अमेरिकाले इरानमा पठाउँला ‘बुट्स अन द ग्राउन्ड’ ?

अमेरिकाले इरानमा पठाउँला ‘बुट्स अन द ग्राउन्ड’ ?

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी ‘बुट्स अन द ग्राउन्ड’ पठाउने सम्भावनाबारे सहज रूपमा टिप्पणी गर्दा उनले लामो समयदेखि कायम रहेको राष्ट्रपतीय परम्परालाई चुनौती दिएका छन् । ‘हरेक राष्ट्रपतिले भन्छन्, ‘जमिनमा बुट्स हुने छैनन् ।’ म त्यसो भन्दिनँ’, ट्रम्पले अमेरिका–इजरायलबीच इरानमाथि भइरहेको हमलाका बीच घोषणा गरे ।

तर वासिङ्टनबाट आएको कडा राजनीतिक अभिव्यक्तिले ठूलो युद्धको संकेत गरे पनि सैन्य विज्ञहरू भन्छन् कि इरानको कठिन भू–भागमा वास्तविकता पारम्परिक आक्रमणभन्दा फरक देखिने छ । सैन्य तथा रणनीतिक विश्लेषक कर्नेल निदाल अबु जेदले अल जजीरासँग कुरा गर्दै भने कि अमेरिका ट्यांक र ठूलो संख्यामा पैदल सेना प्रयोग गरेर परम्परागत भू–आक्रमण गर्ने सोचमा छैन, बरु फरक प्रकारको युद्ध रणनीति अपनाउन सक्छ ।

‘बुट्स अन द ग्राउन्ड’ बनाम ‘पिक–अप’ अपरेसन

सोमबार द न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले हालको हवाई अभियान ‘अपरेशन एपिक फ्युरी’ प्रति विश्वास व्यक्त गर्दै भू–सेना पठाउने सम्भावनालाई पूर्ण रूपमा नकारेनन् । ‘मलाई ‘बुट्स अन द ग्राउन्ड’ को विषयमा डर छैन– जस्तो हरेक राष्ट्रपतिले भन्छन्, ‘जमिनमा बुट्स हुने छैनन् ।’ म त्यसो भन्दिनँ’, ट्रम्पले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित दर्जनौं अधिकारी मारिएको हमलापछि भने । ‘म भन्छु, ‘सायद आवश्यक नपर्ला ।’

अमेरिकी रक्षा सचिव पीट हेगसेथले पेन्टागनको पत्रकार सम्मेलनमा अहिले इरानभित्र अमेरिकी सेना नभएको पुष्टि गरे, तर विकल्प खुला रहेको संकेत दिए । ‘त्यहाँ २ लाख सेना पठाएर २० वर्ष बस्नु पर्ने छैन’, उनले भने । अबु जेदका अनुसार, हेगसेथ र ट्रम्पका टिप्पणीहरू सैन्य रूपमा ‘पिक–अप’ वा चयनात्मक अपरेसनसँग मेल खान्छन् । यसमा विशेष बलहरू सीमित स्थानमा प्रवेश गरी लक्षित तोडफोड वा गुप्तचर कार्य सम्पन्न गरेर छिटो फर्किन्छन् ।

उनका अनुसार, इरानको जटिल भू–राजनीतिक अवस्था, दुर्गम भूगोल र घना जनसंख्याका कारण भू–क्षेत्र कब्जा गर्ने परम्परागत आक्रमण व्यवहार्य छैन । इजरायलले पनि पहिले इरानमा भू–कारबाही अव्यवहारिक भएको बताएको थियो ।

आणविक बहाना र बदलिँदो समयरेखा
ट्रम्पले जिनेभामा भएको अन्तिम वार्ता असफल भएपछि संयुक्त अमेरिका–इजरायल आक्रमण सुरु गरिएको बताए । उनका अनुसार, इरानले गोप्य रूपमा आफ्नो आणविक संवर्धन कार्यक्रम नयाँ स्थानमा सार्दै गरेको सूचनाले आक्रमणको ट्रिगर दियो । गत जुनमा ट्रम्पले ‘अपरेशन मिडनाइट ह्यामर’ नामक हमलाले इरानका ज्ञात आणविक केन्द्रहरू ‘ध्वस्त’ पारेको दाबी गरेका थिए । तर पछि नयाँ स्थानमा सम्वद्र्धन भइरहेको थाहा पाएपछि कारबाही आवश्यक भएको उनले बताए । 

