उम्मेदवार गाउँ–गाउँमा, मतदाता भने मौन
प्यूठान : प्रतिनिधिसभा निर्वाचनका लागि घरदैलो गर्दै उम्मेदवारहरू बस्ती–बस्ती र धाइरहेका छन्। तर, प्यूठानका मतदाताको मन भने चुनावतिर फर्किएको छैन। पाँच वर्षका लागि छानिएका प्रतिनिधि ३३ महिनामै पुनः चुनावमा जानु परेपछि मतदातामा निराशा र वितृष्णा छाएको छ। संसद् विघटन, स्वार्थकेन्द्रित गठबन्धन र पटक–पटकको निर्वाचनले थाकेका मतदाता मौन छन्। दल र कार्यकर्ता मात्रै सक्रिय देखिने प्यूठानको चुनावी मैदानमा यसपटक उत्साहभन्दा बढी प्रश्न र असन्तोष हाबी देखिन्छ।
प्रमुख दलहरू एमाले, कांग्रेसलगायत दलहरू उम्मेदवार मनोनयनको अन्तिम समयसम्म संसद् पुनस्र्थापनाको एजेन्डा बोकिरहँदा मतदाताहरूमा निर्वाचनको उत्साह नदेखिएको हो। पाँचवर्षे कार्यकालका लागि प्रतिनिधि छनोट गरेका मतदाताहरू ३३ महिनाको छोटो अवधिमै पुनः निर्वाचन हुन लागेकोले यसपटकको निर्वाचनप्रति मतदाताको चासो कम देखिएको हो।
निर्वाचनका बेला दलहरूबीच हुने स्वार्थ केन्द्रित गठबन्धनका कारण पनि मतदाता उत्साहित छैनन्। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन र २०७९ मा भएको निर्वाचनमा पाँचदलीय गठबन्धन थियो।यसपटकको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता भने निर्वाचनमा होमिएका छन्। दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएपछि कार्यकर्ताहरू मतदाता आ–आफ्नो पक्षमा मत तान्न क्रियाशील देखिन्छन्।
निर्वाचन आफ्नो पक्षमा मात्र नभई एक्ला एक्लै भएको निर्वाचनले जिल्लास्तरमा दलीय हैसियत देखिने भएकाले पनि कार्यकर्ताहरू क्रियाशील देखिएका हुन्।खेतीबालीको मौसम नभएकाले यतिबेला किसान फुर्सदमा हुँदा समेत उनीहरूलाई चुनावी माहोलले छोएको छैन। दलहरूले बस्ती स्तरमा आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा मतदाता जबरजस्त जुटाउन सक्रिय छन्।
मतदाताहरू जहाँ छन्, सबै उम्मेदवार र पार्टीका कार्यकर्ताहरू उनीहरूलाई खोज्दै त्यही पुग्ने गरेका छन्। मतदाता भेटघाटको क्रममा बिहीबार ऐरावती गाउँपालिका–४ गोल्जा पुगेका एमाले उम्मेदवार सूर्य थापाले डोको बुन्दै गरेका ६५ वर्षीय होमबहादुर पुनलाई भेटे। भोट माग्दै थापाले होमबहादुरसँगै डोको बुन्न पनि सिक्न भ्याए।
चुनाव केन्द्रित भेटघाटमै रहेका कांग्रेस उम्मेदवार प्रा.डा.गोविन्दराज पोख्रेलले बुधबार एमालेको चुनावी कार्यक्रममै पुगेर मत मागे। स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा एमाले कार्यकर्ताले उम्मेदवारसहित भेटघाट कार्यक्रमको तयारी गर्दै थिए। जहाँ कार्यक्रमलाई सम्बोधन गर्न एमाले उम्मेदवार थापा कार्यक्रमस्थल पुग्दै थिए। थापा पुग्नुअघि नै त्यहाँ पुगेका कांग्रेस उम्मेदवार पोख्रेलले आफ्नो पक्षमा छिटोछिटो भोट मागे।
जिल्लाबाट छानिएर जाने सांसदले आफ्नो ठाउँको विकासे एजेन्डा उठाउनुपर्ने मतदाताहरूको मनस्थिति देखिन्छ। उम्मेदवारसँग मतदाताले आफ्नो ठाउँको विकास स्थितिबारे छलफल र गुनासो गर्ने गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य टेकराज केसीले बताए। ‘आफ्नो ठाउँमा भइरहेका विकास योजनाको प्रगतिबारे स्थानीयले चासो राख्ने गरेका छन्’, एमाले उम्मेदवार थापासँगै चुनावी भेटघाटमा रहेका उनले भने, ‘आगामी दिनमा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण पनि गराउँछन्।’
पुराना राजनीतिक दलहरूले जनतामा नयाँपन दिन नसक्दा समेत आम मतदातामा उत्साह नदेखिएको अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मिलन एमसीले बताए। ‘नयाँ भन्नेहरूले पनि आफ्ना एजेन्डाहरू स्पष्ट राख्न सकेका छैनन्’, उनले भने, ‘पटकपटक प्रतिनिधि छानेर पठाउँदा आफ्ना मागहरू पूरा नभएकाले मतदातामा विश्वास देखिँदैन।’ दलहरूको चुनावी प्रचार अझै पेचिलो नभएकाले उत्साह नदेखिएको उनले बताए।
फागुन ४ देखि निर्वाचन प्रचारको वैधानिक बाटो खुलेपछि दलहरूको आक्रामक प्रचार शैलीसँगै मतदातामा उत्साह आउने दलका नेताहरूको बुझाइ छ।
२०७० सम्म भएका निर्वाचनहरूमा प्यूठानमा दुईवटा निर्वाचन क्षेत्र थिए। जसका कारण उम्मेदवारहरूको संख्या धेरै हुने भएकाले चुनावी सरगर्मीसमेत महिनौं अघिदेखि हुने गर्दथ्यो। तर, २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र पुनरावलोकनबाट एउटा मात्र निर्वाचन क्षेत्र कायम रह्यो। जसका कारण उम्मेदवारहरूको संख्या घट्यो त्यसपछि चुनावी गतिविधिमा समेत कमी हुँदै गयो।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमध्ये भौगोलिक र मतदाता संख्याका हिसाबले प्यूठान ठूलो निर्वाचन क्षेत्रमा पर्छ। उम्मेदवारहरूले जिल्लाका नौ वटा पालिकाका ६४ वटै वडाका सबै बस्तीबस्तीमा पुगेर मत माग्न मतदानको केही दिनअघिसम्म समेत निर्वाचनको समयावधि अनुसार अपुग हुने गरेको नेकपा मसालका जिल्ला प्रवक्ता राम पहाडीले बताए। ‘कतिपय बस्तीहरूमा पुगेर मत माग्न घण्टौं समय यात्रा गर्नुपर्छ’, पहाडीले भने, ‘गौमुखीको अर्खा, रजवारा पुग्न गुल्मी जिल्ला भएर जानुपर्छ। ऐरावतीको डाब्रा फाँट जान अर्घाखाँची हुँदै जानुपर्ने बाध्यता छ।’
यसअघि प्रतिनिधि र प्रदेससभा निर्वाचन एकैपटक हुँदा चुनावी माहोल बढी देखिन्थ्यो। तर, यसपाली अकस्मात हुन लागेको निर्वाचनले समेत मतदाताहरूमा मनोवैज्ञानिक असर गरेको पाइएको छ। योसँगै दुई÷दुईपटक भएका स्थानीय तह निर्वाचनमा समेत सहभागी भएका मतदाताहरूले घरआँगनको उम्मेदवार हुँदाजस्तो अपनत्व महसुस गरेका छैनन्।
निर्वाचन आयोगको तथ्यांकमा लाखौं मतदाताहरूको संख्या भए पनि बस्तीबस्तीमा पुग्ने उम्मेदवारहरूले ती मतदाताहरूलाई भेट्न पाउँदैनन्। बहुसंख्यक मतदाताहरू विभिन्न पेसा, व्यवसाय, अध्ययन र रोजगारीका लागि जिल्ला बाहिर छन्। विगतका निर्वाचनहरू नेपालीका प्रमुख चाडपर्वहरूको आसपास हुने भएकाले समेत मतदाताहरूको गाउँमा बाक्लो उपस्थिति हुने गर्दथ्यो।
जिल्लामा १४ वटा राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवारहरू खडा गरेर चुनावी मैदानमा होमिएका छन्। एक वर्षपछि हुने प्रदेशसभा र स्थानीय तह निर्वाचनलाई समेत लक्षित गरी राजनीतिक दलहरूले आफ्नो हैसियत कायम गर्न तीव्र प्रतिस्पर्धा गरेका छन्। यहाँ स्वतन्त्र उम्मेदवार छैनन्। चुनावी मैदानमा होमिएका उम्मेदवारहरूमध्ये प्रमुख प्रतिस्पर्धीका रूपमा चार दलहरू प्रतिस्पर्धामा छन्। विगतका निर्वाचन मत परिणाम र विरासतका आधारमा एमाले, कांग्रेस, नेकपा र राजमो नै प्रमुख प्रतिस्पर्धी हुन्।
देशव्यापी लहरका रूपमा देखा परेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूलाई प्यूठानमा प्रमुख प्रतिस्पर्धीका रूपमा दाबी गर्दै आइरहेको छ। सहर केन्द्रित उक्त दलको लहरलाई रोक्न पुराना दलहरूलाई जिल्लामा चुनौतीपूर्ण देखिएको छ। तर, राजनीतिक रूपमा खारिएर विभिन्न अनुभव र योगदान गर्दै आइरहेका पुराना उम्मेदवारहरूका बीचमा रास्वपा उम्मेदवारलाई भने संगठित रूपमा क्रियाशील कार्यकर्ताहरूले भने रुचाएको देखिँदैन।
रास्वपाका उम्मेदवार सुशान्त वैदिकलाई जिल्लामा पाहुना उम्मेदवारको रूपमा अन्य दलहरूले आरोप लगाएका छन्। उनी बसाइँ सरेर अहिले दाङ गएको र राजनीतिक आडमा लुम्बिनी प्रदेशमा सल्लाहकारको नियुक्ति छाडेर चुनावी मैदानमा आएकाले उनलाई वैकल्पिक उम्मेदवारको रूपमा अन्य दलहरूले लिन सकेका छैनन्। लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ८१ हजार ३ सय ६६ पुरुष, ८४ हजार ३ सय ८९ महिला र अन्य एक जना गरी कुल १ लाख ६५ हजार ४ सय ६ जना मतदाता छन्।
प्रतिक्रिया दिनुहोस !