हेबिवेट र चर्चित अनुहारको ‘इपिसेन्टर’ लुम्बिनी

हेबिवेट र चर्चित अनुहारको ‘इपिसेन्टर’ लुम्बिनी

बुटवल : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेश ‘हेबिवेट’ र चर्चित अनुहारको इपिसेन्टर बनेको छ। पूर्वप्रधानमन्त्रीदेखि पटक–पटक मन्त्री भएका र भर्खरै राजनीतिमा छिरेका युवा नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। लुम्बिनी नेतै नेता जन्माउने प्रदेशका रूपमा समेत परिचित छ।

विशेषगरी पटक–पटक देशको नेतृत्व गरेका वामपन्थी नेताहरू उत्पादन गर्ने थलोको रूपमा लुम्बिनीलाई लिइने गरिन्छ। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी–रुकुमबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित दर्जनौं हेबिवेट र चर्चित अनुहारहरू यसै प्रदेशबाट चुनावी प्रतिस्पर्धामा छन्।

रोल्पादेखि गोरखा हुँदै चुनाव जितेर पटकपटक सत्ताको स्वाद चाखेका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड यसपाली सुरक्षित बाटो खोज्दै पूर्वी–रुकुम पुगेका छन्। एकमात्र निर्वाचन क्षेत्र रहेको पूर्वी–रुकुममा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्ती विजयी भएका थिए। घर्तीले नेकपा (एमाले) का कैलाशकुमार मल्ललाई ३ हजार ९ सय ४९ मतको अन्तरले पछि पार्दै चुनाव जितेका थिए। घर्तीले १२ हजार २ सय ६२ र मल्लले ५ हजार २ सय ११ मत पाएका थिए।

पूर्वी–रुकुम साविक माओवादीको आधार इलाका भनेर चिनिन्छ। सबै पार्टी मिल्दा पनि यहाँ माओवादीले पटकपटक चुनाव जितेको छ। अघिल्लो चुनावमा भाग लिएका अन्य चार दलका उम्मेदवारहरूले एक हजार मत पनि कटाएका छैनन्। यो जिल्ला लुम्बिनी प्रदेशको सबैभन्दा कान्छो र सानो जिल्ला पनि हो। जहाँ तीनवटा मात्र स्थानीय तह छन्। प्रचण्डसँगको प्रतिस्पर्धामा एमाले नेता लीलामणि गौतम चुनावी मैदानमा छन्।

ooo

अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी नेता रेखा शर्मासँग एक सय ९३ मतले नमीठो पराजय भोगेका एमाले महासचिव शंकर पोख्रेल यसपाली पनि दाङ–२ बाट उम्मेदवार छन्। पार्टीमा शक्तिशाली मानिने पोख्रेल आमनिर्वाचनमा जनतामाझ आफ्नै जिल्लामा पनि त्यति लोकप्रिय मानिँदैनन्।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत भइसकेका पोख्रेलले बुटवलबाट स्थायी राजधानी आफ्नै गृहजिल्ला दाङमा पुर्‍याए। तर, राजधानी ल्याउँदा समेत उनलाई मतदाताले अघिल्लो निर्वाचनमा रुचाएनन्। कारण हो, प्रदेशको राजधानी देउखुरी क्षेत्रमा स्थापित भयो। उनी घोराही तुलसीपुर क्षेत्रका भए। घोराही, तुलसीपुर क्षेत्रका नागरिक देउखुरी क्षेत्रमा राजधानी बनाएकोमा त्यति सन्तुष्ट देखिँदैनन्।

०७९ को चुनावमा पोख्रेलले २६ हजार ६ सय ८७ मत पाएका थिए भने विजयी शर्माले २६ हजार ८ सय ८० मत ल्याएकी थिइन्। तर, अहिले शर्मा उम्मेदवार छैनन्। पोख्रेललाई अहिले नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य र रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले टक्कर दिँदैछन्। अघिल्लो निर्वाचनमा यहाँबाट रास्वपाका विशाल घिमिरेले १५ हजार ८ सय ६१ मत ल्याएर तेस्रो स्थानमा परेका थिए।

ooo

यसपालीको निर्वाचनमा चर्चितमध्ये अर्को निर्वाचन क्षेत्र हो, रूपन्देही २। यहाँबाट नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा छन्। सुरुमा पार्टी केन्द्रले पाल्पा २ बाट चुनाव लड्ने निर्णय गरे पनि रूपन्देहीका नेता, कार्यकर्ताहरूको दबाबमा विष्णु पुनः रूपन्देही नै फर्किए। उनले २०६४ सालदेखि निरन्तर यहाँबाट चुनाव जित्दै आइरहेका छन्। अघिल्लो निर्वाचनमा जस्तो पौडेललाई यसपाली चुनाव जित्न त्यति सहज भने छैन। २०७९ मा उनलाई रास्वपाका गणेश पौडेलले चुनौती दिए। गणेशले २५ हजार ७ सय ९५ र विष्णुले २७ हजार १ सय ६५ मत ल्याएका थिए। उनीहरूबीचको मतान्तर १ हजार ३ सय ७० मात्र भयो।

