चुनावका लागि राजधानीबाट छुट्यो लर्को
काठमाडौं : आवधिक निर्वाचन भएको भए मुलुकमा अबको २ वर्षपछि मात्रै चुनाव हुने थियो। तर, गएको भदौ २३–२४ को युवा विद्रोहले मुलुकलाई समय अगावै चुनावमा होमिदिएको छ। नयाँ राजनीतिक दलको आक्रामक प्रचारका कारण पनि बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनको चासो सर्वत्र छ।
विद्रोहको बलमा भएको निर्वाचन आम चासोको विषय भएकाले विगतभन्दा मतदान गर्नेहरूको स्वतस्फुर्त सक्रियता देखिन्छ। निर्वाचनमा सहभागी हुनका लागि मुलुकको संघीय राजधानीबाट जिल्ला जानेहरूको संख्या उल्लेख्य छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्वाचनमा भोट हाल्न यसैसाता ८ लाख बढीले उपत्यका छोडेका छन्।
भोट हाल्न गाउँ जानेको लर्को लागेको छ। उपत्यकाका ४ भन्ज्याङबाट चारपांग्रे निजी, सार्वजनिक यातायात, ट्रकलगायतका सवारी साधनबाट हालसम्म ८ लाख ३ हजार ७ सय ८३ यात्रुले उपत्यका छोडेका छन्। फागुन १ गतेदेखि १८ गतेसम्म नागढुंगा, साँगा, फर्पिङ र चापागाउँबाट उपत्यका छोडेका हुन्।
निजी कार, माइक्रो, टाटासुमो, ईभी यातायात र ट्रक गरी करिब १ लाख ३३ हजार ६ सय १५ सार्वजनिक सवारीले उपत्यका छोडेका छन्। पछिल्लो समय उपत्यका छोड्ने यात्रुको संख्या बढेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। ‘सवारी र यात्रु बाहिरिएसँगै उपत्यकाका सडकमा ट्राफिक चाप पनि घटेको छ,’ एसएसपी अधिकारी भन्छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार ५३ हजार ३ सय ७१ र सोमबार ३६ हजार ३ सय ४३ यात्रुले उपत्यका छोडेका छन्। सडक मार्गबाट उपत्यका छोड्ने प्रमुख नाका नागढुंगा हो। फागुन १ देखि यस नाकाबाट मात्रै ४ लाख ६६ हजारले उपत्यका छोडेका छन्। यस नाकाबाट ५० हजार १ सय ६२ सवारी बाहिरिएका छन्।
लामोदूरीका सार्वजनिक यातायातमा १५ फागुनबाट यात्रुको चाप बढेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्। निर्वाचन र होली बिदाका कारण लगातार ७ दिन छुट्टी भएपछि मतदान गर्न जानेलाई समय सहजता भएको छ। ‘उपत्यका छोड्ने संख्या अपेक्षा गरेभन्दा धेरै भएको छ,’ उनले भने।
- नयाँ राजनीतिक दलको आक्रामक प्रचारका कारण पनि बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनको चासो बढ्दा मतदातालाई घरतिर डोहोर्याइरहेको छ।
- नागढुंगा, सागा, फर्पिङ र चापागाउँ मुख्य नाकाबाट फागुन १ देखि १८ गतेसम्म ८ लाख ३ हजार ७ सय ८३ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
- निजी र सार्वजनिक गरी १ लाख ३३ हजारभन्दा बढी सवारी उपत्यका छाडेका छन्। यात्रु बाहिरिएसँगै सडकमा ट्राफिक चाप घटेको छ।
- आन्तरिक उडान ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्। दैनिक करिब २५ सय बढी यात्रु हवाईमार्गबाट बाहिरिरहेका छन्।
बुधबार राति १२ बजेबाट सार्वजनिक यातायात सञ्चालन गर्न नपाउने हुँदा बुधबार लामोभन्दा पनि छोटो दूरीका यात्रा बढी हुने उनले जानकारी दिए।
देशका पहाडी, हिमाली र तराईका क्षेत्रहरूमा सार्वजनिक यातायातका सेवाहरू सञ्चालन भइरहेका छन्।
पछिल्लो तथ्यांकअनुसार यात्रुवाहक र मालवाहक गरी ४ लाखभन्दा बढी कुल सार्वजनिक सवारी साधन छन्। जसमा लामो दूरीमा चल्ने (संघीय रुटमा चल्ने) सवारी साधनहरू १ लाखभन्दा बढी नै भएको महासंघको तथ्यांक छ। नेपालमा ८० देखि ९० हजार लामो दूरीका यात्रुवाहक र ६० देखि ७० हजार मालवाहक सवारी साधन छन्।
