भयरहित वातावरणमा निर्वाचन हुनेमा कांग्रेसको आशंका, भन्यो- बिथोल्ने तत्त्व अझै सक्रिय छन्
काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन बिथोल्न अझै पनि प्रयास भइरहेको बताएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले भयरहित निर्वाचन हुनेमा शंका व्यक्त गरे।
'निर्वाचनलाई भयरहित र सदभावपूर्ण वातावरणमा हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास देखिएको छ,' उनले भने।
कांग्रेसले भने भयको राजनीति नगर्ने उनको भनाइ छ। प्रवक्ता चालिसेले कांग्रेस अनेक संघर्ष गरेर यहाँसम्म आइपुगेकाले अरुलाई पनि भयको राजनीतिक गर्न नदिने स्पष्ट पारे।
उनले सरकारलाई पनि भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन ध्यानाकर्षण गराए। 'जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट नगरियोस्। त्यस्ता काम अन्य पार्टीबाट पनि नहोस् भन्ने चाहन्छौं,' उनले भने।
उनले अरु पार्टीको झण्डा जलाउने काम पनि निन्दनीय भएको बताए। 'यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्छ। त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,' उनले भने।
प्रवक्ता चालिसेले बदलिएको कांग्रेसप्रति अहिले लहर देखिएको र त्यसलाई धेरैले स्वागत गरिरहेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !