देववृक्ष ढल्दा शहरमा शोक

बर्दिबासको आत्मा, छायाँ र श्वासको रोदनको कथा

देववृक्ष ढल्दा शहरमा शोक

बर्दिबास : महोत्तरीको बर्दिबास आज शान्त छ–तर त्यो शान्ति सुस्ताएको होइन, स्तब्धताको हो । जहाँ हिजोसम्म पात हल्लिँदा सास चल्थ्यो, आज धुलो उड्दा घाँटी अड्किन्छ । सडक चौडा हुँदैछ, तर जवानी चढ्दै गएको बर्दिबास शहरको छाती साँघुरिँदै गएको छ । कुरो देववृक्ष वर–पीपलको हो । 
चार दशअघि भुइँमा रुखको जरा गाडिँदा बस्तीमा खुशीयाली थियो । आज त्यही दर्जन बढी वृक्षको जरामा आराले रेटिँदा बर्दिबासबासीले आफ्नै घाँटी छिनिएको महसुस गर्दैछन् । यसले बर्दिबासको आत्म रोकिएको छ, बर्दिबासेलीको मन भकानिएको छ । 

जब वर–पीपलको जरामा पापी आरा दौडियो... 

बिहीबार बिहानै ७२ वर्षीय नरसिंह फुयाँलको आँखै अगाडि जवान पीपलको जरामा आरा चल्यो । उनी अक्क न बक्क भए । निर्दयी आरा ः घिरघिर गर्दै ढेड घण्टासम्म पीपलको जरामा दौडिरह्यो, रेटिरह्यो । अन्तः करिब ४० वर्ष पुरानो पीपलले प्राण त्याग्यो । मुर्मुराउँदै सदाका लागि भुइँमा पछारियो। जो अब कहिले बटुवालाई अक्सिजन दिने छैन । आफ्नै कान समातेर रुखतिर फर्किदै फुयाँलले पीपलसँग माफी माग्दै भने, ‘जय श्रीराम... माफ गर है। हामीले तिमीलाई हुर्कायौं, केही गरी बचाउन सकेनौं ।’

null

बर्दिबासमा दिनका दिन ढल्दै, पहिचान हराउँदै गएको देववृक्षहरुको रोदन छ यहाँ । गर्मीको पराह चढ्ने बेला शहरले अक्सिजन र छहारी गुमाएको छ। फागुन २१ को चुनावको जति चर्चा छैन  बर्दिबासमा त्यति बहस  ढलेका वृक्षहरुले जन्माएको छ । खोइ पीपल चौतारी ? कहाँ पूजा गर्ने ? कहाँ हावा खाने?

चार दशको अन्तरालमा बर्दिबासबासीले सडक किनारमा ३० बढी वर, पीपल, समिका रुखहरु हुर्काका थिए । जुन बर्दिबास विकासका लागि मेरुदण्ड मात्रै होइन् इतिहास नै थियो । विकास सपनाले उहिलेका इतिहास मेटिँदा नरसिंह फुयाँल जस्ता बर्दिबासबासी टुलुटुलु हरेर बस्न बाहेक केही गर्न सकिरहेका छैनन् ।

अनि ढल्यो वर–पीपलको इतिहास
स्कुल हिँडेका बालक युनिश थापा ढलेको पीपलको रुखलाई हेरेर टक्क रोकिए । हेरिरहे, टोलाइरहे । बर्दिबासबासीलाई लाग्यो–एउटा इतिहास नै ढल्यो । संस्कृतिको बिरास्त नै चकनाचुर भयो । देव वृक्ष संरक्षणका वातावरण अभियन्ता सुरेश शर्माका अनुसार एउटा रुख, रुख मात्रै होइन् त्यो बटुवाका लागि छहारी हो । नव पुस्ताका लागि प्रकृतिमा रम्ने आधार  अनि मानवका लागि अक्सिजन सिलिन्डर । ‘एउटा वरपीपल भक्तजनका लागि भगवन हो भने चराचुरीका लागि फुड बैंक । अनि शहरका लागि सुन्दरता,’ उनले भने । विकासको नाममा शहरमा भएका पुराना रुखहरु मासिँदै गएपछि शहरको पहिचान संकटमा पर्ने उनी सुनाउँछन् । 

