युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ । आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो । ‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक अनुरोध गरेको थियो । त्यसैको फलस्वरूप आममाफी प्रदान भएको पनि मन्त्रालयले जनाएको छ । आममाफी पाउने नेपाली नागरिकको अन्य कुनै मुद्दा विचाराधीन नरहेमा नेपाल फर्किन सक्ने पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !