स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो
स्याङ्जा : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी आवेदन भर्ने म्याद स्याङ्जामा समयावधि बढाइएको छ। माग बमोजिम झण्डै आधाकै संख्यामा मात्र आवेदन परेपछि कार्यालयले दुई दिन थप बढाएको हो।
स्याङ्जाका लागि आवश्यकता बमोजिम आवेदन नआएपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ २ र ३ गते थप गरिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए।
नेपाल प्रहरी र सशस्त्रगरी स्याङ्जामा २ हजार १२६ जना निर्वाचन प्रहरीको माग भएकोमा जम्मा १ हजार १७२ को आवेदन परेको छ। नेपाल प्रहरीतर्फ १ हजार २९ जनाले र सशस्त्र प्रहरीतर्फ १ सय ४३ को आवेदन परेको प्रनाउ चौधरीले जानकारी दिए।
नेपाल प्रहरीका लागि १ हजार ९३७ जना र सशस्त्रका लागि १८९ जना आवश्यक छ। आवेदन मागभन्दा ९ सय ५४ जना कम भएको छ। यो प्रारम्भिक आवेदन भर्नेको संख्या मात्र हो। यो संख्यामा पनि आवश्यक मापदण्ड बमोजिम छनौट गर्नुपर्ने हुन्छ।
प्रहरी कार्यालय स्याङ्जा,वडा प्रहरी कार्यालय वालिङ,इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट फारम वितरण भइरहेको छ। अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने सशस्त्र प्रहरी नायब उपरीक्षक कुमार तिमिल्सिनाले जानकारी दिए।
यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो। निर्वाचन प्रहरीका लागि आवेदन निःशुल्क गरिएको छ। नियुक्ति पाएका निर्वाचन प्रहरीले ४० दिन काम गर्नुपर्नेछ भने प्रहरी जवानको तलब अनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !