लाठ्ठीको सहारामा मतदान केन्द्र पुगिन् ९६ वर्षीया वृद्धा कालिमाया
धादिङ : प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साह देखियो । त्यही उत्साहबीच एक दृष्यले धेरैलाई प्रेरित गर्यो धादिङकी ९६ वर्षीया वृद्धा कालीमाया गुरुङको मतदान सहभागिता ।
धादिङ नीलकण्ठ नगरपालिका–९ स्थित चण्डेश्वरी मतदान केन्द्रमा काफलपानीकी कालीमाया गुरुङ लाठ्ठीको सहारामा मतदान गर्न पुगिन् । उमेरले ९६ वर्ष पुगे पनि उनले आफ्नो मताधिकार प्रयोग गर्न छुटाइनन् । मतदान सम्पन्न गरी केन्द्रबाट फर्किदै गर्दा उनको अनुहारमा देखिएको सन्तोष र जिम्मेवारीको भावले लोकतन्त्रप्रतिको जनविश्वास झल्काइरहेको थियो ।
स्थानीय रेख गुरुङका अनुसार कालीमाया गुरुङ हरेक निर्वाचनमा सकेसम्म मतदान गर्न जाने प्रयास गर्छिन् । ‘मत हाल्नु नागरिकको कर्तव्य हो’, भन्ने सोचका साथ उनी यस पटक पनि मतदान केन्द्र पुगेकी हुन् । वृद्धावस्थामा पनि लोकतान्त्रिक प्रक्रियाप्रति देखाएको उनको प्रतिबद्धताले युवापुस्ता समेतलाई प्रेरणा दिएको स्थानीयले बताएका छन् । लोकतन्त्रमा हरेक मतको महत्व हुन्छ भन्ने सन्देश कालीमाया गुरुङको सहभागिताले फेरि एकपटक स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस !