सिआइबीको असई भन्दै लाखौं ठगी गर्ने महिला पक्राउ
रौतहट : रौतहट प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को असई हुँ भनि ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्ला कबिलासी नगरपालिका वडा नम्बर १० सलेमपुर टोल बस्ने निर्मला महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।
पक्राउ परेकी महतोले आफ्नो नाम कतै नेहा, कतै निशा तथा कतै पुनम कुमारी बताउँदै आफू सिआइबीको असई हुँ भन्दै विभिन्न ठगी कार्यहरू गर्दै आइरहेकी थिइन्। उनीविरुद्ध रौतहटको चन्द्रपुर नगरपालिकाका सन्तोषबहादुर विश्वकर्मा, गुजराका विजय साह बनिया, चन्द्रपुरकै प्रविण साह र सर्लाहीका राजेश्वर साहले उजुरी दिएका थिए।
जाहेरवाला राजेश्वर अटो चलाउने काम गर्दै आएको, करिब १ वर्ष अगाडि नेहा, निशा भन्ने निर्मला महतो र राजेश्वर साह बीचमा सर्लाही जिल्लाको नवलपुर बजारमा चिनजान भएको, आफ्नो मलङ्गवा भन्सारका कर्मचारीहरूसँग राम्रो चिनजान र सम्बन्ध छ, तिमीलाई सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिन्छु, पुरूष मानिसको नामबाट गाडी निकाल्दा कर बढी लाग्छ, त्यसैले तिम्रो श्रीमतीको सक्कल नागरिकता र ६/७ वटा पासपोर्ट साइजको फोटो दिनु भनेकाले जाहेरवाला राजेश्वर साहले निज प्रतिवादीलाई आफ्नो श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र निजको ६/७ वटा पासपोर्ट साइजको फोटो दिएको र भन्सारबाट गाडी निकाल्न कर तिर्नुपर्ने भन्दै एक लाख पचास हजार ठगी गरेको उजुरी परेको थियो।
जाहेरवाला सन्तोषको ज्वेलर्स पसलबाट उधारोमा खरिद गरेको सुनचाँदीको गहनाको रुकम दुई लाख चौहत्तर हजार जाहेरवाला विजय साह बनियासँग घरायसी समस्या देखाई सापटी लिएको नगद रकम पाँच लाखमात्र र जाहेरवाला प्रविणको किराना पसलबाट उधारोमा सामान खरिद गरेको र जाहेरवालाको स्कारपियो गाडी भाडामा लगेर बाँकी राखेको रकम एक लाख छब्बीस हजार लागि प्रतिवादीले जाहेरवालाहरूलाई निज प्रतिवादीले पुनम कुमारीको नाममा खोलेको पर्याप्त रकम मौज्दात नभएको माछापुच्छ्रे बैंक चन्द्रपुर शाखाको चेकहरूमा उल्लिखित रकम लेखि आफूले पुनम कुमारीको दस्तखत गरी जाहेरवालाहरूलाई चेक दिइ ठगी गरेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !