प्रतिनिधिसभा सदस्य निर्वाचन : २५ पुरूष उम्मेदवारको भीडमा एक्ली गोमा
सुनसरी : झ्वाट्ट हेर्दा होची र मोटी । तर, राजनीतिक अडान र साहसले स्पष्ट चिनिने गोमा तामाङ (सरिन) सुनसरी क्षेत्र नम्बर–१ की सशक्त महिला उम्मेदवार हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी २६ जना उम्मेदवारमध्ये एक्लो महिला उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएकी छन् । पुरुषप्रधान राजनीतिक संरचनाबीच २५ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै उनले फेरि एकपटक सुनसरी–१ मा महिला नेतृत्वको बहसलाई केन्द्रमा ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोमा (सरिन)लाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सुनसरी–१ त्यस्तो निर्वाचन क्षेत्र हो,जसले यसअघि दुई जना महिलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराइसकेको छ । २०५१ सालमा लिला श्रेष्ठ सुब्बा सुनसरी–१ बाट निर्वाचित भई नेपालको पहिलो महिला उपसभामुख बनेकी थिइन् । त्यसपछि २०५६ सालमा कुन्ता शर्माले पनि यही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिन् । यदि सरिन यसपटकको निर्वाचनमा विजयी भइन् भने् सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने तेस्रो महिला बन्नेछिन् ।
सरिनको राजनीतिक यात्रा सहज भने छैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी जनता समाजवादी पार्टी नेपालका अशोक राईसँग झिनो मतले पराजित भएकी थिइन् । त्यतिबेला एमालेसँग गठबन्धन गरेका अशोक राई सुनसरी–१ बाट निर्वाचित भएका थिए । त्यो पराजयलाई सरिनले राजनीतिक अनुभवको रूपमा लिँदै यसपटक अझ सशक्त तयारीसहित चुनावी मैदानमा उत्रिएको बताएकी छिन् । ‘अघिल्लो निर्वाचन मेरो लागि सिकाइको अवसर थियो,’सरिन भन्छिन्,‘जनताले दिएको मत र भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ । यसपटक म केवल उम्मेदवार होइन,परिवर्तनको आवाज बोकेर जनतामाझ पुगेकी छु ।’
सुनसरी–१ लाई एमालेको बलियो पकड भएको क्षेत्रका रूपमा लिइन्छ । यहाँका दुईवटै प्रदेशसभा सदस्य एमालेले जितेको छ । धरान उपमहानगरपालिकाका २० वडा,बराहक्षेत्र नगरपालिकाका वडा १ देखि ५ र रामधुनी नगरपालिकाका वडा ६ र ७ समेटिएको यस क्षेत्रका धेरैजसो वडामा एमालेको प्रभाव देखिन्छ । तर, यसपटक एमालेभित्रको आन्तरिक द्वन्द्व र जेनजी आन्दोलन पछिको राजनीतिक परिवर्तनले चुनावी परिणामलाई प्रभावित पार्ने मुख्य कारणका रूपमा हेरिएको छ ।
एमालेले सुनसरी–१ बाट टिकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ । तर टिकाराम लिम्बू यस क्षेत्रको भूगोल र स्थानीय राजनीतिमा त्यति परिचित नेता नभएको टिप्पणी हुँदै आएको छ । उनको उम्मेदवारीप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ । यही असन्तुष्ट मतलाई आफ्नो पक्षमा पार्न सके सरिनको जितको बाटो सहज हुन सक्ने अनुमान गरिएको छ । ‘राजनीतिमा पार्टीभन्दा ठूलो कुरा जनता हुन्,’सरिन भन्छिन्,‘यदि कुनै दलभित्र असन्तुष्टि छ भने त्यो असन्तुष्टि परिवर्तनको पक्षमा मोडिन सक्छ । म त्यही विश्वासका साथ जनताको घरदैलोमा पुगेकी छु ।’
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुरेन्द्र तामाङ,नेपाली कम्युनिष्ट पार्टीले मनोज भट्टराई,श्रम संस्कृति पार्टीले धरानका पूर्वमेयर हर्क साम्पाङ र राप्रपाले उद्धव श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । उम्मेदवारको संख्या धेरै भए पनि मुख्य प्रतिस्पर्धा सरिनसहित मनोज भट्टराई, टिकाराम लिम्बू, सुरेन्द्र तामाङ र हर्क साम्पाङबीच हुने अनुमान गरिएको छ ।
स्थानीय मतदाताबीच महिला उम्मेदवारप्रति सहानुभूति र चासो बढ्दो देखिन्छ । विशेषगरी महिलाको मत सरिनको पक्षमा संगठित हुन सके चुनावी समीकरण निर्णायक रूपमा बदलिन सक्ने आँकलन गरिएको छ । सरिन स्वयं पनि महिलाको सहभागितालाई आफ्नो प्रमुख एजेन्डा बनाइरहेकी छन् । ‘महिला भएर चुनाव लड्नु चुनौति मात्र होइन,अवसर पनि हो,’सरिन भन्छिन्, ‘महिलाले राजनीति गर्न सक्दैनन् भन्ने भ्रम तोड्न म मैदानमा उत्रिएकी हुँ । महिलाको मत मात्रै होइन,युवाहरूको आशा र आम नागरिकको विश्वास नै मेरो चुनाव जित्ने आधार हो ।’
सरिनको चुनावी अभियान सुशासन,शिक्षा,रोजगारी र स्थानीय विकासमा केन्द्रित छ । उनी परम्परागत नेताभन्दा फरक,जनतासँग प्रत्यक्ष संवाद गर्ने उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् । सुनसरी–१ मा इतिहास दोहोरिने कि नदोहरिने भन्ने प्रश्नको उत्तर अब मतदाताको हातमा छ । तर, २५ पुरुष उम्मेदवारबीच एक्लो महिला उम्मेदवारका रूपमा गोमा तामाङ (सरिन) ले उठाएको चुनौतीले भने यो निर्वाचनलाई विशेष महत्त्व बनाएको छ । सुनसरी–१ मा १ लाख ५० हजार ३९३ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !