देउवाका लागि अन्तिम अवसर

देउवाका लागि अन्तिम अवसर
फाइल तस्बिर
सुन्नुहोस्

नेपाली राजनीतिमा अहिले व्यक्तिको आलोचना गर्ने प्रवृत्ति हावी भएको छ। ती आलोचना सही पनि हुनसक्छन्, अथवा आफूलाई अब्बल देखाउनका लागि अरूलाई गाली गरिएको पनि हुनसक्छ। यी दुई कारणले राजनीतिक नेतृत्वप्रति लगातार गाली हुँदै आएको पाइन्छ। यसरी विगतका कमजोरी खोज्दै त्यसको आधारमा अत्यधिक गाली खाने पात्रमध्यमा पर्दछन्– ‘नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा। उनी अरूभन्दा फरक ढंगले गालीको सामना गर्नसमेत बाध्य छन्। आफ्ना कमजोरी अनि  श्रीमती डा.आरजु राणा कमजोरी गरी दुई कारणले निकै आलोचनाका शिकार भइरहेका छन्। चुनावको मुखमा उपचारका लागि सिंगापुर उडेपछि उनी फेरि चर्चामा छन्।’ 

यिनै देउवाले अहिले फेरि केही गल्ती गरे भने उनको आगामी दिन झनै आलोचनामय हुनेछन्। यहाँ देउवाका विगतका गल्ती कमजोरी केन्द्रित चर्चा गरिने छैन। राजनीतिमा जतिसुकै ठूलो नेताले पनि निर्णय गर्दा आफ्नो वरपरका साथीभाइ र सहकर्मीहरूको सुझावलाई आधार मान्ने गर्छन्। देउवाको हकमा पनि त्यो कुरा लागू हुन्छ नै। तर, पनि कतिपय समय यस्तो आउँछ, जुन बेला आफ्नो विवेकभन्दा ठूलो कुरा केहीलाई नठानेर निर्मम बनेर निर्णयमा पुग्नुपर्ने हुन्छ। देउवाका लागि आज त्यस्तै समय आएको छ। 

कांग्रेसभित्रको उथलपुथल र नयाँ पुस्ताको नाममा देखिएको ‘आक्रामक अग्रसरता’ले देउवालाई पक्कै नै दुःखी तुल्याएको छ। यो कुरामा कसैले विमती राख्न जरुरी छैन। तर, आफ्नो मनको दुःखलाई हटाउने र त्यसलाई बिर्सेर अगाडि बढ्नका लागि विवेकपूर्ण निर्णयभन्दा ठूलो केही पनि हुनसक्दैन। यो निर्वाचनमा देउवाले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई सहयोग गर्लान कि असहयोग ?  यो प्रश्न अहिले कांग्रेसभित्र मात्रै हैन, आम जनमानसले अत्यन्त सचेततापूर्वक हेरिरहेको विषय हो। 

देउवा स्वयंलाई यो जानकारी छ कि छैन भन्ने कुरा उनलाई नै थाहा होला, तर ठूलो मतदातासंख्या यो कुरा पर्खेर बसेको छ। उनीहरूलाई सम्बोधन गर्ने देउवाको दायित्व हुन्छ। जुन पार्टीले डडेलधुराको रुवाखेलाबाट देशको प्रमुख कार्यकारीको हैसियत र संसारले नाम लिने नेताहरूको सूचीमा पुर्‍यायो, त्यो पार्टीलाई जीवनको उत्तरार्धमा असहयोग गर्दा देउवाका लागि त्यो कुनै पनि कोणले उचित पुष्टि गर्न सक्ने विषय हुँदैन। 

हो, देउवा स्वयम्ले अब सभापति नहुने कुरा घोषणा गरिसकेका थिए। बहिर्गमनको बाटो रोजेका नेतालाई ‘अपमानपूर्वक’ हटाइयो यो दुःखद हो भन्ने मत पनि कार्यकर्तापंक्तिमा छ। तर, त्यो मत राख्ने पंक्तिले पनि देउवाले यो अवस्था आउँदैमा कांग्रेसप्रति उनको निश्क्रियता मनपराइरहेका छैनन्। 

अदालतमा रहेका कांग्रेससम्बन्धित मुद्दाको निर्णय नहुन्जेल पनि उनलाई मौन बस्ने छुट छैन। उनले मौनता तोड्नपर्छ भन्ने अपेक्षा गरेको ठूलो पंक्तिले देउवाले कांग्रेसलाई असहयोग गर्ने गरी बोले वा मौन बसिरहे भने पनि कांग्रेसको पक्षमा आफूलाई उभ्याउने निश्चित छ। किनभने उनीहरू पनि पार्टीभित्रको आफ्नो संभावनालाई स्वाभाविक रूपमा जीवित राख्न चाहन्छन्। त्यो पंक्तिले देउवासँग यत्ति धेरै अपेक्षा गर्नुको कारण पनि पार्टीभित्रको राजनीतिक संरक्षणका लागि नै थियो र अहिले पनि त्यही नै हो। 

संरक्षण दिन नसक्ने हैसियत बनाउने बाटोमा देउवा जाँदै गर्दा संभावनाको पर्खाइमा रहेको त्यो पंक्ति देउवा सँगै रहला भन्ने कुरा पूर्णरूपमा असंभव छ, यो कुरा देउवाले बुझ्न सक्नुपर्दछ। यो कुरा नबुझेर देउवा उपचारका नाममा सिंगापुरमै बसिरहे र मतदान गर्नसमेत आएनन् भने उनी भोलीका दिनमा पनि सबैभन्दा आलोचनाका पात्रका रुपमा रहनेछन्। 

त्यसो त, यो बीचमा देउवाले केही सकारात्मक भूमिका पनि खेलेका छन्। गगन थापालाई सभापति मानेर टिकट नलिने र देशका १६५ स्थानमानै स्वतन्त्र उम्मेदवार उठाउने सन्दर्भको छलफल देउवा निवासमा भएकै थियो। देउवाले यो कुराले ‘पार्टी फुट्ने र त्यसको अपजस आफ्नो समूहलाई लाग्ने’ तर्क गर्दै त्यसो नगर्न आफू निकटलाई कडा निर्देशन दिएका थिए। त्यतिमात्रै हैन, त्यो बेलामा उनले अदालतमा रहेको मुद्दा फिर्ता लिन पनि ‘निर्देशन’ दिएका थिए। 

देउवाको ‘बुरी–हाल’ मा उनका निकटस्थहरूले उनको ‘निर्देशन’ समेत मानेनन्। देउवाको यो भूमिका अहिले चर्चामा किन ल्याइएको छैन ? सबैभन्दा रहस्यको कुरा यो छ। कांग्रेसको पक्षमा खुलेर मतमाग्ने कुरा पनि सो ‘निर्देश’को अवज्ञा गर्नेहरूले नै रोकेर राखेका छन् कि ? यो कुरा पक्कै सार्वजनिक हुन्छ नै होला। तर, देउवाले भनेको नमानेर उनलाई मौन राखिराख्ने अनि आफ्नो स्वार्थ पूरा गर्दै देउवालाई भोलिका लागि पनि आलोचनाका पात्रका रूपमा स्थापित गरिदिने आसेपासेलाई देउवाले चिन्न सकेनन् भने त्यो उनको अर्को महाभुल हुनेछ। 

भोलि देउवाका मान्छेले रूखमा भोट नहालेका कारण कांग्रेस अनपेक्षित रूपमा पराजित हुनुपर्‍यो भन्ने विश्लेषण गर्ने अवस्था आयो भने त्यो पक्ष न त खुसी हुन पाउँछ, न त दुःख मनाउ गर्ने नैतिक हैसियत नै रहन्छ। आम आफू निकटलाई यति ठूलो बिलखबन्दमा पार्ने छुट देउवालाई छँदैछैन। 

पार्टीभित्र ‘आक्रामक अग्रसरता’ लिँदै नेतृत्वमा पुगेकाहरूले देउवा साच्चिकै मौन हुन् कि उनलाई मौनता तोड्न नदिइएको हो भन्ने कुराको मेसो पाउनसक्नुपर्छ। यो कुरामा यो पक्ष नै मौन भएको त हैन ?  यदि हो भने यो मौनता पनि पार्टीको भविष्यका लागि देउवाको मौनताको बराबरी नै दोषी हुनेछ। देउवाको ‘फेस’ बिक्छ कि बिक्दैन भनेर हेरेर मात्र नेतृत्वलाई पुग्दैन, नेतृत्वको मनको कुरा बुझेर सम्मानित र स्वाभाविक बहिर्गमनका लागि वातावरण बनाउने काम पनि नयाँ नेतृत्वको हो। 

नेपालमा गणतन्त्रलाई स्वागत गर्दैगर्दा तत्कालीन राजा ज्ञानेन्द्रलाई समेत पत्रकार सम्मेलन गरेर सहज बहिर्गमनका लागि वातावरण बनाउन सक्ने कांग्रेसले आफ्नै निवर्तमान सभापतिलाई पनि त्यस्तै मार्ग देखाउन सक्छ। तर, यो गर्न चाहन्छ कि चाहँदैन? इतिहासले पक्कै यो कुराको समीक्षा  गर्ने छ। 

विश्वास गरौं, देउवाले भविष्यमा समेत आफूलाई सर्वाधिक आलोचनाका पात्र बनाउन चाहने छैनन्, कुनै बहानाबाजी नगरेर सिंगापुरबाट चाँडै फर्कने छन्। आफ्नो खुनपसिना बगेको शक्तिलाई देशमा सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्न भूमिका खेल्नेछन्। यो भूमिका खेल्दा पार्टीलाई कहीँ कतै घाटानै हुन्छ भन्ने लाग्यो भने वर्तमान नेतृत्वसँग संवाद गरेर आफ्नो सीमा आफैं तय गर्दै उचित 
निर्णय लिनेछन्। 

तर, मौन बस्ने छैनन्। यसो गरे भने उनीलाई साथ दिने सबै कार्यकर्ताहरूको राजनीतिक भविष्यप्रति उनी गैरजिम्मेबार भएको समेत ठानिने, मानिने छ। यो निर्वाचनको क्षण आफूप्रतिका तमाम आलोचनालाई बिर्साउने गरी सबैको माया र सम्मान प्राप्त गर्दै राजनीतिबाट बहिर्गमन हुन देउवाका लागि अन्तिम अवसर हो। त्यसैगरी वर्तमान नेतृत्वले पनि जसरी ‘सबै अट्ने देश, सबैलाई जोड्न कांग्रेस’ भन्ने नाराको सार्थकता खोज्दै त्यो ‘सबै’ भित्र आफ्ना निवर्तमान सभापति शेरबहादुर देउवा पनि पर्छन् भन्ने कुराको हेक्का राख्ने छ। 
(पोख्रेल नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन्।) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.