अली खामेनेईको निधनपछि अन्तरिम परिषद्मा अलीरेजा अराफी चयन
काठमाडौं : इरानमा आयतुल्लाह अलीरेजा अराफीलाई गार्जियन काउन्सिलको न्यायविद् (जुरिस्ट) पदमा चयन गरिएको छ। यो चयन अन्तरिम नेतृत्व परिषद्का लागि गरिएको हो।
बीबीसी पर्शियनका अनुसार ‘एक्सपिडिएन्सी डिसर्नमेन्ट काउन्सिल’का प्रवक्ता मोहसिन देहनवीले आयतुल्लाह अलीरेजा अराफी चयन भएको पुष्टि गरेका छन्।
इरानका सर्वोच्च नेता अली खामेनेईको निधन भएपछि अहिले अन्तरिम नेतृत्व परिषद् गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त परिषद्मा राष्ट्रपति, न्यायपालिकाका प्रमुख तथा गार्जियन काउन्सिलबाट चयन गरिएको एक न्यायविद् सदस्य रहने व्यवस्था छ।
बीबीसी उर्दूका अनुसार इरानको संविधानको धारा १११ मा उल्लेख भएअनुसार 'यदि सर्वोच्च नेताको मृत्यु भएमा, उनले राजीनामा दिएमा वा पदबाट हटाइएमा, देशका राष्ट्रपति, न्यायपालिकाका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्नेछन्।' खामेनेई अमेरिका र इजरायलको संयुक्त हमलामा मारिएको दाबी गरिएको छ। इरानको सरकारी सञ्चारमाध्यमले खामेनेईको निधनको पुष्टि गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !