नुवाकोट : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । धमाधम मतदान केन्द्रका संरचना निर्माण कार्य भइरहेको छ ।
नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमा कायम गरिएका एक अस्थायीसहित दुई सय ९४ वटै मतदान केन्द्रका लागि मतपत्रसहितका आवस्यक निर्वाचन सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटले जनाएको छ । मतदान केन्द्रमा वार लगाउनेलगायतका कार्य धमाधम भइरहेका छन् ।
सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर सम्वन्धि केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदानका लागि चाहिने भौतिक संरचना तयार गर्ने कार्य भइरहेको छ ।
आचार्यले अगाडि भने, ‘नुवाकोटमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहतिका कर्मचारीहरु मतपत्रसहितका सामग्री लिएर सुरक्षित साथ मतदान केन्द्रमा पुगिसकेका छन् ।’ ‘नुवाकोटमा शान्ति, सुरक्षालगायत केही समस्या छैन । अब मतदान, मतदान पश्चात मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ’, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने ।
विदुर नगरपालिका–२ नागटारीस्थित कभर्ड हल मतदान केन्द्रका मतदान अधिकृत प्रदीपनाथ शर्माले आफूहरु मंगलबारदेखि नै सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा आइपुगेको बताए । उनले सर्वपक्षीय वैठक राखेर आवस्यक तयारी समेत गरिसकेको बताए ।
आफ्नो केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीहरु निर्वाचन गराउन उच्च मनोबलका साथ उत्साहित भएर मतदान केन्द्रको संरचना निर्माणमा लागिरहेको बताए । ‘निर्वाचनलाई लिएर हामी उत्साहित छौँ, कर्मचारी र सुरक्षाकर्मीको हाम्रो टोली मतदान केन्द्रमा छौँ ।’ ‘मतदान बुधबार पनि बाँकी कार्यहरु मतदान केन्द्रमा गर्नुपर्ने सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गर्छौ’, शर्माले भने । मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।
निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी रहेका छन् । जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहने छन् । नुवाकोटमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । क्षेत्र नं. १ मा एकलाख २३ हजार नौसय २९ र क्षेत्र नं. २ मा एकलाख २३ हजार नौसय ३९ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !