घर आगलागी हुँदा घरधनी घाइते
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन्। गए राति ३ बजेतिर आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते भएका छेकम्पारका अटु लामाले बताए।
आगलागीको कारण तेन्जिङ वाङगेल लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्रीका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए। ‘घाइतेको छेकम्पारमै प्राथमिक उपचार भैरहेको छ। आजनै बोकेर सिर्दिबास ल्याउने तयारी पनि छ’, उनले भने, ‘छेकम्पारबाट सिर्दिबास आइपुग्न एक दिन पैदल हिँड्नुपर्छ।’
घाइतेको उद्धारका लागी हेलिकोप्टर माग गरे तापनि आर्थिक अभावका कारण पैदल लैजान लागिएको स्थानीय अटु लामाले बताएका छन्। आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ता–कपडा, अन्नपात, काठ दाउरा, चौरीको काँटी, जस्ता पाता, कृषि औजार लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए। चुलाको आगो सल्किएर आगलागी भएको स्थानीयहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !