पूर्वराजदूत उपाध्यायसहित कपिलवस्तुमा १९ नेतालाई कांग्रेसले गर्यो निष्काशन
कपिलवस्तु : नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायसहित १९ जना नेताहरूलाई कांग्रेसले अनुशासनको कारबाही गरेको छ । नेता उपाध्यायका छोरा आशीष शर्माले कपिलवस्तु क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आफ्नो छोराले स्वतन्त्र उम्मेदवारी दिए पछिनेता उपाध्यायले छोराको समर्थन र प्रचारमा रहेका कारण नेता उपाध्यायलाई नेपाली कांग्रेस कपिलवस्तुले साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि अनुशासनको कारबाही जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार अतहर कमालविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएबापत स्वतन्त्र उम्मेदवार आशीष शर्मालाई ५ वर्षका लागि कारबाही गरिएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खां, क्षेत्र नं. १ क का सभापति दुर्गा बहादुर केसी, नेपाली कांग्रेस मायादेवी गाउँपालिका सभापति शैलेन्द्र दुवे, शुद्धोधन गाउंपालिक सभापति विश्वम्भर कुर्मी चौधरी, महासमिति सदस्यहरु राजेश बहादुर सिंह, कमल टण्डन, विष्णु न्यौपाने, महाअधिवेशन प्रतिनिधि डोलक राम घिमिले, युवा नेता परमेश्वर पाठक, चर्तुभुज मणि त्रिपाठी, मिथिला शर्मालाई कारबाही गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का लागि युवा नेता आशीष शर्मालाई उम्मेदवार बनाउन सिफारिस गरेर एकल नाम पठाएको तर केन्द्रले शर्मालाई टिकट नदिएर अतहर कमाललाई टिकट दिएका कारण आफूहरू बाध्य भई विद्रोहमा उत्रनु परेको नेपाली कांग्रेस क्षेत्र नं. १ क का सभापति दुर्गा बहादुर केसीले बताए ।
प्रतिक्रिया दिनुहोस !