टाउको दुख्यो ? हेलचेक्राई नगरौं
मस्तिष्कको कुनै भागमा रगतको आपूर्ति अचानक बन्द हुन पुगेको अवस्थालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको भनिन्छ । मस्तिष्कघातलाई स्केमिक (मस्तिष्कमा रगत प्रवाह गर्ने धमिनी अवरुद्ध भएको अवस्था) र हेमोरेजिक (मस्तिष्कको रक्तनली फुटेर भएको रक्तस्राव) लाई बुझाउँछ ।
हेमोरेजिक स्ट्रोकको सब टाइपको रूपमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) लाई लिन सकिन्छ । हेमोरेजिक स्ट्रोक हुँदा विशेषगरी मस्तिष्कभित्रको पेरेन्काईमा (मस्तिक तन्तु) भित्र स्राव हुन्छ । त्यसैले भनिन्छ, आईसीएच स्ट्रोक ब्रेन स्ट्रोक हुन् । तर, सबै ब्रेन स्ट्रोक आईसीएच होइन ।
इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को मृत्युदर उच्च हुन्छ । बाँचे पनि अपांगताको जोखिम उच्च हुन्छ । दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुने वा दैनिक कामकाज गर्न अन्य व्यक्तिमा निर्भर रहनुपर्ने अवस्था आउन सक्छ । नेपालसहित दक्षिण एसियाली मुलुकमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को समस्यामा वृद्धि भएको तथ्यांक छ । मध्यम आय भएका मुलुकहरूमा यो समस्या वृद्धि भएको छ ।
कुनै पनि व्यक्तिमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को समस्या देखा पर्न सक्ने मुख्य कारण हो, उच्च रक्तचाप । त्यस्तै धूमपान, मद्यपानको लतमा लागेको व्यक्ति पनि जोखिममा पर्छन् । पछिल्ला नयाँ अध्ययनहरूले पर्यावरणीय प्रदूषणका कारण पनि इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को जोखिम निम्त्याउने उल्लेख गरेका छन् ।
कसरी थाहा पाउने ?
– अचानक टाउको दुख्ने
– रक्तस्रावले मस्तिष्कमा दबाब बढाउँदा अर्धचेत हुने
– बेहोस हुन सक्ने
– रक्तस्राव भएको भाग सुन्निने
– बान्ता हुने, बोल्न कठिनाइ हुने
– अनुहारमा असन्तुलन आउने
– दृष्टिमा समस्या आउने
– बोल्दा वा हल्लाउँदा अलि अलि प्रतिक्रिया दिने
सामान्य टाउको दुखाइ र आईसीएच कसरी छुट्ट्याउने ?
सामान्य टाउको दुखाइ र इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) हुँदाको टाउको दुखाइमा धेरै फरक हुन्छ । आईसीएच हुँदाको दुखाइ विशेष हुन्छ । अचानक र अत्यन्तै तीव्र दुखाइ महसुस हुन्छ । जबकि, साधारण टाउको दुखाइ क्रमिक रूपमा विस्तारै दुख्ने हुन्छ ।
साधारण टाउको दुखाइमा अन्य न्युरोलोजिकल लक्षणहरू जस्तै पक्षघात, चक्कर, कमजोरी, बोल्न समस्या हुने, चेतना गुमाउने लक्षणहरू हुँदैनन् । यस्ता लक्षणहरू आईसीएच हुँदा देखिने गर्छन् । यदि टाउको दुखाइसँगै बोली बिग्रिने, चक्कर लाग्ने वा बेहोसी भएमा स्ट्रोकको शंका गर्नुपर्छ । स्ट्रोक भएको हो/होइन पत्ता लगाउनको लागि सिटिस्क्यान वा एमआरआई गर्नुपर्ने हुन्छ ।
के छ उपचार ?
इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) को उपचार न्युरोइन्टरभेन्सनद्वारा नै गरिन्छ । न्युरोइन्टरभेन्सनिस्टले मस्तिष्क रक्तस्राव र स्ट्रोकको उपचारमा मिनिमली इन्भेसिभ विधि प्रयोग गर्छन् । जसबाट खुला सर्जरी बिना नै छिटो र प्रभावकारी रूपमा उपचार हुन्छ ।
थम्बेक्टोमी : यस उपचार विधिमा रगतको थेग्लो (क्लट) निकाल्ने प्रक्रिया अपनाइन्छ । त्यसपछि मस्तिष्कमा रगतको आपूर्ति पुन: सुचारु हुन्छ ।
एन्युरिजम कोइलिङ : एन्युरिजम फुटेपछि कोइलिङ प्रक्रिया अपनाएर रक्तस्राव रोकिन्छ । यसका फाइदाहरू पनि छन् । जस्तो, रक्तस्रावको पुन: हुन सक्ने जोखिम रोक्छ । मिनिमली इनभेसिभ अर्थात् कुनै खुला सर्जरीको आवश्यकता पर्दैन । बिरामीलाई छिटो निको हुने हुन्छ ।
फ्लो डाइवर्टर स्टेन्ट : यसले ठूलो एन्युरिजममा रगतको प्रवाहलाई सामान्य बनाउँछ । पुन: रक्तस्राव हुने जोखिम घटाउँछ ।
प्रतिक्रिया दिनुहोस !