सुनसरी-२ मा पुराना अनुभवीसँग नयाँ युवा उम्मेदवारको प्रतिस्पर्धा

सुनसरी-२ मा पुराना अनुभवीसँग नयाँ युवा उम्मेदवारको प्रतिस्पर्धा

सुनसरी : सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै यो क्षेत्र चौकोणात्मक प्रतिस्पर्धाको केन्द्र बनेको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, नेकपा (एमाले)को युवा संघका कोशी अध्यक्ष सुजन लामा, नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री लालबिक्रम थापा बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाचनमा सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित भएका थिए। 

यहाँ कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो। यहाँ एमाले र कांग्रेसको पार्टी संगठन मजबुत छ। तर, यस पटक पुराना दलहरूबीच जनताको विश्वास घट्न थालेपछि रास्वपाका थापा नेकपाकी रामकुमारी पनि प्रतिस्पर्धामा आउने अनुमान गरिएको छ। सुनसरी– २ थारु बाहुल क्षेत्र रहेकाले रामकुमारीले आफ्नी समुदायको भोट पाउने सम्भावना रहेको छ। रास्वपाको देशभरी चलेको लहरले सुनसरी–२ मा पनि राम्रो प्रभाव जमाएको छ।

भौगोलिक तथा राजनीतिक हिसाबले सुनसरी–२ मा कांग्रेसका राजीव कोइराला र माओवादीकी रामकुमारी चौधरी परिचित र अनुभवी उम्मेदवारका रूपमा चिनिन्छन्। एमालेका सुजन लामा र रास्वपाका लालबिक्रम थापा भने युवा तथा नयाँ अनुहारका रूपमा परिचित छन्। कांग्रेस उम्मेदवार राजीव कोइरालाले कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा काम गरेको अनुभव बोकेका छन्। उनी आफ्नो अनुभव, पहुँच र संगठनात्मक बलकै आधारमा जित सुनिश्चित हुने दाबी गर्छन्।

कोइरालाले भने, ‘सुनसरी–२ का मतदाताले मलाई नजिकबाट चिन्नुहुन्छ। प्रदेशमा प्रतिपक्षको नेताको रूपमा जनताको आवाज उठाएँ। अब संघीय संसदमा गएर यो क्षेत्रको विकासलाई नयाँ उचाइमा पुर्‍याउने मेरो प्रतिबद्धता छ। कांग्रेसप्रति जनताको भरोसा कायमै छ, जित कांग्रेसको हुन्छ कोइरालाले भने।’

नेपाली कम्युनिस्ट पार्टी की उम्मेदवार रामकुमारी चौधरी यसअघि कृषि राज्यमन्त्री भएर काम गरिसकेकी अनुभवी नेतृ हुन्। उनले सुनसरी–२ को विकासमा आफ्नो योगदान रहेको दाबी गर्दै मतदाताको समर्थन आफूलाई प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्। चौधरीले भनिन्, ‘म राज्यमन्त्री हुँदा सुनसरी–२ मा कृषि, पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रमा काम गरेको जनताले बिर्सिएका छैनन्। जनताको सुख–दुःखमा सधैं साथ दिएको छु। अनुभव र कामको मूल्यांकन गरेर मतदाताले मलाई नै रोज्नेछन्।’

नेकपा (एमाले)का उम्मेदवार सुजन लामा युवा उम्मेदवारका रूपमा चर्चामा छन्। यस क्षेत्रमा एमालेको राम्रो संगठन रहेको र त्यसको प्रतिफल चुनावमा देखिने उनको दाबी छ। लामाले भने, ‘एमाले सुनसरी–२ मा कमजोर छैन। संगठन बलियो छ, कार्यकर्ता सक्रिय छन्। युवाले अब नयाँ सोच र ऊर्जासहितको नेतृत्व चाहेका छन्। म युवाको प्रतिनिधित्व गर्दै विकास र रोजगारीको एजेन्डा लिएर चुनावमा आएको छु। जित एमालेकै हुन्छ लामाले भने।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालबिक्रम थापा पनि युवा उम्मेदवार हुन्। रास्वपाले यस क्षेत्रमा चुनावी अभियान तीव्र बनाउँदै पुराना दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको छ। थापाले भने, ‘पुराना दलले पटक–पटक मौका पाए। तर जनताले अपेक्षित परिवर्तन पाएनन्। रास्वपा नयाँ विकल्प हो। हामी राजनीति सफा गर्न आएका हौं। सुनसरी–२ का सचेत मतदाताले परिवर्तनका लागि हामीलाई रोज्ने विश्वास छ।’

सुनसरी–२ मा कांग्रेस र नेकपा बीच परम्परागत मत विभाजन, एमालेको संगठित आधार र रास्वपाको ‘नयाँ विकल्प’को एजेन्डाले यो निर्वाचनलाई अप्रत्याशित बनाएको छ। चारै उम्मेदवारले जितको दाबी गरे पनि अन्तिम निर्णय भने मतदाताको हातमा रहनेछ। चुनावी सरगर्मी बढ्दै जाँदा सुनसरी–२ मा दलहरूले घरदैलो, सभा, भेटघाट गरि मतदाता रिझाइरहेका छन्। उनीहरूले विकास, रोजगारी, सुशासन र राजनीतिक स्थायित्व मुख्य चुनावी मुद्दाका रूपमा अगाडी सारेका छन्।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका र देवानगञ्ज गाउँपालिकाका वडा समेटिएको सुनसरी–२ मा १ लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्। जसमध्ये ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.