मध्यपूर्वी क्षेत्रको तनावले ग्यास र तेलको मूल्य ह्वात्तै बढ्यो, महँगी आकाशिँदै
काठमाडौं : इरानका एक उच्च अधिकारीले रणनीतिक जलमार्ग स्ट्रेट अफ हार्मुजबाट आवत-जावत गर्ने जहाजहरूलाई 'आगो लगाइदिने' चेतावनीपछि ग्यास र तेलको मूल्य ह्वात्तै बढेको छ।
इरान, अमेरिका र इजरायलबीचको तनाव जारी रहँदा बेलायतमा ग्यासको मूल्य ४६ प्रतिशत बढीले उकालो लागेको हो। यो मूल्य तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको हो। कच्चा तेलको अन्तर्राष्ट्रिय सूचक ब्रेन्ट क्रुडको मूल्य ५ प्रतिशतले बढेर प्रतिब्यारेल ८१ डलर नाघेको छ।
तेलको मूल्य बढ्दा सेयर बजार भने घटेको छ। बेलायतको प्रमुख सेयर सूचक २.६ प्रतिशतले घटेको छ। त्यस्तै जर्मनीको ३.६ प्रतिशत र फ्रान्सको २.९ प्रतिशतले सेयर घटेको छ।
लगानीकर्ताहरूले यस द्वन्द्वले विश्व अर्थतन्त्रमा पार्ने असरबारे मूल्याङ्कन गरिरहेका छन्। विशेषतः मुद्रास्फीति र ब्याजदरमा पर्ने सम्भावित प्रभावबारे चिन्ता बढेको बताइएको छ।
चार वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जा मूल्य बढेको थियो। अहिले त्यही अवस्था दोहोरिने आशंका व्यक्त गरिएको छ। बेलायतमा मंगलबार ग्यासको मूल्य १६५ पेन्स प्रति थर्म नाघेको थियो, जुन युक्रेन युद्ध सुरु भएको एक वर्षपछि देखिएको स्तरसँग मिल्दोजुल्दो हो। दिउँसोसम्म भने मूल्य घटेर १४६ पेन्स प्रति थर्ममा झरेको थियो।
विश्वकै ठूलो ऊर्जा निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामाथि ‘सैन्य आक्रमण’ भएपछि उत्पादन रोकेको जनाएको छ। त्यसपछि उसले एल्युमिनियम, मेथानोल र मल बनाउन प्रयोग हुने युरिया उत्पादन पनि बन्द गर्ने घोषणा गरेको छ।
शनिबार अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेयता बेलायतमा ग्यासको मूल्य दोब्बर भइसकेको छ। बेलायतमा जुलाईसम्म मूल्य सीमा (प्राइस क्याप) लागू भएकाले तत्काल घरायसी ऊर्जा बिलमा असर देखिने छैन।
तेलको मूल्य ग्यासजत्तिकै तीव्र रूपमा नबढे पनि कच्चा तेलको आपूर्ति विविध स्रोतबाट सम्भव भएकाले केही लचकता रहेको बताइएको छ। तर, तेल महँगिएसँगै इन्धन, यातायात र खाद्य वस्तुको मूल्य बढ्ने सम्भावना छ।
विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हार्मुज हुँदै विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुन्छ। तर, पछिल्ला दिनहरूमा केही जहाजमाथि आक्रमण भएपछि यातायात अवरुद्ध भएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी)का कमान्डरका सल्लाहकार इब्राहिम जब्बारीले राज्य टेलिभिजनसँग कुरा गर्दै जहाजहरूलाई 'यस क्षेत्रमा नआउन' चेतावनी दिएका छन्।
यस तनावका कारण तेल ढुवानी खर्च पनि बढेको छ। लन्डन स्टक एक्सचेन्ज ग्रुपका अनुसार मध्यपूर्वबाट चीनसम्म तेल बोक्ने सुपरट्यांकर भाडा सोमबार प्रतिदिन ४ लाख डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो साताभन्दा झण्डै दोब्बर हो।
लजिस्टिक्स प्रविधि कम्पनी फ्लेक्सपोर्टका अध्यक्ष सान्ने म्यान्डर्सले उक्त जलमार्ग प्रभावकारी रूपमा बन्द भएको बताएका छन्। उनले बीबीसीसँग कुरा गर्दै बीमा कम्पनीहरूले जोखिम लिन नचाहेकाले पनि समस्या बढेको बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मध्यपूर्वको तनावले महँगी बढाउन सक्ने चिन्ता बढेको छ। उनले यस विषयमा छलफल गर्न अर्थमन्त्री स्कट बेसन्ट र ऊर्जा मन्त्री क्रिस राइटसँग भेट गर्ने कार्यक्रम रहेको छ।
जोखिम अनुसन्धान संस्था एभेलोन इन्टेलिजेन्सका श्रीनिवासन बालकृष्णनका अनुसार मध्यपूर्वी क्षेत्रको तनाव लामो समयसम्म रह्यो भने कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्न सक्छ। त्यसो भए अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन २५ सेन्टसम्म बढ्नसक्ने अनुमान गरिएको छ।
एशियाली सेयर बजारमा पनि मध्यपूर्वी क्षेत्रको तनावमा ठूलो गिरावट देखिएको छ।
बीबीसीबाट साभार
प्रतिक्रिया दिनुहोस !