राजनीतिक दिग्गजदेखि युवा उम्मेदवारबीच धादिङ–१ मा रोचक प्रतिस्पर्धा
धादिङ : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नम्बर–१ मा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। पटक–पटक चुनाव जित्दै आएका पुराना नेताहरू र परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका युवा उम्मेदवारबीच यसपटक कडा र निर्णायक भिडन्त हुने संकेत देखिएको छ। धादिङ–१ अन्तर्गत धुनिबेसी नगरपालिका तथा बेनीघाट रोराङ, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका पर्छन्। परम्परागत रूपमा नेकपा एमालेको प्रभाव मानिने यस क्षेत्रमा यसपटक नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले संगठनात्मक तथा जनआधार विस्तार गर्दै बलियो चुनौती प्रस्तुत गरेका छन्।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट भूमिप्रसाद त्रिपाठी, नेपाली कांग्रेसबाट कृष्ण रिजाल, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिका तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गीताप्रसाद आचार्य र नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला उम्मेदवार बनेका छन्। साथै प्रगतिशील लोकतान्त्रिक पार्टीका राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीका प्रल्हाद सिलवाल, नेशनल अर्गनाइजेसन पार्टीका रिन्छेन तामाङ र उज्यालो नेपाल पार्टीका श्यामराज पाण्डे पनि चुनावी मैदानमा छन्।
संयुक्त नागरिक पार्टीबाट डम्बरबहादुर लिम्बू, आम जनता पार्टीबाट जाल्पादेवी रेग्मी तथा स्वतन्त्र उम्मेदवारका रूपमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन सञ्जेल, ध्रुवप्रसाद पाण्डे, धर्मराज नेपाल, दीपक तामाङ र तपन उप्रेतीले उम्मेदवारी दिएका छन्। विगत चार दशकदेखि धादिङ–१ को राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका पाण्डे र त्रिपाठी पुनः प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। २०४३ सालदेखि चुनावी राजनीतिमा सक्रिय पाण्डे बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले त्रिपाठीलाई ७ हजार ९ सय ८१ मतान्तरले पराजित गरेका थिए।
एमालेका तर्फबाट उम्मेदवार बनेका त्रिपाठी भने अघिल्लो पराजयको क्षतिपूर्ति गर्दै आफ्नो राजनीतिक विरासत पुनः स्थापित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका त्रिपाठीका लागि यसपटक आफ्नै पूर्व राजनीतिक मार्गदर्शक मानिने पाण्डेलाई पराजित गर्नु ठूलो चुनौती बनेको छ।
युवा पुस्ताबाट नेपाली कांग्रेसका कृष्ण रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ धादिङ–१ का चर्चित तथा आशालाग्दा उम्मेदवारका रूपमा उदाएका छन्। कांग्रेसका पूर्वक्षेत्रीय सभापति तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य रिजाल पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका हुन्।
समग्रमा राजेन्द्र पाण्डेको लामो अनुभव र राजनीतिक पकड, भूमिप्रसाद त्रिपाठीको संगठनात्मक आधार तथा कृष्ण रिजाल र आशिका तामाङको नयाँ ऊर्जा र परिवर्तनमुखी एजेन्डाले धादिङ–१ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ।
प्रतिक्रिया दिनुहोस !