व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा बामे सर्दै गरेका रुकेशले भत्काए नेमकिपाको बिरासत
भक्तपुर : भक्तपुर-१ राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्लाको रुपमा चिनिएको थियो । २०४८ सालदेखि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले निरन्तर पाँच पटक जितेको यो क्षेत्रमा पार्टी सचिव प्रेम सुवालले पनि पछिल्ला दुई पटक (२०७४ र २०७९) को प्रतिनिधि सभामा निर्वाचित भई बिरासत कायम राखेका थिए ।
यस पटक पनि सुवाल ह्याट्रिक हुनेमा निश्चिन्त थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेमकिपाको किल्ला अप्रत्यासित रुपले भत्काइदिएको छ ।
भक्तपुर-१ बाट रास्वपा उम्मेदवार रुकेश रन्जित बिजयी भएका छन् । ३३ हजार ४ सय ३६ मतसहित उनी बिजयी भएका हुन् । उनी बिजयी हुँदा अघिल्लो पटक ३० हजार बढी मतान्तरले बिजयी नेमकिपाका प्रेम सुवाल यसपटक २८ हजार १ सय ४७ मत प्राप्त गरी दोश्रो स्थानमै रोकिए । २०७९ को निर्वाचनमा सबै प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गरेको मत जोड्दा पनि सुवालले पाएको मत बढी थियो । उनले त्यतिबेला ४२ हजार ७ सय ६१ मत प्राप्त गरेका थिए ।
नेमकिपाको ३० वर्षको लामो बिरासत भत्काउदै पहिलोपटक फरक राजनीतिक दलका उम्मेद्वार रन्जितले इतिहास रचे । २०३१ सालमा स्थापित नेमकिपा भक्तपुर केन्द्रीत रहेको थियो । पन्चायत बिरुद्धको संघर्ष हुँदै किसान आन्दोलन र जन आन्दोलनमा सशक्त सहभागिताका कारण भक्तपुर-१ का मतदाताले नेमकिपालाई निरन्तर निर्वाचित गराउँदै आएका थिए ।
यसपटक नेमकिपालाई स्तब्ध पार्दै व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा बामे सर्दै गरेका रुकेश रन्जितले नेमकिपाको बिरासत भत्काइदिए ।
भक्तपुर-१ मा यसपटक १ लाख ७ हजार ५४ मतदाता रहेकामा ७२.७४ प्रतिसत मात्र मतदान भएको थियो । कूल खसेको ७७ हजार २ सय ५७ मतमा २ हजार २ सय ९० मत बदर भएको थियो ।
को हुन् रन्जित ?
४६ वर्षीय रुकेश रन्जित भक्तपुरको बंशगोपालमा जन्मिएर ब्यासीमा बसोबास गर्दछन्। ब्यासीमा मोबाइलको व्यवसाय गर्ने उनी विद्युतीय व्यापार संघको उपाध्यक्ष हुँदै गत पुषमा मात्र भक्तपुर उद्योग बाणिज्य संघको महासचिव पदमा निर्वाचित भएका थिए ।
भक्तपुर क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्य रही राजनीतिमा चासो राखेका उनी रास्वपा गठनपछि तत्कालीन नेताहरु सन्तोष परियार, उपेन्द्र केसीहरु संगै रास्वपा प्रवेश गरेका थिए । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !