भक्तपुरमा दर्जन बढी डमी उम्मेदवार
सञ्जीप घिमिरे । भक्तपुर :फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुर–२ बाट रेणु श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। चुनाव चिह्नसमेत पाइसकेकी उनले आफू उम्मेदवार रहेको सार्वजनिक भने गरेकी छैनन्।
श्रेष्ठको सामाजिक सञ्जालमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीको प्रचार गरिएको छ। रास्वपाको कार्यकर्तासमेत रहेकी मध्यपुर थिमि–८ की श्रेष्ठ स्वतन्त्र उम्मेदवारको आवरणमा रास्वपाको डमी उम्मेदवार हुन्।
भक्तपुर–२ मा रेणुसहित दुई जना डमी उम्मेदवार खडा भएका छन्। भक्तपुर–१ मा पनि रास्वपाका उम्मेदवार रुकुश रञ्जितलाई सहयोग गर्न पनि दुईजना (राजेश्वरी प्रजापति र सुजिता बुढाथोकी) रास्वपाको डमी उम्मेदवार छन्।
रास्वपामात्र होइन, अन्य दलले समेत डमी उम्मेदवार तयार गरेका छन्। भक्तपुर–२ मा पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव महेश बस्नेतका लागि पनि स्वतन्त्र उम्मेदवारको आवरणमा दुईजना डमी उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवार सविन महत बस्नेतका डमी उम्मेदवार हुन्। उनले रास्वपा उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उम्मेदवारकै हैसियतमा उजुरी दर्ता गरेका थिए। तर, दुवैको उजुरीको दाबी पुगेन। महत एमाले कार्यकर्ता एवं एमाले उम्मेदवार बस्नेतका पारिवारिक नातेदारसमेत हुन्। भक्तपुर–१ मा पनि पूर्वमेयरसमेत रहेको उम्मेदवार सोमप्रसाद मिश्रलाई सहयोग गर्न दशरथ थापालगायत दुई जनालाई एमालेले स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारेको छ।
भक्तपुर–१ मा निवर्तमान प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन्। उनलाई सहयोग गर्न नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी डकर्मी संघका जिल्ला अध्यक्ष भक्तपुर नगरपालिका–७ का विष्णुराम दुमरुसहित दुईजना स्वतन्त्र उम्मेदवार छन्। त्यस्तै नेमकिपाको तर्फबाट भक्तपुर–२ मा रमेश वैद्य उम्मेदवार छन् र यहाँ पनि बोडेका मधुप्रकाश साहुखलसहित दुईजनाले नेमकिपाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
भक्तपुर–२ मा नेपाली कांग्रेसका उम्मेदवार कविर राणा छन्। यस क्षेत्रमा सामाजिक अभियन्तासमेत रहेकी नेपाली कांग्रेसकी क्रियाशील सदस्य मध्यपुर थिमि–२ की लक्ष्मी बास्तोला पौडेल तथा सूर्यविनायक–३ का अनिता भट्टराई र अर्चना भट्टराई दुई दिदी–बहिनीले नै राणाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर–१ मा अधिवक्ता किरण न्यौपाने नेपाली कांग्रेसका उम्मेदवार रहेका छन्। यस क्षेत्रमा पनि नेपाली कांग्रेसको तर्फबाट एकजना स्वतन्त्र उम्मेदवार छन्।
भक्तपुर–२ मा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाका लागि पनि ओमकृष्ण कुटु र साजन ढकाल स्वतन्त्र उम्मेदवारका रूपमा डमी उम्मेदवार छन्। नेपाली कम्युनिस्ट पार्टीले भक्तपुर–१ का उम्मेदवार अधिवक्ता हरिराम लवजुका लागि पनि डमी उम्मेदवारका रूपमा भनपा–२ का सुरेश कोजु र भनपा–१ का पुण्यराम सुवाललाई स्वतन्त्र उम्मेदवार बनाएको छ।
त्यसैगरी रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि भक्तपुर–१ का उम्मेदवार पूर्वजर्नेल भरतबहादुर खड्कालाई सहयोग पुर्याउन राजु श्रेष्ठलाई स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारेको छ भने भक्तपुर–२ का उम्मेदवार विक्रम थापाका लागि पनि दुई जना कार्यकर्ता स्वतन्त्र उम्मेदवार छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका २५ उम्मेदवारमा राजनीतिक दलका तर्फबाट १६ जना र स्वतन्त्रमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ पनि स्वतन्त्र उम्मेदवारी दिने आधा दर्जन उम्मेदवार डमी उम्मेदवार छन्।
क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारी दर्ता गराउने १ दर्जन उम्मेदवार डमी उम्मेदवार देखिएका छन्।
डमी उम्मेदवारको हुलिया
राजनीतिक दलहरू डमी उम्मेदवार उठाएको इन्कार गर्छन्। तर, स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरू दलका कार्यकर्ता हुनु र उनीहरूका प्रस्तावक र समर्थकलाई चिन्नेहरूले सजिलै उनीहरू डमी उम्मेदवार भएको थाहा पाउँछन्।
स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्ता र उनीहरूका प्रस्तावक र समर्थकलाई दलहरूले कारबाहीको घोषणा नगर्नुले उनीहरू योजनामै उम्मेदवार भएको पुष्टि हुन्छ। स्वतन्त्र उम्मेदवार भएकाहरू आफ्नो प्रचार–प्रसारमा नलाग्नु, गुमनाम रहनु, पत्रकारसँग भेट्न नचाहनु र दलका उम्मेदवारका लागि मत माग्नुलगायतका कारण उनीहरू वास्तविक उम्मेदवार नभएको पुष्टि हुन्छ।
भक्तपुर–१ का स्वतन्त्र उम्मेदवार सुदीप न्यौपाने डमी उम्मेदवारका कारण वास्तविक स्वतन्त्र उम्मेदवारलाई असर परिरहेको बताउँछन्। धेरै स्वतन्त्र उम्मेदवार देखिँदा मतदाता भ्रमित हुने र आफूजस्ता वास्तविक स्वतन्त्र उम्मेदवारलाई त्यसले छायामा पार्ने उनले गुनासो गरेका छन्।
डमी उम्मेदवार किन उठाइन्छ ?
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीका अनुसार प्रतिनिधिसभा सदस्यको एक उम्मेदवारले दुईवटा सवारीसाधनमात्र प्रयोगको सुविधा पाउँछन्। त्यसैगरी, निर्वाचन निर्देशिकाले प्रत्येक मतदान केन्द्रमा एक उम्मेदवारले एकजना प्रतिनिधि राख्न पाउँछन्। सुविधा प्रयोगका लागि डमी उम्मेदवार उठाउने गलत अभ्यास विगतदेखि नै निर्वाचनमा हुने गरेको छ।
२५ हजार रुपैयाँभन्दा माथि खर्च गर्नुपर्दा अनिवार्य रूपमा बैंकमार्फत कारोबार गर्नुपर्ने भएकाले पनि दलहरूले डमी उम्मेदवारको विकल्प लिने गरेका छन्। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले डमी उम्मेदवारको अभ्यास गलत हो। तर, संवैधानिक अधिकार प्रयोग गर्दै निश्चित योग्यता पूरा गरी उम्मेदवार भएकाहरूलाई डमी उम्मेदवार भन्न नसकिने उनको जिकिर छ।
निर्वाचनलाई नैतिकताको कसीमा राखेर हेर्ने हो भने कानुनी छिद्र खोजेर दलगत स्वार्थमा स्वतन्त्र उम्मेदवार खडा गर्नु अनैतिक अभ्यास भएको स्थानीय मानव अधिकारकर्मी राजेशमान मानन्धर बताउँछन्। राजनीतिक विश्लेषक उमेश कायस्थ पनि परम्परागत राजनीतिक दलसँगै नयाँ दलहरूले पनि गलत अभ्यास पछ्याउनुलाई सुखद भन्न नसकिने तर्क गर्छन्।
प्रतिक्रिया दिनुहोस !