२ दलले समानुपातिकको बन्दसूची बुझाए, अरूले आज

२ दलले समानुपातिकको बन्दसूची बुझाए, अरूले आज

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दुई दलले मात्रै उम्मेदवारहरूको बन्दसूची बुझाएका छन्। आइतबार राति ८ बजेसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाल लोकतान्त्रिक पार्टीले मात्र उम्मेदवारको बन्दसूची बुझाएको सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन्। उनका अनुसार राष्ट्रिय जनमोर्चा पार्टीले बुझाएको बन्दसूची भने प्रक्रियामा छ। 

फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आयोगले आइतबार र सोमबारको समय निर्धारण गरेको छ। आइतबार पहिलो दिन दुई दलले मात्रै बन्दसूची बुझाएका कारण आयोगका कर्मचारी फुर्सदिला थिए। तर, सोमबार अन्तिम दिन रहेकाले बाँकी सबै दलले बन्दसूची बुझाउनै पर्नेछ। 

आयोगका कर्मचारी बन्दसूची बुझ्न तयारी अवस्थामा रहे पनि फाट्टफुट्ट मात्रै बन्दसूची प्राप्त भएको समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए। सोमबार भने दलहरूको आयोगमा भीड लाग्ने देखिएको छ। पहिलो दिन फुर्सदिला देखिएका कर्मचारीहरूलाई सोमबार भ्याइनभ्याइ हुने देखिएको छ। 

उम्मेदवार छनोट प्रक्रियामा दलहरूको आन्तरिक तयारी नपुगेकाले ठूला दलले आइतबार बन्दसूची बुझाउन नसकिएको बताएका छन्। पदका आकांक्षी धेरै भएका र सबै क्षेत्र, वर्ग, समुदाय, लिंग र भूगोललाई समेट्न समय लागेको नेताहरूले बताए। आयोगले भने दलहरूलाई टेलिफोन गरेर बन्दसूची बुझाउन आइतबार ताकेता गरेको थियो।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुन्छन्। त्यसका लागि दलहरूले उम्मेदवारहरूको बन्दसूची पेस गर्नुपर्छ। १ सय ६५ सिटमा भने प्रत्यक्ष प्रणालीतर्फ पहिलो हुने निर्वाचित हुने विधिबाट सांसद चुनिनेछन्। 

निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ एकल र संयुक्त गरेर ९३  वटा चुनाव चिह्न निर्धारण गरिएका छन्। निर्वाचनमा १०० दलले भाग लिँदै छन्। आयोगमा दर्ता कायम रहेका १ सय ३७ दलमध्ये ३७ वटा दलले भने समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चासो देखाएका छैनन्।  
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि, प्रक्रिया, प्रमाण एवं कागजात पूरा गरी रित पुर्‍याएर मात्र उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (५)मा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा अनुसूची १ बमोजिम दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम तयार गर्नुपर्ने व्यवस्था छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि तयार गरेको उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरूलाई जानकारी गराएको छ। ‘निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीका लागि सार्वजनिक गर्न सक्ने  आयोगले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.