ट्रम्पले युद्ध ‘तालिकाभन्दा धेरै अगाडि’ रहेको बताए । सुरुमा चार हप्तासम्म चल्ने अनुमान गरिएको युद्धमा नेतृत्व संरचना समाप्त गर्ने लक्ष्य एकै दिनमा पूरा भएको उनले दाबी गरे ।

तर अबु जेदका अनुसार चार हप्ताको समय सीमा केवल सैन्य होइन, अमेरिकी घरेलु कानुनसँग पनि सम्बन्धित छ । अमेरिकी संविधानअनुसार कांग्रेसको स्वीकृति बिना राष्ट्रपतिले ३० दिनभन्दा बढी युद्ध सञ्चालन गर्न सक्दैनन्, जसले चार हप्ताको समयलाई राजनीतिक रूपमा महत्वपूर्ण बनाउँछ ।

मिसाइल युद्ध र नौसैनिक प्रचार
इरानको नेतृत्व संरचनामा ठूलो क्षति भए पनि तेहरानले प्रतिकार जारी राखेको छ । अमेरिकी सेनाका अनुसार, संघर्षमा कम्तीमा ६ जना अमेरिकी सैनिक मारिएका छन् ।  यसबीच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले अमेरिकी विमानवाहक पोत  युएसएस अब्राहम लिंकनमाथि चारवटा क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । तर अबु जेदले यसलाई अमेरिकी सेनाको मनोबल गिराउन गरिएको ‘प्रचार’ भने ।

उनले बताएअनुसार, उक्त पोत RIM-११६ रोलिङ एयरफ्रेम मिसाइल प्रणालीद्वारा सुरक्षित छ, जसलाई विनाशक जहाजहरूले थप सुरक्षा दिएका छन् । साथै, AWACS जस्ता निगरानी विमानहरूले निरन्तर निगरानी गर्ने भएकाले मिसाइल आक्रमण लुकाएर गर्न असम्भव जस्तै छ ।

संघर्ष सुरु भएको करिब ७२ घण्टापछि इरानी मिसाइल हमलामा कमी आएको अबु जेदले बताए । उनका अनुसार, इरानसँग करिब ३,००० ब्यालिस्टिक मिसाइल भए पनि लन्चर सयौं मात्र छन् । मिसाइल युद्धमा लन्चर नष्ट हुनु मिसाइलको भण्डार घट्नु जत्तिकै महत्वपूर्ण हुन्छ ।

घरेलु विरोध
सैन्य प्रगति भए पनि ट्रम्पले देशभित्र आलोचना सामना गरिरहेका छन् । रायटर-इप्सोस सर्वेक्षणअनुसार २७ प्रतिशत अमेरिकीहरूले मात्र हमलालाई समर्थन गरेका छन्, भने CNN÷SSRS सर्वेक्षणमा ४१ प्रतिशत समर्थन देखिएको छ ।

ट्रम्पले भने ‘मौन बहुमत’ ले कारबाहीलाई समर्थन गरेको दाबी गरे । उनले १९७९ को दूतावास बन्धक संकट र १९८३ को बेरुत ब्यारेक बम विस्फोटजस्ता ४७ वर्षको शत्रुतापूर्ण इतिहास उल्लेख गरे । अबु जेदका अनुसार, अमेरिका र इजरायलले इरानको आदेश श्रृंखला चाँडै पुनर्संरचना गर्ने क्षमतालाई कम आँकेका हुन सक्छन् । ‘केन्द्रीकृत योजना र विकेन्द्रीकृत कार्यान्वयन’ रणनीतिमार्फत इरानले प्रारम्भिक आघात सहेर पनि मिसाइल आक्रमण जारी राखेको छ ।

तर इरानले ‘फायर फ्लडिङ’ रणनीति कति समयसम्म टिकाउन सक्छ भन्ने नै मुख्य प्रश्न हो । ट्रम्पले चार हप्ताको लक्ष्य एकै दिनमा पूरा भएको दाबी गरिरहँदा, दुवै पक्षका लागि समय र स्रोत घट्दै गइरहेको छ । अन्ततः, यो युद्ध हजारौं अमेरिकी सैनिक इरानको भूमिमा मार्च गरेर होइन, बरु कसको समय र लन्चर पहिले सकिन्छ भन्ने कुराले निर्धारण गर्न सक्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.