अमेरिकाले इरानमा पठाउँला ‘बुट्स अन द ग्राउन्ड’ ?
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी ‘बुट्स अन द ग्राउन्ड’ पठाउने सम्भावनाबारे सहज रूपमा टिप्पणी गर्दा उनले लामो समयदेखि कायम रहेको राष्ट्रपतीय परम्परालाई चुनौती दिएका छन् । ‘हरेक राष्ट्रपतिले भन्छन्, ‘जमिनमा बुट्स हुने छैनन् ।’ म त्यसो भन्दिनँ’, ट्रम्पले अमेरिका–इजरायलबीच इरानमाथि भइरहेको हमलाका बीच घोषणा गरे ।
तर वासिङ्टनबाट आएको कडा राजनीतिक अभिव्यक्तिले ठूलो युद्धको संकेत गरे पनि सैन्य विज्ञहरू भन्छन् कि इरानको कठिन भू–भागमा वास्तविकता पारम्परिक आक्रमणभन्दा फरक देखिने छ । सैन्य तथा रणनीतिक विश्लेषक कर्नेल निदाल अबु जेदले अल जजीरासँग कुरा गर्दै भने कि अमेरिका ट्यांक र ठूलो संख्यामा पैदल सेना प्रयोग गरेर परम्परागत भू–आक्रमण गर्ने सोचमा छैन, बरु फरक प्रकारको युद्ध रणनीति अपनाउन सक्छ ।
‘बुट्स अन द ग्राउन्ड’ बनाम ‘पिक–अप’ अपरेसन
अमेरिकी रक्षा सचिव पीट हेगसेथले पेन्टागनको पत्रकार सम्मेलनमा अहिले इरानभित्र अमेरिकी सेना नभएको पुष्टि गरे, तर विकल्प खुला रहेको संकेत दिए । ‘त्यहाँ २ लाख सेना पठाएर २० वर्ष बस्नु पर्ने छैन’, उनले भने । अबु जेदका अनुसार, हेगसेथ र ट्रम्पका टिप्पणीहरू सैन्य रूपमा ‘पिक–अप’ वा चयनात्मक अपरेसनसँग मेल खान्छन् । यसमा विशेष बलहरू सीमित स्थानमा प्रवेश गरी लक्षित तोडफोड वा गुप्तचर कार्य सम्पन्न गरेर छिटो फर्किन्छन् ।
उनका अनुसार, इरानको जटिल भू–राजनीतिक अवस्था, दुर्गम भूगोल र घना जनसंख्याका कारण भू–क्षेत्र कब्जा गर्ने परम्परागत आक्रमण व्यवहार्य छैन । इजरायलले पनि पहिले इरानमा भू–कारबाही अव्यवहारिक भएको बताएको थियो ।
आणविक बहाना र बदलिँदो समयरेखा
ट्रम्पले जिनेभामा भएको अन्तिम वार्ता असफल भएपछि संयुक्त अमेरिका–इजरायल आक्रमण सुरु गरिएको बताए । उनका अनुसार, इरानले गोप्य रूपमा आफ्नो आणविक संवर्धन कार्यक्रम नयाँ स्थानमा सार्दै गरेको सूचनाले आक्रमणको ट्रिगर दियो । गत जुनमा ट्रम्पले ‘अपरेशन मिडनाइट ह्यामर’ नामक हमलाले इरानका ज्ञात आणविक केन्द्रहरू ‘ध्वस्त’ पारेको दाबी गरेका थिए । तर पछि नयाँ स्थानमा सम्वद्र्धन भइरहेको थाहा पाएपछि कारबाही आवश्यक भएको उनले बताए ।
ट्रम्पले युद्ध ‘तालिकाभन्दा धेरै अगाडि’ रहेको बताए । सुरुमा चार हप्तासम्म चल्ने अनुमान गरिएको युद्धमा नेतृत्व संरचना समाप्त गर्ने लक्ष्य एकै दिनमा पूरा भएको उनले दाबी गरे ।
तर अबु जेदका अनुसार चार हप्ताको समय सीमा केवल सैन्य होइन, अमेरिकी घरेलु कानुनसँग पनि सम्बन्धित छ । अमेरिकी संविधानअनुसार कांग्रेसको स्वीकृति बिना राष्ट्रपतिले ३० दिनभन्दा बढी युद्ध सञ्चालन गर्न सक्दैनन्, जसले चार हप्ताको समयलाई राजनीतिक रूपमा महत्वपूर्ण बनाउँछ ।
मिसाइल युद्ध र नौसैनिक प्रचार
इरानको नेतृत्व संरचनामा ठूलो क्षति भए पनि तेहरानले प्रतिकार जारी राखेको छ । अमेरिकी सेनाका अनुसार, संघर्षमा कम्तीमा ६ जना अमेरिकी सैनिक मारिएका छन् । यसबीच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले अमेरिकी विमानवाहक पोत युएसएस अब्राहम लिंकनमाथि चारवटा क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । तर अबु जेदले यसलाई अमेरिकी सेनाको मनोबल गिराउन गरिएको ‘प्रचार’ भने ।
उनले बताएअनुसार, उक्त पोत RIM-११६ रोलिङ एयरफ्रेम मिसाइल प्रणालीद्वारा सुरक्षित छ, जसलाई विनाशक जहाजहरूले थप सुरक्षा दिएका छन् । साथै, AWACS जस्ता निगरानी विमानहरूले निरन्तर निगरानी गर्ने भएकाले मिसाइल आक्रमण लुकाएर गर्न असम्भव जस्तै छ ।
संघर्ष सुरु भएको करिब ७२ घण्टापछि इरानी मिसाइल हमलामा कमी आएको अबु जेदले बताए । उनका अनुसार, इरानसँग करिब ३,००० ब्यालिस्टिक मिसाइल भए पनि लन्चर सयौं मात्र छन् । मिसाइल युद्धमा लन्चर नष्ट हुनु मिसाइलको भण्डार घट्नु जत्तिकै महत्वपूर्ण हुन्छ ।
घरेलु विरोध
सैन्य प्रगति भए पनि ट्रम्पले देशभित्र आलोचना सामना गरिरहेका छन् । रायटर-इप्सोस सर्वेक्षणअनुसार २७ प्रतिशत अमेरिकीहरूले मात्र हमलालाई समर्थन गरेका छन्, भने CNN÷SSRS सर्वेक्षणमा ४१ प्रतिशत समर्थन देखिएको छ ।
ट्रम्पले भने ‘मौन बहुमत’ ले कारबाहीलाई समर्थन गरेको दाबी गरे । उनले १९७९ को दूतावास बन्धक संकट र १९८३ को बेरुत ब्यारेक बम विस्फोटजस्ता ४७ वर्षको शत्रुतापूर्ण इतिहास उल्लेख गरे । अबु जेदका अनुसार, अमेरिका र इजरायलले इरानको आदेश श्रृंखला चाँडै पुनर्संरचना गर्ने क्षमतालाई कम आँकेका हुन सक्छन् । ‘केन्द्रीकृत योजना र विकेन्द्रीकृत कार्यान्वयन’ रणनीतिमार्फत इरानले प्रारम्भिक आघात सहेर पनि मिसाइल आक्रमण जारी राखेको छ ।
तर इरानले ‘फायर फ्लडिङ’ रणनीति कति समयसम्म टिकाउन सक्छ भन्ने नै मुख्य प्रश्न हो । ट्रम्पले चार हप्ताको लक्ष्य एकै दिनमा पूरा भएको दाबी गरिरहँदा, दुवै पक्षका लागि समय र स्रोत घट्दै गइरहेको छ । अन्ततः, यो युद्ध हजारौं अमेरिकी सैनिक इरानको भूमिमा मार्च गरेर होइन, बरु कसको समय र लन्चर पहिले सकिन्छ भन्ने कुराले निर्धारण गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस !