सुदूरपश्चिमबाट चुनावी सभामा निस्कियो रास्वपा
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट चुनानी अभियान सुरु गरेको छ। धनगढीमा बुधबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा चुनावी अभियान सुरु गरेका हुन्।
आमसभामा करिब तीन मिनेटमात्रै सम्बोधन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहले सुदूरपश्चिममा भोट होइन, काम माग्न आएको बताए। ‘रास्वपा तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो, के-के छ काम ? हाम्रो उम्मेदवारहरूलाई र पार्टीका मान्छेहरूलाई लिष्ट दिनु’, बालेनले भने, ‘भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु काम गरेर देखाउँछ रास्वपाले।’
बालेनले विपन्नलाई निःशुल्क शिक्षा र स्वास्थ्य दिने एजेन्डा रास्वपाको रहेको बताए। ‘खल्तीमा पैसा नभएको गरिब विपन्नले निःशुल्क शिक्षा पाउनुपर्यो, त्यो हो रास्वपाको एजेन्डा। खल्तीमा पैसा नभएको गरिब विपन्नले स्वास्थ्य उपचार पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा। दुई वर्षमा नबन्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ ? बाटो बन्नुपर्यो’, बालेनले भने। उनले रास्वपाले कांग्रेस, एमाले, माओवादी हिँड्ने बाटो बनाउने बताए।
धनगढी उपमहानगरपालिका १ मा रहेको सुदूरपश्चिम महोत्सव आयोजना हुने स्थलमा चुनावीसभा आयोजना भएको थियो। बालेनले अरू दलका नेताहरूलाई कटाक्ष गर्दै भने, ‘नेताहरूले स्विटजरल्याण्ड बनाउँछु भन्थे तर स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो
स्विट्जरल्यान्ड ? स्विट्जरल्यान्डभन्दा सुन्दर रामारोसन यहीँ छ, किन बनाउनुपर्यो ? स्विट्जरल्यान्ड।’ खप्तड राष्ट्रिय निकुञ्ज यतै छ, किन बनाउनुपर्यो स्विटजरल्याण्ड ?’, उनले भने।
उनले नेपाली माल भएर चाल नपाएका जस्ता भएको बताए। ‘जब सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा बज्छ अनि मात्रै सुदूरपश्चिम काठमाडौंसँग जोडिन्छ’, उनले भने। बालेनले यसअघि सुदूरपश्चिमको एक्लै भ्रमण गरेका थिए। छोटो सम्बोधनमा उनले सुदूरपश्चिमकै भाषामा भने, ‘सुदूर अब दूर नाई झिक्कैझिक्कै माया, आई लब यू सुदूरपश्चिम।’
चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने बताए। लामिछानेले अब सबैका अलग-अलग सटर बन्द गर्नुपर्ने बताए। पुराना दलको पछि नलाग्न आग्रह गर्दै लामिछानेले भने, ‘सटर बन्द हुन्छ। कि हाम्रो गर्नुस्, कि अरूको गर्नुस्।’
उनले भारतमा रहेका सुदूरपश्चिमेलीलाई चुनावमा भाग लिन आउनसमेत आग्रह गरे। ‘यसपटक जनता जिताउने हो। हामी इतिहास बदल्ने सोचले आएका छौं। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर आएका छौं, यसपटक मत नबाढ्नु होला। यो ऐतिहासिक अवसर हो।’ उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको जिकिर गरे। ‘म खुद्रा-खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु,’ लामिछानेले भने, ‘सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो।’
लामिछानेले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा गर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताए। बाचा जसले गरेको हो सजाय उसैले पाउने हो। जनताले होइन। भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना। मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनु होला देश बदल्नुपर्छ।’
कार्यक्रममा सुदूरपश्चिमबाट प्रत्यक्षतर्फका उमेदवारहरूले पनि मन्तव्य व्यक्त गरेका थिए। पार्टी सभापति लामिछाने मंगलबार नै धनगढी आएका थिए। उनी मंगलबार कञ्चनपुर २ बाट उम्मेदवार दीपक बोहराको क्षेत्रमा बसेका थिए भने बालेन शाह बुधबार बिहान मात्रै धनगढी आएका थिए।
पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै महासंघको विरोध समाचार संकलनका लागि गएका पत्रकारहरू माथि रास्वपा कार्यकर्ताहरूले रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विरोध जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभाको समाचार संकलनका लागि आमसभा स्थलमा पुगेका पत्रकारलाई लगाइएको रोक र दुव्र्यवहारप्रति महासंले आपत्ति जनाएको हो। ‘समाचार संकलनका लागि गएका पत्रकारहरूलाई रास्वपाको पास बिना जान नमिल्ने भन्दै धक्का मुक्कासमेत गरिएको घटना निन्दनीय छ’, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महासंघले प्रदेश भरीका सबै सञ्चारकर्मीहरूलाई पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै कुनै पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा नलाग्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !