राई दम्पती हत्या प्रकरण : काठमाडौंमा योजना, ओखलढुंगा पुगेर हत्या
ओखलढुंगा : चिसङ्खुगढी गाउँपालिका ६, भदौरेस्थित बोहोरेमा वृद्ध दम्पती हत्या गर्न अभियुक्तहरुले काठमाडौंमा योजना बनाएर हत्यास्थल पुगेको पाइएको छ। गत २०८२ माघ १२ गते चिशंखुगढी गाउँपालिका-६ बोहोरेस्थित ८१ वर्षीय चन्द्र बिक्रम राई र श्रीमती ८० वर्षीया चन्द्र माया राईको घरमा लुटपाट गर्न अभियुक्तहरुले काठमाडौंमा योजना बनाएर घटना घटाएको प्रहरी अनुसन्धानमा खुलेको छ। लुटपाटको क्रममा वृद्ध राई दम्पत्तिको हत्या भएको थियो।
माघ १२ गते १० बजे राति राई आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओडिरहेको र उनको श्रीमती चन्द्र माया खाट छेउ भुईमा सिरक ओडेर मृत अवस्थामा भेटिएका थिए। बुढाबुढी मात्रै बस्ने उक्त घरमा बिहान ढोका नखुलेपछि छिमेकीले उनीहरूको घर गएर हेर्दा शंकास्पद अवस्थामा देखेपछि १३ गते प्रहरीलाई खबर गरेका थिए। यसअघि पनि ओखलढुंगामा शृंखलाबद्ध रूपमा ३ जनाको हत्या भएको थियो।
उक्त घटनाको अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुसन्धान टोलीले संयुक्तरूपमा अनुसन्धान गरेको थियो । थप अनुसन्धानको लागि २० गते ब्यूरोबाट विज्ञ जनशक्ति खटाएको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनास्थलसहित विभिन्न स्थानबाट दसी र प्रमाणहरूको आधारमा सलंग्न २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुङ्गा साविक भदौरे गाविस वडा नं ०४, हालः चिशंखुगढी गाउँपालिका वडा नं ०६ बस्ने ३४ वर्षीय धन बहादुर राना मगर र अर्का १७ वर्षीय बालक छन्। प्रहरीले बालकको नाम ठेगाना खुलाएको छैन। हत्यामा सलंग्न मगर सोही गाउँका हुन्।
अनुसन्धानको क्रममा मगर र अर्का बालक लुटपाट गर्ने योजना बनाई काठमाडौंदेखि ओखलढुंगा गई हत्या तथा लुटपाटमा संलग्न भई लुटपाट गरिएका दसी प्रमाणका सामानहरू प्रयोग तथा व्यवस्थापन गरेको खुलेको छ। उनीहरुलाई प्रहरीले शुक्रबार काठमाडौंको डल्लु, लखतीर्थ मार्गस्थित आफनै डेरा कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी मदन केसीले जानकारी दिए।
उनीहरुको डेराबाट राई दम्पतीले प्रयोग गर्ने गरेको मोबाइल, पसलबाट लुटिएको एनटिसीको रिचार्ज कार्ड ५० को ६४ थान, १०० को ८२ थान र एनसीएलको रिचार्जकार्ड १००को १३ थान गरी १५९ थान रिचार्ज कार्ड, लुटिएको कानमा लगाउने सुन जस्तो देखिने पहेलो धातुको माडवाडी १ जोर र सिक्री, ४ थान सि माला र १२ हजार नगद बरामद भएको छ। त्यस्तै प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो बरामद गरेको छ। चन्द्र ब्रिकम राईले प्रयोग गर्ने मोवाइल भने काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं ४ पशुपतिटोलस्थित अभियुक्तको आफन्तको डेराकोठाबाट शनिबार बरामद भएको छ। उनीहरुले गाउँ घरमा अन्य व्यक्तिहरूले पहिचान गर्छन् भनि रातको समयमा गएर घटना घटाई रातको समयमा नै त्यहाँबाट भागेको प्रहरीको भनाइ छ।
घटना घटाए पश्चात भाग्ने क्रममा अभियुक्तहरूले गएको बाटो प्रयोग नगरी अर्को बाटो प्रयोग गरेको र बस टिकट काट्दा वास्तविक नाम ढाँटी नाम समेत परिवर्तन गरेका थिए। उनीहरूलाई काठमाडौं तथा काभ्रेपलाञ्चोकबाट वरामद गरिएका दसी र प्रमाणहरू सहित जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आज सार्वजनिक गरेको छ। म्याद थप गरेर उनीहरू माथि अनुसन्धान भइरहेको छ। शृंखलाबद्ध रुपमा हया भएपछि स्थानीयहरु त्रसित भएका छन्। स्थानीयले शान्ति सुरक्षा, अभियुक्तहरू माथि कडा कारबाही र भदौरेमा सुरक्षा पोष्ट राख्नमा गर्दै निर्वाचन बहिष्कारसम्मका आन्दोलन घोषणा गरेका छन्। आज जिल्ला सदरमुकाममा स्थानीयवासीहरूले पीडित परिवारसहित मनोज प्रदर्शन गरेको नागरिक अभियानका अगुवा सन्तोषकाजी कार्कीले बताए । पूर्ण सुरक्षाको प्रत्याभूत नहुन्जेल आन्दोलन जारी रहने स्थानीय बासीको प्रतिबद्धता छ।
प्रतिक्रिया दिनुहोस !