निर्वाचनका दिन विशेष स्वास्थ्य तयारी
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष स्वास्थ्य तयारी गरेको छ ।मतदानका दिन बिहीबार हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या, भिडभाडका कारण उत्पन्न जटिलता तथा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै अस्पतालले ९ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीका अनुसार टोलीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मीहरू समेटिएका छन् । वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. यज्ञराज खरेलको संयोजकत्वमा गठन गरिएको टोलीमा डा. मञ्जु यादव, डा. रवि बास्ताकोटी, डा. नवीन सुवेदी, डा. दिवसराज भण्डारी, डा. शन्निकुमार सोनी, डा. पुरनचन साह तथा कर्मचारी बद्री बस्नेत र अमित झा सदस्य रहेका छन् । निर्वाचनका दिन मतदान केन्द्रहरूमा लामो समय लाइनमा बस्नुपर्ने अवस्था आउन सक्छ ।
उच्च रक्तचाप, मधुमेह वा मुटुसम्बन्धी समस्या भएका मतदातालाई असहजता हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर अस्पतालले आपतकालीन कक्षमा अतिरिक्त जनशक्ति खटाएको जनाएको छ । सडक दुर्घटना, लडेर घाइते हुने वा अन्य आकस्मिक घटनाको उपचारका लागि आवश्यक औषधि, अक्सिजन, इमर्जेन्सी बेड र शल्यक्रिया कक्ष तयारी अवस्थामा राखिएको छ ।
अस्पताल प्रशासनका अनुसार टोली २४सै घण्टा सक्रिय रहनेछ र आवश्यकता परे नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरिनेछ । डा. खरेलले कुनै पनि स्वास्थ्य समस्या देखिए ढिलाइ नगरी अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक अभ्यासलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य सेवा चुस्त राखिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !