घोषणापत्रमा विपद् व्यवस्थापन, कार्यान्वयनमा पुरानै ताल

घोषणापत्रमा विपद् व्यवस्थापन, कार्यान्वयनमा पुरानै ताल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : २०७९ को चुनावमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको घोषणापत्रमा वाचा गरिएको थियो– विपद् तथा डढेलोको प्रभावकारी नियन्त्रणका लागि नीति तथा कानुन कार्यक्रम तर्जुमा गर्ने ।’ 

विपद् न्यूनीकरणका लागि वातावरणमैत्री विकास र दिगो पूर्वाधार निर्माण योजना अघि बढाउने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाइने, आधुनिक प्रविधि, पर्याप्त स्रोतसाधन, दक्ष जनशक्ति उपलब्ध गराउनेलगायत आशा नेकपाले देखाएको थियो । नेकपा माओवादी केन्द्र जस्तै अन्य पार्टीहरूले पनि घोषणापत्रमार्फत निकै मीठा आश्वासन र वाचा दिएका थिए । 

नेपाली काँग्रेसले पनि विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने वचन दिएको थियो । जलवायुजन्य जोखिम र विपद्बाट जनधनको जोखिम कम गर्न पूर्वसूचना प्रणाली विकास गर्ने आशा देखाएको थियो । 

अर्को ठूलो दल एमालेको घोषणापत्रमा पनि पूर्वसूचना प्रणालीलाई समृद्ध बनाउने वाचा गरेको थियो । विपद् जोखिमका क्षेत्र पहिचान गर्ने, नक्सांकन गर्ने, रोकथाम र नियन्त्रणका लागि पूर्वतयारीका योजना बनाउनेलगायत आश्वासन दिएको थियो ।

तर, घोषणापत्रमा भनिएको जस्तो कुनै पनि राजनीतिक दलले यस क्षेत्रमा काम भने गरेनन् । जबकि, मुलुकका ७७ वटै जिल्ला डढेलोको जोखिममा रहेको र फागुनदेखि जेठसम्म नै डढेलोको घटना हुने डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन न्यूनीकरण प्राधिकरणका पूर्वउपसचिव सुन्दर शर्मा बताउँछन् ।

राजनीतिक पार्टीहरूले यस्ता विषयलाई सम्बोधन गर्न अभ्यास नै नदेखेको उनले बताए । साँच्चै नै राजनीतिक दलहरूको विपद् व्यवस्थापनमा धारणा के हो ? प्रस्ट्याउनुपर्ने उनी बताउँछन् । विपद् व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन र जलवायु परिवतर्नसम्बन्धी राजनीतिक पार्टीको धारणा स्पष्ट हुनुपर्छ । उनले भने ‘डढेलोलाई नै सम्बोधन गरेर कार्यक्रमहरू ल्याए सायद यसै क्षेत्रमा रुचि भएकाले भोट पनि हाल्न सक्छन् नि । तर वाचा गरेका कुराहरू कार्यान्वयन पनि गर्नुपर्छ ।’ 

विपद् व्यवस्थापन सम्बन्धि १० वर्षे रणनीतिक कार्ययोजनासमेत सरकारले पास नगरेको भन्दै उनले गुनासो गरे । यदि घोषणापत्रमा यस्ता विषयमा सम्बोधन गर्ने हो भने जलवायु, विपद् र प्राकृतिक स्रोतका विषय पनि गम्भीर बन्ने थियो । उक्त रणनीतिक कार्ययोजना बनाउन तीन वर्ष लागेको र सबै क्षेत्रका धेरै मानिससँग छलफल पछि बनाइएको उनले बताए । 

सोमबार मात्रै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ ल्याएको छ । उक्त कार्ययोजनामा ८ वटा जिल्ला डढेलोको उच्च जोखिममा रहेको बताएको छ । नेपालमा प्रायजसो प्रत्येक चार/पाँच वर्षमा डरलाग्दो डढेलो दोहोरिने साइकल चलेको छ । हिउँदे वर्षा औसतभन्दा कम हुँदा तापक्रम पनि बढ्छ । त्यसले डढेलोको जोखिम बढाएको शर्माले बताए । 

जल तथा मौसम विभागले यसपटकको हिउँदमा कम वर्षा हुने जनाएको थियो । यसले आगामी दिनमा डढेलोको घटना झनै बढाउन सक्ने देखिन्छ । 
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पाखरेलका गरेको एउटा अध्ययनले सन् २०२१ सबैभन्दा धेरै डढेलो लागेको देखाउँछ । त्यतिबेला करिब साढे ६ हजारवटा डढेलो लागेको थियो । त्यतिबेलाको हावाको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मात्रा ६३२ थियो । विश्व स्वास्थ्य संगठनका अनुसार शून्यदेखि ५० एक्यूआईलाई स्वथ्य मानिन्छ । प्रदूषणका कारण ३ दिन विद्यालयहरू बन्द भएका थिए ।

हालको सुक्खापनको अवस्था हेरेर भविष्यमा हुन सक्ने डढेलो आँकलन गर्न सकिने उनले अध्ययनमा बताएका छन् । सुक्खा र पानी नपर्दा डढेलो बढ्ने सम्भावना हुन्छ । उक्त अध्ययनका अनुसार हिउँदे खडेरीका कारण 
सन् २०२० र २०२१ मा आगलागीको सिजन सामान्यभन्दा ४ महिना पहिला सुरु भएको थियो । औसतभन्दा कम वर्षा भएको समयमा धेरै डढेलो लागेका छन् । सन् २००९/२०१६/२०२१ त्यस्तै सुक्खा वर्ष थिए । 

त्यसैले आगलागीका उच्च सम्भावित ठाउँहरूमा आगो नियन्त्रण उपकरणको व्यवस्थापन गरिएको प्राधिकरणले बताएको छ । हरेक प्रदेश तथा सम्बन्धित निकायसँग संवाद गर्ने, अन्य मन्त्रालयलगायत सबैसँग सहकार्य गर्दै राष्ट्रिय रणनीति बनाएको जनाएको छ । तर राजनीतिक दलहरूले घोषणापत्रमा भनिए जस्तै कार्यान्वयन हुने हो भने डढेलो नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.