त्यसबेला नेपाली कांग्रेसले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरलाई सहयोग गर्‍यो। कांग्रेसको साथ पाएपछि उनले २२ हजार २७ मत ल्याए। तर, अहिले सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन्। यसो हुँदा रूपन्देही–२ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका विष्णु, कांग्रेसका चुन्नप्रसाद पौडेल र रास्वपाका शुलभ खरेलबीच टक्कर पर्ने यस क्षेत्रका मतदाताहरू सुनाउँछन्। पौडेलका निकटस्थ स्रोतका अनुसार यसपाली अघिल्लो निर्वाचनमा चुनौती दिएको रास्वपाकै उम्मेदवारसँग उनलाई भय छ।

तर, राष्ट्रिय राजनीतिमा बोलियो उपस्थिति र पटक–पटक सरकारमा हुँदा गरेका विकास निर्माणका कामले विष्णुलाई मत माग्न धेरै सहज देखिएको छ। विकास निर्माणका ठूला ठूला योजनामा बजेट विनियोजन गर्नेदेखि जनतासँगको सहज घुलमिलले उनलाई मतदातासँग पुग्न सजिलो छ। पश्चिम नेपालका नागरिकले पौडेललाई ‘विकासप्रेमी’ नेताको रूपमा चित्रण गर्छन्।

ooo

गुल्मी–१ मा अघिल्लो निर्वाचनमा कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजय भोगेका एमाले नेता प्रदीप ज्ञवाली यसपाली जसरी पनि विजयको झन्डा फहराउने गरी लागेका छन्। राष्ट्रिय राजनीतिमा गर्विलो छवि बनाएका एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच यहाँ सौहार्दपूर्ण चुनावी प्रतिस्पर्धा हुने गर्छ। मतदाताहरूबीचमा जतिसुकै मनमुटाव भए पनि उनीहरूबीचको सम्बन्ध सुमधुर हुने गरेको स्थानीय सुनाउँछन्। त्यसैले उनीहरूलाई यहाँका नागरिकले आलोपालो निर्वाचित गराउँदै आएका छन्।

०७९ को निर्वाचनमा ज्ञवाली कांग्रेसका भण्डारीसँग १ हजार ५ सय ९२ मतान्तरले पराजित भएका थिए। ज्ञवालीले ३२ हजार १ सय ५२ र भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याएका थिए। रास्वपाका दामोदर भण्डारीले १ हजार ८ सय ८२ मत ल्याएर तेस्रो स्थानमा आएका थिए। तर, अहिले ज्ञवाली र भण्डारी दुवैलाई चुनाव जित्न त्यति सहज भने छैन। रास्वपाका सागर ढकाल र नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल उनीहरूका लागि चुनौती हुन्। प्रतिस्पर्धा भने ज्ञवाली र भण्डारीबीच हुने यहाँका मतदाताहरूले सुनाएका छन्।
ooo

गुल्मीकै निर्वाचन–२ का एमाले उम्मेदवार गोकर्णराज विष्ट यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका नेता हुन्। नेता हुनुतः एमालेका नेताद्वय विष्ट र ज्ञवालीसहित कांग्रेसका चन्द्र भण्डारी जस्तो भन्ने राष्ट्रिय छवि उनीहरूले बनाएका छन्। मत माग्न गाउँबस्तीमा पुग्ने क्रममा सत्यवती गाउँपालिका पुगेका रास्वपाका उम्मेदवार सागर ढकालले समेत तीनै जना नेता राष्ट्रिय रूपमै असल नेता भएको चुनावी प्रचारका क्रममा सार्वजनिक अभिव्यक्ति दिएका छन्।