सडक बिस्तारले बर्दिबासको रातु खोलादेखि बाँकेखोलासम्म ६ हजार बढी वर पीपलसहितका हजारौ रुख धामाधम काटिदै गएका छन् । पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै बर्दिबासको पहिचान बनेका सडक छेउका देववृक्षहरू एकपछि अर्को ढलिरहेका हुन् । वर र पीपल—जसलाई यहाँका मानिसहरूले केवल रुख मानेनन्, आफ्नो जीवनको सास माने । ती रुख ढल्दा बर्दिबास केवल हरियाली होइन, आफ्नै स्मृति र संस्कार गुमाइरहेको बताउँछन् एक मन्दिरका ७६ वर्षीय पूजारी लक्ष्मण दास । उनी भन्छन्, ‘वर पीपल भगवानका अवतार हुन् । सरकारले आदेश दियो भने जे पनि हुन्छ, त्यसकै उदाहरण हुन् यी ।’ 

null

डिभिजन वन कार्यालय जलेश्वरका अनुसार बर्दिबासको शहरी क्षेत्रका ७ वटा वर र १० वटा पीपल कटानका लागि छपान भएको छ । कागजमा यो विकासको प्रक्रिया हो, तर मानिसको मनमा यो विछोडको चोट रहेको बताउँदै वृद्ध नरसिंह फुयाँल भन्छन्, ‘बर्दिबासमा २०४० सालपछि अभियानकै रूपमा करिब २८ वटा वर–पीपल रोपिएको थियो । सर्व शिद्धेश्वरनाथ महादेव मन्दिर बनाइयो । हनुमान मन्दिर पनि बन्यो ।’ उनका अनुसार वर–पीपल त विष्णु र शिवका रूप हुन् । बटुवाका लागि आश्रय थिए । आज ती काटिँदा बर्दिबास नै उजाड भएको छ ।

छायाँले हुर्किएको शहर
बर्दिबासको विकासमा चिया, पानी र वर–पीपलको योगदान बराबरी थियो । रातु ठाकुर मोक्षधाम व्यवस्था समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा भन्छन्, ‘२००३ सालमा बसोबास सुरु भएको बर्दिबासको विकासमा वर–पीपलको अहम भूमिका छ । यी बिना बर्दिबास कल्पनै गर्न सकिँदैन ।’
उनका शब्दहरू केवल भावुकता होइन, अनुभवको निष्कर्ष हुन् ।

‘हट होस् वा कोल्ड, वर–पीपलको फेदमा पुगेपछि सबै हावा सन्तुलित हुन्थ्यो । विज्ञानले आविष्कार गरेका सबै उपकण यहाँ फिक्का लाग्थे,’ अध्यक्ष देवकोटाले भने, ‘आज त्यो फेद सुनसान छ ।’ वृद्ध फुयाँल थप्छन् भन्छन्, ‘वर र पीपल काटिँदा बर्दिबास कपडा नजाएको जस्तै नाङ्गो भयो । यी रुख शहरका सुन्दर वस्त्र थिए । रुख काटिँदा सर्वस्व गुमाए जस्तो भयो ।’

null

जलवायु परिवर्तनको साक्षी
बर्दिबासका ८० वर्षीय गंगाप्रसाद घिमिरेका लागि घर अगाडिको पीपल केवल रुख थिएन । ‘जरामा आरा चल्दा आफ्नै घाँटी रेटिएको महसुस भयो,’ उनी भन्छन्, ‘स्वच्छ हावा खाने, छायाँ दिने रुख काटिँदा जीवनै खोसिए जस्तो लाग्यो ।’ रामेछापबाट २०३६ सालमा बसाइँ सरेका घिमिरे भन्छन्, ‘यी रुख बर्दिबासको इतिहास हुन् । रोप्ने कति बाँचे, कति मरे । तर उनीहरूले लगाएको गुण बर्दिबासले कहिल्यै भुल्दैन ।’

