महोत्तरीमा मदिरा बरामद
महोत्तरी : महोत्तरीको भंगहा नगरपालिका–५ ढकिया टोलस्थित एक इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टका अनुसार इँटाभट्टामा लुकाइछिपाइ राखेको अवस्थामा अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन, ब्ल्याक ओके १७ बोत्तल मदिराजन्य पदार्थ बरामद भएको हो ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले फाल्गुन १४ गतेदेखि नै मदिरा बिक्री–वितरण तथा सेवन कार्यमा प्रतिबन्ध लगाएको छ । ‘अहिले चुनावलाई लक्षित गरेर मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको छ ।
मतदानको पूर्व सन्ध्यामा ठूलो मात्रामा मदिराजन्य पदार्थ भेटिएकोले हामीले जफत गरेका हौ । इँटाभट्टामा २५० जनाभन्दा बढी मजदुर रहेको छ । त्यहाँ कुनै पार्टीको झण्डा अथवा पर्चा पम्प्लेट भेटिएन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । बरामद गरिएको मदिराजन्य पदार्थ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !