धनगढीमा दोस्रो चरणको सीप तथा रोजगार मेला सञ्चालन

धनगढीमा दोस्रो चरणको सीप तथा रोजगार मेला सञ्चालन
सुन्नुहोस्

धनगढी : धनगढी उपमहानगरपालिकाले दोस्रो संस्करणको सीप तथा रोजगार मेला २०८२ सञ्चालन गरेको छ। सोमबार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले धनगढीको खुला मञ्चमा सीप तथा रोजगार मेलाको उद्घाटन गरे।

जेन्जी आन्दोलनपछि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका भण्डारीले भौतिक पूर्वाधार मात्रै विकास नभई मानवीय विकासमा पनि धनगढी उपमहानगरले ध्यान दिएको भन्दै प्रशंसा गरे।

‘अहिलेको विकास तराईमुखी भएको छ। पहाडहरू खाली भइरहेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार र अवसर तराई केन्द्रित भएकाले पनि पहाड खाली भइरहेको हो। त्यसैले अब हरेक स्थानीय तहले धनगढीको जस्तै आ–आफ्नो पालिकामा सीप तथा रोजगार मेलाहरूको आयोजना गर्नुपर्छ। विकास अब पहाड उक्लिनुपर्छ,’ मन्त्री भण्डारीले भने।

उनले लामो समयदेखि संघीय सरकारले गरेको उपेक्षाका कारण सुदूरपश्चिम प्रदेश अरू सबै प्रदेशभन्दा गरिब भएको उल्लेख गरे। गत वर्ष सुदूरपश्चिम प्रदेशका ३९ स्थानीय तहबाट सहभागी भएका १ हजार ४० जना युवालाई सीप तथा रोजगार मेला मार्फत तालिम दिइएको थियो। उपमहानगरपालिकाले यसपाली ६ सय जनालाई सीपमूलक तालिम दिने लक्ष्यका साथ दोस्रो संस्करणको सीप तथा रोजगार मेलाको आयोजना गरेको हो।

उपमहानगरले ३० दिनका लागि अटोमोबाइल, निर्माण क्षेत्र, आतिथ्य तथा सत्कार क्षेत्र, इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्र, सूचना प्रविधि क्षेत्र, शैक्षिक तथा सेवा क्षेत्र र आर्ट क्राफ्ट तथा डिजाइनिङ क्षेत्रका गरी २२ प्रकारका तालिम दिने मेयर गोपाल हमालले बताए।

यसपाली सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ६ सय जनालाई मात्रै सीपमूलक तालिम दिइने छ। कामको खोजीमा देश छोडिरहेका युवाहरूलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले यसपाली पनि मेला मार्फत तालिम दिन लागेको हो। धनगढीको खुलामञ्चमा हरेक विधाको तालिमका लागि २५ जना छनोट गरिएका छन्। धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी पनि हो। उपमहानगरपालिकाले यसपाली प्रदेशभरिका ५१ वटा पालिकाका प्रमुख उपप्रमुखहरूलाई बोलाएर सबैले संयुक्त रूपमा यस्ता सीपमूलक तालिमको आयोजना गर्न अगुवाइ पनि गरेको छ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ५१ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो। ३३ वटा नगरपालिकाहरूको प्रतिनिधित्व गर्दै बझाङको जयपृथ्वीबहादुर नगरपालिकाका मेयर चेतराज बजाल र ५४ वटा गाउँपालिकाहरूको प्रतिनिधित्व गर्दै डडेलधुराको अजयमेरु गाउँपालिकाका प्रमुख उमेश भट्टले रोजगार मेला एक अवसर भएको बताएका थिए।

कामको खोजीमा सीप नसिकेरै भारत र तेस्रो मुलुक जानेहरूको संख्या दिनानुदिन बढिरहेको बेला धनगढी उपमहानगरपालिकाले प्रदेशभरिका युवाहरूलाई लक्षित गर्दै यो मेलाको आयोजना गरेको हो। ३० दिनको सीपमूलक तालिमपश्चात फागुन ६ गतेदेखि १० गतेसम्म स्वरोजगार हुन चाहने युवाहरूका लागि व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास सञ्चालन सम्बन्धी तालिम हुनेछ भने त्यसपछि फागुन ११ र १२ गते दुई दिन रोजगारदाता र प्रशिक्षार्थीहरूबीच रोजगार मेला पनि आयोजना गरिने उपमहानगरले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.