नयाँ बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं : काठमाडौं महानगरपालिका–३१, मिनभवनस्थित सिभिल अस्पताल अगाडिको सडक खण्डमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ०८:४५ बजेतिर बिजुलीबजारबाट तिनकुनेतर्फ आइरहेको बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्र. ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरलाई ठक्कर दिएको हो।
स्कुटर चालक सुनसरी इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइराला रहेको खुलेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। बिहान ०८:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
टिपर चालक गोरखा भुमिचोक स्थायी घर भई हाल काठमाडौं पेप्सीकोलामा बस्ने २६ वर्षीय विकास थापा मगर रहेका छन्। घटनापछि चालक थापा र सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !