अफगान तालिबान-पाकिस्तान द्वन्द्वले चीनलाई चिन्ता
काठमाडौं : अफगान तालिबान र पाकिस्तानबीच जारी सैन्य तनावबारे चीनले प्रतिक्रिया दिएको छ। चीनले दुवै पक्षलाई वार्तामार्फत मतभेद अन्त्य गर्न आग्रह गरेको छ। बीबीसी उर्दूका अनुसार चीनको विदेश मन्त्रालयले अफगानिस्तान-पाकिस्तान सीमामा बढ्दो तनावप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ।
विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, 'वार्ता र समझदारीमार्फत मतभेद तथा विवाद अन्त्य गरिनुपर्छ।' मन्त्रालयले चीनले आफ्ना तर्फबाट यस विवादमा मध्यस्थता गर्ने प्रयास गरिरहेको पनि जनाएको छ। 'तनाव कम गर्न र आपसी सम्बन्ध सुधार्न चीन भूमिका निर्वाह गर्न तयार छ,' वक्तव्यमा उल्लेख छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, 'छिमेकी र मित्र राष्ट्रका रूपमा चीन यो तनावप्रति अत्यन्त चिन्तित छ। यस संघर्षमा मानिसहरूको ज्यान गएकोमा दुःख व्यक्त गर्दछौं। यदि अवस्था थप बिग्रियो भने दुवै पक्षलाई नोक्सान हुनेछ।'
वक्तव्यमा शत्रुता अन्त्य गर्नु “दुवै देश र त्यहाँका जनताको आधारभूत हितमा रहेको” र यसले क्षेत्रीय शान्ति तथा स्थायित्व कायम राख्न सहयोग पुग्ने पनि उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !