गगनको दावी : अबको पाँच वर्ष लोकतन्त्र र देशलाई दुर्घटनामा जान दिन्नँ
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आउँदो पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने दावी गरेका छन् ।
बौद्धिक पेशाकर्मी अभियान परिषदले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सभापति थापाले यसअघि पटक–पटक अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै आउँदो पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर योजनासहित राष्ट्र निर्माणमा लाग्ने बताएका हुन् ।
उनले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको बताएका छन् । इतिहासका बिभिन्न घटनाहरुबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरुले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए । उनले देश बनाउन सक्ने सबै भन्दा पुरानो पार्टी कांग्रेस भएकाको दावी गर्दै कांग्रेसका एजेण्डाहरु तल्लो तहसम्म पुर्याउनु पर्ने बताए ।
नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफूहरु चुनावमा होमिएको उनले बताएका छन् । उनले देश बनाउन सबै राजनीतिक दलहरुलाई मिलाएर लैजानु पर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने बताए । सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउन, डेलिभरी र परिणामका लागि समेत बदलिएर आएको कांग्रेस सक्षम रहेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस !