गोरखा : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र विप्लव नेतृत्वको नेकपा माओवादीबाट उमा भुजेलको नाम गोरखाबाट सिफारिस भएको छ । प्रलोपा र माओवादीको आइतबार सम्पन्न बैठकले डा.भट्टराईको नाम गोरखाका दुवै क्षेत्रबाट र भुजेलको नाम गोरखा- २ बाट सिफारिस भएको हो ।
डाक्ट भट्टराई प्रलोपाका संरक्षक हुन् भने भुजेल नेकपा माओवादीकी स्थायी समिति सदस्य हुन् । नेकपा माओवादी पहिलो पटक निर्वाचनमा भाग लिन लागेको हो । डाक्टर भट्टराईको नाम क्षेत्र नम्बर १ र २ सिफारिस गरेको प्रलोपाका जिल्ला संयोजक यानप्रसाद भट्टले जानकारी दिए ।
त्यस्तै क्षेत्र नं.१ बाट शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको उनले बताए । क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकको बन्द सूचीमा गोरखाबाट दिनेश जोशी, महेश गुरुङ, इन्दिरा बस्ताकोटी, नारायणी अधिकारी र लालबहादुर विकको नाम सिफारिस गरेको संयोजक भट्टले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपा माओवादी गोरखाले दुवै निर्वाचन क्षेत्रबाट ६ जना उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । पार्टीले गोरखा–१ बाट तीनजना र क्षेत्र नम्बर २ बाट ३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको पार्टीका काजी गुरुङले जानकारी दिए ।
उम्मेदवारका लागि पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कपिल भट्ट,पार्टीका स्थानीय नेता अजिव पौडेल र पार्टीका गण्डकी गाउँपालिका इन्चार्ज विष्णु रिजालको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य काजी गुरुङले बताए ।
त्यस्तै क्षेत्र नम्बर २ बाट जेलब्रेकर नेतृ तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल, काजी गुरुङ र मजदुर संगठन नेपालका अध्यक्ष टेक प्रधानको नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकको बन्द सूचीमा योगेन्द्र कुमालको नाम सिफारिस गरिएको पार्टीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !