रुन्चेतको २५२ घर तीन दिनदेखि विद्युत् सेवाविहीन
गोरखा : गोरखाको दुर्गम भेगमा अवस्थित रुन्चेत गाउँ विगत तीन दिनदेखि विद्युत् सेवाविहीन भएको छ। स्थानीय रुन्चेतखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मा प्राविधिक समस्या आएपछि धार्चे गाउँपालिका–२ रुन्चेतका २ सय ५२ भन्दा धेरै घरधुरीका बासिन्दा विद्युत् सेवा उपभोग गर्नबाट वञ्चित भएका सीताराम गुरुङले जानकारी दिए।
‘हाम्रो गाउँमा केन्द्रीय प्रसारणको विद्युत् सेवा जोडिएको छैन’, उनले भने, ‘लघुजलविद्युत्को जेनेरेटरमा समस्या आएकाले तीन दिनदेखि गाउँमा विद्युत् अवरुद्ध भएको छ।’ विद्युत् सेवा अवरुद्ध हुँदा गाउँलेहरू अँगेनाको उज्यालोका भरमा रातसाँझ गुजार्ने गरेका उनले बताए। ‘बिजुली बाल्न थालेपछि गाउँमा टुकी बाल्न छाडियो। अहिले मट्टीतेल पनि छैन। बिजुली पनि छैन’, गुरुङ भन्छन्, ‘कोही ब्याट्रीबाट चल्ने टर्च लाइटले काम चलाएका छन्, नत्र धेरैजसोले अँगेनुको आगोको उज्यालोमा रातसाँझको काम गर्न बाध्य छन्।’
विशेषगरी विद्यार्थीलाई पढ्न, लेख्न समस्या भएको छ। गाउँलेहरू मोबाइल चार्ज गर्न नपाउँदा अधिकांशको मोबाइल स्विच अफ अवस्थामा रहेको उनको भनाइ छ। ‘मैले त स्वास्थ्यचौकीको सोलारमा मोबाइल चार्ज गर्न पाएँ र मोबाइलले काम गरेको छ, नत्र सबैको स्विचअफ छ’, उनले भने, ‘मिल नचलेर कोदो, मकै पिस्न पनि पाइएको छैन। विद्यार्थीले राति पढ्न पाएका छैनन्।’ केही दिनमा जेनेरेटर मर्मत गरेर बत्ती बाल्ने आशा उनले व्यक्त गरे। ‘प्राविधिकहरू बुटबलबाट आउँदै गरेको भन्ने सुनेको छु’, उनले भने, ‘अब केही दिनमा त कस्सो बत्ती नबल्ला र ?’ १०० किलोवाटको सो लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्का २ सय ५२ जना उपभोक्ता छन्।
प्रतिक्रिया दिनुहोस !