युवालाई प्रविधिसँगै उत्पादन र उद्यमशीलतामा लगाउँछौं : उपसभापति भुसाल
अर्घाखाँची : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा संलग्न गराउने योजनाका साथ कांग्रेस यसपटकको निर्वाचनमा होमिएको बताएकी छन्।
'कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो,' उनले भनिन्। सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको बताइन्।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाले खनदहमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उपसभापति भुसालले युवालाई विदेश पलायन गराउने होइन, स्वदेशमै स्वरोजगार सिर्जना गर्ने नीति नै कांग्रेसको पहिलो प्राथमिकता रहेको बताएकी छन्।
पूर्व उपसभामुख समेत रहेकी भुसालले २०६४ सालपछि नेपाली कांग्रेसले कुनै पनि समयमा स्पष्ट बहुमतको सरकार बनाउन नसकेको उल्लेख गर्दै त्यसकै कारण जनताका अपेक्षा अनुसारका कामहरू पूरा गर्न कठिनाइ भएको स्वीकार गरिन्।
प्रतिक्रिया दिनुहोस !