 

‘यसै साता हामीले सिरहाबाट समातिएका दुईजना अपरिचितलाई समातेर आप्रवासनमा पठाएका हौं । उनीहरूबाट सुरक्षामा समस्या हुन सक्छ किनकी उनीहरूको न त कुनै पहिचान हुन्छ,' डीआईजी थपलिया भन्छन्,‘प्रहरीको तर्फबाट सबै नेपाली नागरिकमा हामी अपिल गर्छौं कि यस्ता खालका फरक संस्कृति,भेषभूषा र अपरिचित व्यक्ति आफ्नो टोल छिमेकमा देख्न वित्तिकै हामीलाई खबर गर्नुस् । यस्तालाई समातेर हामी कारवाहीका लागि आप्रवासनमा पठाउँछौं ।’

रोहिङया शरणार्थी बेरोजगार भएकाले आपराधिक गतिविधिमा संलग्न हुने जोखिम रहेको छ । रोहिंग्या शरणार्थीको विषयमा अध्ययन गर्न गृह मन्त्रालयले २४ कात्तिक २०७६ मा काठमाडौंका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । यस कार्यदलले रोहिंग्या नेपालका लागि दीर्घकालीन खतरा हुन सक्ने निष्कर्ष समेत निकालेको थियो । 

सो बेला कार्यदलका संयोजक कटवालले रोहिंग्या शरणार्थीलाई आश्रय दिँदा उनीहरू बसेको क्षेत्रमा स्थानीय समुदायले उपयोग गर्ने स्रोतसाधनमा कमी हुने र आन्तरिक द्वन्द्व फैलिने खतरा औंल्याएका थिए । त्यसैगरी फरक सांस्कृतिक पृष्ठभूमिका मानि एकैसाथ बस्दा कलह हुने सम्भावना पनि कार्यदलले औंल्याएको थियो । 

त्यसका साथै विभिन्न स्वार्थ समूहले उनीहरूलाई प्रयोग गर्न सक्ने, लागुऔषध कारोबार तथा अपहरण,हत्या र लुटपाटमा संलग्न हुन सक्ने जोखिम पनि देखाइएको थियो । रोहिंग्याहरू म्यानमारका अल्पसंख्यक जाति हुन् । उनीहरू म्यानमारको रखाइन प्रान्तमा बसोबास गर्छन् । म्यानमारमा बहुसंख्यक बौद्ध धर्माबलम्बी छन् । रोहिङयाहरू मुस्लिम समुदायका भएकाले त्यहाँको जातीय द्वन्द्वमा परेका हुन् । म्यानमारमा सन् १९८२ देखि रोहिंग्यालाई नागरिकता दिन रोकिएको छ । बंगलदेश र भारतमा रोहिंग्याहरूलाई बस्न सहज भएपछि नेपाल छिर्न थालेका हुन् । 

यता,नेपालको अध्यागमन ऐन, २०४९ अनुसार विदेशी नागरिकहरू भिसा र पासपोर्टबिना नेपाल छिर्न नपाउने व्यवस्था छ । अध्यागमन कानुनअनुसार कुनै पनि विदेशी नागरिकको तथ्यांक अध्यागमन विभागमा हुनुपर्छ । तर,रोहिंग्याहरूको कुनै तथ्यांक छैन् ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.