खिचडी यात्रामा गएको टोली भैरहवा पुग्यो
गोरखा : ऐतिहासिक गोरखा दरबारदेखि भारतको गोरखपुरस्थित गोरखनाथ धामसम्मका लागि गएको खिचडी यात्रा भैरहवा पुगेको छ। गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडाध्यक्षहरु, कर्मचारीहरु, गुरु गोरक्षनाथ फाउन्डेशन, राष्ट्रिय गौ संरक्षण संघका ५५ जनाको टोली भैरहवा पुगेको टोलीका ध्रुवमानसिँह बस्न्यातले जानकारी दिए।
टोली भैरहवास्थित मारवाडी सेवा समाजद्वारा सञ्चालित आश्रममा बास बसेको उनले बताए। यसअघि सो टोलीलाई बुटवलस्थित गौ संरक्षण संघले स्वागत गरेको थियो। मंगलबार बिहान गोरखनाथ मन्दिरमा पूजाआजा, पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी प्रस्थान गरेको टोलीलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, प्रहरी उपरीक्षक भरत बिक लगायतले बिदाइ गरेका थिए।
टोली ठूलोआँगनदेखि हरमटारीसम्म नेपाली सेनाको ब्याण्डबाजा, पञ्चे बाजा, मंगलधुन बजाएर तथा स्वस्तिक वाचन गरी र्यालीसमेत गरेको थियो। गोरखा नगरपालिकाको सहयोगमा भएको खिचडी यात्राको राष्ट्रिय गौ संरक्षण संघ तथा गुरु गोरक्षनाथ फाउन्डेशनले आयोजना गरेको हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेपछि गोरखपुरको गोरखनाथ धामसम्म ‘खिचडी यात्रा’ को परम्परा थालनी गरिएको आयोजकले जनाएको छ।
गोरखाको खिचडीको सामग्री माघ १ गते गोरखपुरको गोरखनाथ धाम पुर्याएपछि त्यहाँ तीन दिने खिचडी जात्रा लाग्ने गर्दछ। ‘राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि यो यात्राको सुरुवात गर्नु भएको थियो’, आयोजक सदस्य होमसिंह बस्नेतले भने, ‘देशमा गणतन्त्र आएर राजाको बहिर्गमनपछि यात्रा पनि रोकिएको थियो।’ २० वर्षपछि यात्रा बिगत दुई वर्षदेखि पुनः सुरु गरिएको उनले बताए।
खिचडीलाई गोरखनाथको प्रसादका रुपमा पनि लिइन्छ। गोरखाको गोरखनाथ मन्दिरबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वको ब्रम्हमुहुर्तमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बस्न्यातले बताए। गोरखपुरको गोरखनाथ मन्दिरमा ‘खिचडी’को सर्जाम चढाएपछि टोली गोरखा फर्किने कार्यक्रम छ।
भारत सरकारलेसमेत मान्यता दिने यस यात्रालाई जोगाउन र गोरखा र गोरखपुरबीच सुमधुर सम्बन्ध कायम गर्न यात्रालाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !