ओखलढुंगाको निर्वाचन

नेकपा कांग्रेसप्रति नरम, एमालेप्रति गरम

नेकपा कांग्रेसप्रति नरम, एमालेप्रति गरम
चुनाव प्रचारका क्रममा कांग्रेस र एमालेका उम्मेदवार भेट भएपछि सामूहिक फोटो खिचाउँदै ।

नेकपाको रणनीति कांग्रेसको असन्तुष्ट भोट तान्ने छ भने एमालेले आफ्ना भोट सुरक्षित गर्दै कसैको आलोचना नगर्ने, एजेन्डा बताउने असल उम्मेदवारको रूपमा परिचित गराउने देखिन्छ।

ओखलढुंगा : मतदानको समय नजिकिँदै जाँदा निर्वाचनमा होमिएका उम्मेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका छन्। पालिका अभियान सकेर वडा तहमा पुगेका मुख्य प्रतिस्पर्धी दलमध्ये एमाले र नेकपाले जनमत आफ्नो उम्मेदवारको पक्षमा तान्न फरकफरक रणनीति अपनाएका छन्।

नेपाली कांग्रेसले पालिका तहका कार्यक्रम सञ्चालन गरिरहेको छ। निर्वाचन आचारसंहिताले सभा र जुलुस गर्ने समय नभएकाले पार्टीको प्रशिक्षण र अगुवा कार्यकर्ता भेलाका नाममा दलहरू अभियानमा छन्।

उम्मेदवारहरूको रणनीति पनि फरकफरक छ। कांग्रेस शान्त देखिन्छ। मतका हिसाबले जिल्लाको सबैभन्दा ठूलो दल एमालेको जिल्ला पदाधिकारीहरू नेकपामा प्रवेश गरेकाले उसको मत घटेको विश्लेषणसहित शालिन प्रचार र आफ्नो मत रक्षाको रणनीतिमा कांग्रेस छ। ‘एमालेको धेरै भोट घटेको अनुमान छ, हामी सहज जित निकाल्छौं, जित्ने निर्वाचन शान्त र शालिन रूपमा परिचालन गर्छौं’, नेपाली कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगानाले आफ्नो विश्लेषण सुनाए। 

कांग्रेस–एमालेबीच अहिले आरोप/प्रत्यारोप छैन। कांग्रेसप्रति आलोचना नेकपा र एमाले दुवैले गरेका छैनन्।

नेकपा एमाले भने यसपटक सशंकित छ। प्रदेशका पूर्वमन्त्री, जिल्ला कमिटीका पदाधिकारीहरू पार्टी त्यागेर नेकपामा गएका छन्। एमालेबाट प्रदेशसभामा सांसद र मन्त्री भएका अम्बिरबाबु गुरुङ नेकपा पसेर टिकट लिएका छन्। उनले काट्ने मतले चुनावी नतिजामा पर्ने असर हेरेर त्यस क्षतिपूर्तिको प्रयासमा छ।

विगत लामो समयदेखि निष्क्रिय नेता र नेकपा प्रवेश गरेर केन्द्रीय सदस्य भइसकेका व्यक्ति फेरि एमालेमा फर्काएर क्षतिपूर्ति लिने एमालेको प्रयास छ। जिल्ला संयोजक हर्कबोल राईले एमालेमा क्रियाशील ९ जना मात्रै नेकपामा लागेको अरूले विज्ञप्ती निकालेर एमालेमा क्रियाशील भएको बताए। उनले भने ‘हामीले पार्टी छोड्नेहरूको असर करिब करिब शून्यजस्तो बनाउने प्रयासमा छौं, हल्ला होइन, रणनीतिक काम हुँदैछन्।’ फागुनको दोस्रो हप्तासम्म एमालेले चामत्कारिक माहोल बनाउने उनको दाबी छ।

उम्मेदवार फेरिँदा प्रतिस्पर्धा रोचक

एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीबाट टिकट ल्याएका नेकपाका उम्मेदवार निर्वाचन जित्नेमा ढुक्क जस्तै देखिन्छन्। नेकपामा देखिएको आत्मविश्वास भनेकै उम्मेदवार अम्बिरबाबु गुरुङ हुन्। नेकपाको जिल्लाको मत, एमालेबाट तान्ने मत, कांग्रेसबाट आउने मत र जसपाको समर्थनबाट जितिने आधार नेकपाले देखेको छ। निर्वाचन परिचालन समिति सिद्धिचरण नगरपालिकाका संयोजक रूपेश शाक्यले एमालेबाट आउने र जसपाको साथका अतिरिक्त कांग्रेसको मत तान्ने चुनौती नेकपालाई रहेको तर्क गर्छन्। उनले भने, ‘हामीले एमालेबाट आउने र जसपाको समर्थनबाट आउने भोटका अतिरिक्त कांग्रेसको भोट कति होल्ड गर्न सक्छौं त्यो नै मुख्य हुनेछ।’

धेरैले कांग्रेसबाट रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार नै उम्मेदवार हुन् भन्ने पूर्वानुमान गरेका थिए। अन्तिम समयमा कांग्रेसले गगन टिमका कुमार लुइँटेल र एमालेले युवा नेतृ अस्मिता थापा अघि सारेपछि माहोल फेरियो।

सुनुवार र खतिवडा पुरानै प्रतिस्पर्धीहरू हुन्। उनीहरूप्रति असन्तुष्ट मतदाताहरूले रास्वपा रोज्ने धेरैको अनुमान थियो। नेकपामा गएर अम्बिरबाबु गुरुङ उम्मेदवार भएपछि असन्तुष्ट भोट उनले होल्ड गर्ने मतदाता र कार्यकर्ताको भनाइ छ। यसले प्रमुख प्रतिस्पर्धी उम्मेदवारका रूपमा अस्मिता थापा, कुमार लुइँटेल, अम्बिर गुरुङ र विश्वराज पोखरेल मैदानमा छन्।

  •    ओखलढुंगामा शान्त प्रचार, भित्रभित्रै कडा प्रतिस्पर्धा
  •     चार प्रमुख उम्मेदवार, त्रिपक्षीयभन्दा बहुपक्षीय भिडन्त
  •     मतदान नजिकिँदै जाँदा ओखलढुंगामा दलहरू वडा तह केन्द्रित शान्त अभियानमा छन्, आचारसंहिताका कारण सभा–जुलुस छैन
  •     नेकपा एमालेप्रति आक्रामक देखिए पनि कांग्रेसप्रति नरम, उम्मेदवारबीच व्यक्तिगत सौहार्द कायम

हालसम्म जिल्लामा चुनावी प्रचार पनि शान्त प्रकारकै देखिन्छ। नेकपाले भने एमालेप्रति आक्रमक नीति लिएको छ। त्यहाँको भोट बढी तानेर जित्ने र नसके पनि हराउने उसको रणनीति बुझिन्छ। यही कारण उम्मेदवार नै एमालेप्रति आक्रमक देखिन्छन्।अन्य उम्मेदवारसँग भने उनको सौहार्दता छ। मानेभञ्ज्याङमा चुनावी अभियानमा कांग्रेसका कुमार लुइँटेलसँग भेटेर शुभकामना आदानप्रदान गरेका गुरुङ कांग्रेसप्रति नरम देखिन्छन्। एमाले उम्मेदवार अस्मिता थापा र गुरुङबीच भने हालसम्म भेट भएको छैन।

भाषणमा गुरुङ थापाप्रति गरम सुनिए पनि थापा भने आफ्ना एजेन्डा सुनाउन व्यस्त छिन्। अरूलाई खुइल्याएर होइन, मन जितेर मत तान्ने उनको रणनीति छ। ‘अरूलाई गाली गर्ने समय म मेरा मतदातालाई योजना र मुद्दा सुननाउँछु, गाली गरेर होइन काम गरेर मन जितिन्छ’, 
उनले भनिन्।

उनले मञ्चबाट प्रतिस्पर्धी उम्मेदवाहरूको कुनै टिप्पणी गरेकी छैनन्। कांग्रेस उम्मेदवारसँग उनको भेट हुँदा पनि उनले शुभकामना आदानप्रदान गरेर सामूहिक फोटो खिचाएकी छिन्। कांग्रेस–एमालेबीच अहिले आरोप/प्रत्यारोप छैन। कांग्रेसप्रति आलोचना नेकपा र एमाले दुवैले गरेका छैनन्। नेकपाको रणनीति कांग्रेसको असन्तुष्ट भोट तान्ने छ भने एमालेले आफ्ना भोट सुरक्षित गर्दै कसैको आलोचना नगर्ने, एजेन्डा बताउने असल उम्मेदवारको रूपमा परिचित गराउने देखिन्छ।

एमाले कांग्रेसको उम्मेदवारको अवस्था हेरेर नै नेकपाले अम्बिरबाबु प्रवेश गराएर टिकट दिएको हो। मतका हिसाबले तेस्रो भए पनि नेकपामा पपुलर भोट होल्ड गर्न सक्ने व्यक्ति अम्बिबाबु भएकाले प्रमुख प्रतिस्पर्धा तीन दलबीचमै हुने धेरैको अनुमान छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेललाई मैदानमा उतारेको छ। संगठन कमजोर भए पनि गाउँ गाउँमा मतदाता भने रास्वपा रोज्ने प्रशस्तै छन्। असन्तुष्टि क्यास गरेर नतजिा हात पार्न उसको रणनीति दल होइन, मत फेर्न लाउने छ। ‘हामी दलभन्दा मत फेर्न लाउने अभियामा छौं’, रास्वपाका जेन–जी नेता करुणा खत्रीको भनाइ छ। १५ उम्मेदवारमध्ये रास्वपा एमाले, कांग्रेस र नेकपासँग प्रमुख प्रतिस्पर्धी दलका रूपमा उदाएको छ।

यहाँ सबै दलका उम्मेदवारहरू पूर्वानुमान गरिए भन्दा फरक छन्। टिकट वितरणको कारण एमालेमा विद्रोह भयो भने कांग्रेसमा रामहरि खतिवडाले टिकट नपाएपछि गाउँ तहमा एक किसिमका कार्यकर्ता निष्क्रियजस्ता देखिएका छन्। यही अस्थिरतामा खेलेर गोल गर्ने समय रहेको नेकपाका केन्द्रीय सदस्य नेत्र भट्टराई बताउँछन्। रास्वपा पनि यस्तै अस्थितरता खेलेर अघि बढ्ने लाइनमा छ।

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.