विष्टले यहाँबाट ०५४ सालदेखि निरन्तर चुनाव जितेका छन्। तर, ०६४ मा भने उनले नेकपा माओवादीका चन्द्र थापासँग पराजित भएका थिए। ०७०, ७४ र ०७९ को निर्वाचनमा उनको जित भएको छ। ०७९ मा उनले तत्कालीन एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई २ हजार ३५ मतले पछि पार्दै विजय हात पारेका थिए। अहिले झाँक्री एमालेमै फर्किएकी छन्। यस निर्वाचन क्षेत्रमा विष्टको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठसँग देखिएको छ। श्रेष्ठ ०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा एमालेका डिल्लीराज भुसालसँग पराजित भएका थिए।

ooo

देशभरका समस्याग्रस्त सहकारीहरूको छानबिन प्रतिवेदन सार्वजनिक गरेर राष्ट्रिय चर्चामा आएका एमाले नेता सूर्य थापा प्यूठानबाट निर्वाचन लड्दै छन्। प्यूठानमा प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र छ। रास्वपा सभापति रवि लामिछाने कारागार चलान हुनु प्रमुख कारण उनकै नेतृत्वमा सार्वनिक प्रतिवेदन हो। त्यसैले थापा रास्वपाको यसपालीको निर्वाचनमा प्रमुख निसानामा छन्।

यस क्षेत्रका मतदाताहरू एमालेमा केपी शर्मा ओलीपछि प्यूठानका सूर्य थापा चुनाव हराउने गरी रास्वपाको प्रमुख निसानामा रहेको प्रतिक्रिया दिएका छन्। तर, थापाले अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा पनि भारी मतान्तरले जित हात पारेका थिए। उनले ४१ हजार १ सय १८ र प्रतिस्पर्धी गठबन्धनकी उम्मेदवार राजमोकी दुर्गा पौडेलले ३५ हजार ८ सय १४ मत ल्याएकी थिइन्। ५ हजार ३ सय ४ मतले थापाले चुनाव जिते। अहिले सबै दलले एक्लाएक्लै चुनाव लडेका छन्। अघिल्लो निर्वाचनमा रास्वपाका कृष्ण प्रसाल पोख्रेलले ३ हजार ३ सय १८ मत ल्याएर तेस्रो भएका थिए।

थापासँग यसपाली नेपाली कांग्रेसका नेता प्रा.डा.गोविन्दराज पोख्रेल प्रतिस्पर्धामा छन्। जिल्लामा यी दुई नेताबीचमै चुनावी प्रतिस्पर्धा हुने आकलन धेरैको छ। ०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने कांग्रेस एमालेभन्दा १५ हजार ९ सय ५३ मतले पछि छ। एमालेले ३३ हजार ८ सय ४ र कांग्रेसले १७ हजार ८ सय ५१ मत ल्याएको थियो। एक्लाएक्लै चुनाव लड्दा समानुपातिक मत नै पार्टीको खास मत मानिन्छ। तर, कांग्रेसका पोख्रेल पार्टीभित्र बौद्धिक र प्राज्ञिक नेता हुन्। उनी शेखर समूहका हुन्। राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष भइसकेका पोख्रेलले विगतको कांग्रेसको मतभन्दा यसपाली मतान्तर बढाउने आकलन धेरैको छ। प्यूठानमा संगठनात्मक हिसावले कांग्रेसभन्दा एमाले धेरै बोलियो मानिन्छ।

ooo

तत्कालीन नेकपा माओवादी केन्द्रको उद्गम थलोको रूपमा परिचित रोल्पामा यसपाली नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र एमालेका नेता गोकुलप्रसाद घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। पुन यसअघि पनि निर्वाचित सांसद् हुन्।

पुनले ४१ हजार ७ सय १४ र एमालेका नेता पूर्ण बुढामगरले १६ हजार ४ सय ५८ मत ल्याएका थिए। २५ हजार २ सय ५६ मतको अन्तरले पुनले ०७९ को निर्वाचन जितेका थिए। तर, त्यतिबेला पाँचदलीय गठबन्धन थियो। रोल्पामा १२ जना पुरुष उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। महिला उम्मेदवार शून्य छन्। नेकपा (माओवादी) का नेता चूडामणि ओली पनि प्रमुख प्रतिस्पर्धीमै गनिन्छन्। यहाँ विप्लवको समेत बेग्लै आकर्षण छ।

लुम्बिनी प्रदेशमा कुल निर्वाचन क्षेत्र २६ वटा छन्। प्रदेश निर्वाचन कार्यालय घोराही दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशभर कुल ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्नेछन्। त्यसमध्ये पुरुष १७ लाख १५ हजार १ सय ६३, महिला १६ लाख ७१ हजार ४ सय ७९ र अन्य मतदाता ३८ जना छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.