गोरखाका ७२ घरधुरी तीन सातादेखि टुकीको भरमा
गोरखा : चुमनुब्री गाउँपालिका— ३ का तीन गाउँ तीन सातादेखि विद्युतविहीन छन्। चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी, भालुवन र पैयुँका गरी ७२ घरधुरीका बासिन्दा विगत लामो समयदेखि विद्युतवहीन भएको स्थानीयवासीको गुनासो छ।
‘यहाँ बिजुली बाल्न नपाएको आज १९ दिन भइसक्यो’, जगतका विशाल घलेले भने, ‘जगतका २५ घर, सल्लेरीको पनि त्यस्तै २५ घर, भालुवनका १७ घर र पैयुँका केही घर विद्युत्सेवा गर्नबाट बञ्चित छौं।’ बिजुलीबत्ती नभएपछि स्थानीय करिब ७२ घरधुरीका बासिन्दा टुकीका भरमा गुजारा गर्नु परेको उनको भनाइ छ।
विद्युत् सेवा ठप्प भएपछि मोबाइल तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको अर्का लक्ष्मण कार्कीको भनाइ छ। ‘बत्ती बिग्रिएपछि जगतको मोबाइल टावरमा विद्युत् विच्छेद भयो’, उनले भने, ‘त्यसैले मोबाइल नचलेको पनि थुप्रै दिन भयो।’
अझै कहिलेसम्म विद्युत् सेवाबाट बञ्चित हुनेबारे अन्योल भएको स्थानीयको चिन्ता छ। ‘टर्बाइनमा खराबी आएर बनाउन तल (बजार)मा लगेको थियो। त्यहाँ पनि नहुने भएकाले इन्डिया लानुपर्छ भन्ने भएछ’, अर्का स्थानीय गणेश कार्कीले भने, ‘१९ दिन त भइसक्यो। अझै कति दिन टुकी बालेर बस्नुपर्ने हो थाहा छैन।’
प्रतिक्रिया दिनुहोस !