दुई पालिका जोड्ने देउनिया खोलाको झोलुंगे पुलको उद्घाटन
झापा : झापाको दुई पालिका जोड्ने देउनियाँ खोलामा तीन वर्षअघि सञ्चालनमा आएको झोलुंगे पुलको बिहीबार उद्घाटन गरिएको छ। भद्रपुर नगरपालिका–७ र हल्दिबारी गाउँपालिका–३ सीमासँग जोडिएको देउनिया खोलाको झोलुंगे पुलको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
हल्दिबारीको तीन गैरीगाउँ हुँदै भद्रपुरको बुधकरण चिया बगान जोड्ने ११७.४० मिटर लम्बाइको उक्त झोलुंगे पुलको उद्घाटनपश्चात् लालीगुराँस झोलुंगे पुल भनी नामकरणसमेत गरिएको छ। २०७९ कात्तिक १० गते निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको उक्त झोलुंगे पुलको औपचारिक उद्घाटन भने शुक्रबार गरिएको हो।
यहाँका स्थानीयको आउजाउलाई मध्यनजर गरी पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी भद्रपुर नगरपालिकामार्फत बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउन हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले विशेष पहल गरेका थिए।
आर्थिक वर्ष २०७६/०७७ को बजेटअन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको जनाइएको छ। पुल सञ्चालन आएपछि यहाँका करिब पाँच सय घरपरिवार लाभान्वित भएका छन्।
प्रतिक्रिया दिनुहोस !