२०२८ सालमा पूर्व–पश्चिम राजमार्ग विस्तार हुँदा गंगाले देखेको बर्दिबास आजको भन्दा फरक थियो । ‘रुखको फेदमा बस कुथ्र्यौं, त्यहीँ सास फेथ्र्यौं । अब ती सबै एकादेशको कथा भए । रुख काटियो बर्दिबासको इतिहास ढल्यो । अब फेरि ती इतिहास कसले लेख्छ अँ... ? ’

null

बिहीबार आज बिहानै रुख ढलेको देखेर वृद्धा चिरा घिमिरेको आँखा रसायो  । ‘गर्मी छल्ने जीवन थियो त्यो । अब गाउँलेहरु कहाँ जान्छ ? हिजोसम्म खडा थियो, आज एकाएक ढल्यो । अब मेरो जीवनमा यहाँ ठाउँमा नयाँ वर—पीपल फेरि देख्न पाइँदैन होला ।’ उनको प्रश्न केवल व्यक्तिगत होइन, जलवायु परिवर्तनको प्रश्न हो । आज काटिएका सय वर्षका सासहरू भोलि रोपिने बिरुवाले कहिले फिर्ता दिन सक्छन् ?

देवता पनि विस्थापित
वर–पीपलको फेदमा रहेका सर्वसिद्धेश्वरनाथ महादेव र हनुमान मन्दिर पनि सडक विस्तारको चपेटामा परेका छन् । बर्दिबासका ७७ वर्षीय भवानीबहादुर थापा भन्छन्, ‘मठ–मन्दिर भत्काइँदै छन्, स्वच्छ अक्सिजन दिने वर–पीपल काटिँदै छन् । यसले भक्तजनको मन चिरिएको छ । मन्दिर बनाइ दिने भन्छन् तर, कुन ठाउँमा बनाउने ? ठाउँको ठेगान छैन ।’

null

मधेसको कैलास पर्वत टुटेश्वरनाथ महादेव मन्दिरका प्रचारक
पूर्व प्रधानाध्यापक बासुदेव महतोका अनुसार वर र पीपल मर्दा–पर्दा, पूजा–पाठ, जीवन–मरण सबैमा साथ दिने प्रतीक हुन् । आज ती धमाधम काटिँदैछन् विकासको नाममा । 

आँशुले भरिएका हातहरू
रुख काट्न खटिएका कामदारका आँखामा पनि आँशु थियो । रुख काट्दै गर्दा सयौं मान्छेहरु वरिपरि जम्मा हुन्छन् । जहाँ रुख, जीवन र जगतका कुरा हुन्छ । यसमा बालबच्चादेखि वृद्धवृद्धाहरु चासोपूर्वक रुखको बारेमा चर्चा गरिरहन्छन् । कसैले कसैलाई बोलाउँदैनन् ।

चियाखाजा, भत्ता पनि दिदैनन्, तर बर्दिबासका चिसा पसलहरुमा गम्भीर बहस भइरहेको बर्दिबास शहरमा हराउँदै गएका रुखहरुबारे । रुख कटानमा खटिएका उदयपुरका विष्णु सुनवार, कमल श्रेष्ठ, सिरहाका समिर तामाङ भन्छन्, ‘रुख काट्नु हाम्रो काम हो, तर मन कहाँ मान्छ र ? विकल्प छैन ।’ 

null

विकास र हरियालीको द्वन्द्व
बर्दिबासका पुर्खाहरुले आजको दिन हेरैरै रुख लगाएका थिए शहरमा, जलवायु परिवर्तन अनुकूलनका लागि ।  बर्दिबासका अगुवा दलबहादुर खत्री, रामबहादुर न्यौपाने, कान्छा काफ्ले, कृतिनारायण श्रेष्ठ, नरहरि गौतमलगायतले सार्वजनिक स्थानहरुमा वरपीपलका रुख रोखेका थिए । सब–डिभिजन वन कार्यालयका वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीका अनुसार एसियन हाइवे सरकारको प्राथमिकतामा छ ।

महोत्तरीमा १७ वटा वर–पीपलसहित ६ हजार २७ वटा रुख काट्ने अनुमति छ । इन्जिनियर रितिक कर्ण भन्छन्, ‘६ लेन सडक बन्छ, डिभाइडरमा फूल र फुटपाथमा रुख रोपिन्छ ।’ तर बर्दिबास आज सोधिरहेको छ–रोपिने बिरुवा र ढलेका देववृक्ष बराबर हुन सक्छन् ? वर–पीपल केवल रुख थिएनन् । ती छायाँ थिए, सास थिए, संस्कार थिए । जलवायु संकटको यो युगमा, बर्दिबास शहरले फेरि त्यो जवान वर, पीपल, समिको रुख कहिले पाउँछ ? 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.