सरकारले १८ गते राति १२ बजेदेखि सबै भन्सार नाकाहरू बन्द हुने जानकारी दिएको छ। नेपाल–भारत मैत्री सेवा पनि १८ गते रातिदेखि नै बन्द हुन्छ। आन्तरिक यातायात भने २० गते राति १२ बजेदेखि २१ गतेका लागि (निर्वाचनको दिन) बन्द हुन्छ।
हवाई यात्रामा पनि चाप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यका छोड्ने क्रम केही बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला आन्तरिक हवाईमा साविकको भन्दा चाप केही बढेको जानकारी दिए। ‘आन्तरिक उडानतर्फ साविकको समयमा आउने र जाने यात्रुको संख्या बराबर नै हुने गरेको छ। तर, अहिले दैनिक करिब २५ सय बढीले हवाइ मार्गबाट उपत्यका छोडिरहेका छन्,’ सिटौलाले अन्नपूर्णसँग भने।
निर्वाचनका कारण यात्रुको चहलपहल बढ्दा आन्तरिक उडान करिब ९० प्रतिशत क्षमतामा उडिरहेका छन्। सिटौलाका अनुसार अहिले त्रिभुवन विमानस्थल आउनेको संख्या दैनिक करिब ४५ सय हुँदा उपत्यका छोड्नेको संख्या करिब ७ हजार पुगेको छ। दसैंको जस्तो भिडभाड भने नभएको उनको भनाइ छ। अमेरिका–इरान युद्ध हुनु अघि विदेशबाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको थियो। 
अहिले त्यसमा उच्च गिरावट आएको उनको भनाइ छ। आइतबार आउने र जाने गरी करिब २ सय ९३ र सोमबार २ सय ७१ आन्तरिक उडान भएका छन्। सामान्यता आन्तरिक उडान (अवतरण र उडान) करिब २ सय ५० हुने गरेको विमानस्थल बताउँछ। निर्वाचनको दिन पनि विमानस्थल खुला हुने भएकाले आन्तरिक तथा बाह्य उडान हुने सिटौलाले बताए।
विदेश जानेहरू काठमाडौंमै रोकिए
अमेरिका/इजरायल–इरानबीचको युद्धले विशेषत मध्यपूर्वी एसिया उडान शनिबारबाट नै प्रभावित भएका छन्। आइतबारबाट यी देशका उडान अनिश्चित छन्।
द्वन्द्वका कारण कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन गरी ९ देशले आफ्नो एयरस्पेस (हवाई क्षेत्र) प्रतिबन्ध गरेका छन्। ९ देश गरिएको हवाई क्षेत्रको प्रतिबन्ध कारण नेपालबाट ती देशहरूमा हुने उडान प्रायः रद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर (अन्तर्राष्ट्रिय उडान भारतको बनारस) र बाँकी २७ अन्तर्राष्ट्रिय वायु कम्पनीले नेपालबाट बाह्य मुलुकमा उडान भर्दै आएका छन्।
नेपालबाट मध्यपूर्वी क्षेत्रमा दैनिक करिब १८ अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्। अन्तर्राष्ट्रिय उडानमा पनि मध्यपूर्वी क्षेत्रका उडान रद्द हुँदा दैनिक करिब ५ हजार यात्रु नेपालमा नै रोकिएको प्राधिकरण बताउँछ। ‘ती यात्रुको व्यवस्थापनका लागि सम्बन्धित एयरलाइन्स कम्पनीलाई प्राधिकरणले भनिसकेको छ,’ उनले भने।
प्राधिकरणको सूचनाअनुसार जजिरा (१ उडान), कुवेत (२ उडान), एयर अरेबिया (३ उडान), फ्लाइ दुबई (२ उडान), नेपाल एयरलाइन्स (१ उडान) , कतार (३ उडान) र हिमालय एयरलाइन्स (२ उडान)को उडान मंगलबार पनि रद्द भएका छन्। नेपाली आकाशमा कुनै प्रतिबन्ध नभए पनि अमेरिका र इरानमा भएको तनावले गर्दा अरू देशहरूले आफ्नो सुरक्षाको लागि आकाश बन्द गरेका छन्।
मध्यपूर्वी क्षेत्रका उडान भन्दा हुँदा त्रिभुवन विमानस्थलको बाह्य उडान निकै कम भएको छ। दैनिक आउने र जाने गरी १ सयभन्दा माथि बाह्य उडान हुने गरेकोमा अहिले करिब ७५ उडानमा सिमित भएको छ। युद्द चर्किएसँगै मध्यपूर्वी क्षेत्रको उडान कहिले नियमित हुने भन्न नसकिने विमानस्थलका निमित्त महाप्रबन्धक सिटौला बताउँछन्।
प्रतिक्रिया दिनुहोस !