जहाँ घण्टी मात्र बजेन, मादलको बिरासत नै गुम्यो

जहाँ घण्टी मात्र बजेन, मादलको बिरासत नै गुम्यो

भक्तपुर  : भक्तपुर राजधानीसँग जोडिएको जिल्ला भएर मात्र होइन, राजनीति उलटफेर गर्नेसक्ने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्लाको रूपमा पनि परिचित छ। २०४६ सालदेखि २०६२/६३ को जनआन्दोलनमा नेमकिपाको योगदान अविष्मरणीय मानिन्छ। नेमकिपा सडकमा उत्रिएपछि सिंहदरबारको सातो जाने गरेको अझै पनि नेमकिपाका पुराना नेताकार्यकर्ता सुनाउँछन्।

वि.स २०३१ सालमा स्थापना भएको नेमकिपा पञ्चायती व्यवस्थाविरुद्धको लामो संघर्ष र किसान आन्दोलनबाट जनप्रिय बन्न पुगेको पार्टी हो। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितको नेतृत्वमा भएको किसान आन्दोलनले मोहियानी हक दिलाएको र किसानलाई भूमिपति बनाएको भन्दै यहाँका स्थानीयहरू नेमकिपा र यसका अध्यक्ष बिजुक्छेप्रति अनुग्रहित देखिन्छन। सिद्धान्तमा माक्र्सवाद, लेनिनवाद र व्यवहारमा भक्तपुरबादले एकातर्फ नेमकिपालाई देशभर फैलिनबाट रोकेको छ भने अर्कोतर्फ भक्तपुरे जनताको साथसमर्थन सँगै भक्तपुर मोडलको राजनीतिक विकास गर्ने अवसर दिलाएको छ।

बहुदल आएपछि २०४८ सालदेखि भएको हरेक संसदीय निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेमकिपाका उम्मेदवार विजयी बन्दै आएका छन्। २०४८ देखि २०७० सम्म लगातार नेमकिपाका अध्यक्ष बिजुक्छेलाई भक्तपुर–१ का मतदाताले भारी मतान्तरले विजयी बनाए। कतिपय आलोचकले बिजुक्छेले किसान आन्दोलनको ब्याज खाइरहेको र उनीपछि नेमकिपा नरहने आलोचना गरिरहँदा त्यसयताका २०७४ र २०७९ को संसदीय निर्वाचनमा पार्टी सचिव प्रेम सुवाल यहाँबाट निर्वाचित भई नेमकिपाको बिरासत कायम राखे।

त्यतिमात्र होइन, उनले अध्यक्ष बिजुक्छेभन्दा बढी मतान्तर बढाउँदै विजयको माला लगाए। अघिल्लो निर्वाचनमा सुवालले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार बढी मतान्तरले पछाडि पारेपछि भक्तपुर–१ नेमकिपाको अविजित किल्लाको रूपमा देशले चिन्यो। त्यतिबेला सुवालले  ४२ हजार ७ सय ६१ मत ल्याएका थिए जुन उनका सबै प्रतिस्पर्धीको मत जोड्दा पनि बढी थियो।

तर, अब त्यस्तो रहेन। चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका समेटिएको भक्तपुर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामले नेमकिपाका सचिवसमेत रहेका उम्मेदवार प्रेम सुवाललाई मात्र झड्का दिएन, राजनीतिमा स्थायी भन्ने केही हुँदैन र जनता नै सर्वेसर्वा हुन् भन्ने कुरा पनि चरितार्थ गरेको छ।

नेमकिपाको किल्लामा रास्वपाको घण्टी

निर्वाचन क्षेत्र नम्बर १ मा चाँगुनारायण र भक्तपुर दुई नगरपालिका छन्। १ लाख ७ हजार ५४ मतदाता रहेको भक्तपुर–१ मा बिहीबार ७७ हजार ८ सय ७१ मतदाताले मात्र मतदान गरे। त्यसमा चाँगुनारायणको ३० हजार ९ सय ५९ मत र भक्तपुरको भागमा ४५ हजार ७ सय ८९ मत परेको छ।

विगतमा चाँगुनारायणमा कमजोर रहे पनि भक्तपुर नगरपालिकाको ८० प्रतिशत मत लिएर नेमकिपा विजयी बन्दै आएकोमा यसपटक भने नेमकिपाको ठूलो मत भक्तपुर नगरपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले खोसिदिएको छ।

चाँगुनारायणमा ६५ प्रतिशत बढी मत लिएर अग्रता लिएका रास्वपा उम्मेदवार रुकेश रन्जितले भक्तपुरका वडाहरूमा मत आधा गरिदिएपछि नेमकिपालाई खतराको घण्टी मात्र बजेन, ३० वर्षको बिरासत पनि भत्कियो। 

नेमकिपाका सचिव प्रेम सुवाललाई २८ हजार १ सय ४८ मतमा रोकेर रास्वपाका उम्मेदवार रन्जितले ३३ हजार ४ सय ३६ मतसहित विजय हुँदै नेमकिपाको किल्ला भत्काइदिए।  मतदानअघि नै रास्वपाका नेता साजन विकले  आफ्ना उम्मेदवार रन्जितले ३३ हजार मत ल्याउने र नेमकिपाको सत्ता ढाल्ने हिसाब देखाएका थिए। त्यसलाई नपत्याउने विश्लेषकहरूलाई समेत नतिजाले सोच्न बाध्य बनाइदिएको छ। गुप्तचरी निकायले समेत भक्तपुर–१ मा नेमकिपाको किल्ला  नतोडिने निष्कर्ष निकाली रहँदा रस्वपाका रन्जितले सबैलाई सप्राइज गर्दै इतिहास रचिदिए।

जेन–जी बिद्रोहले बिथोल्यो जनमत
जेन–जी बिद्रोहरूप र सारमा जेजस्तो भए पनि त्यो नेपाली नवयुवा पुस्ताको राज्यप्रतिको आक्रोश भने अवश्य नै हो। सामाजिक सञ्जालमा स्वतन्त्र पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा भनेर भएको प्रदर्शन बिद्रोहमा परिणत हुँदा ठूलो जनधनको क्षति भयो। नवयुवा पुस्ताले त्यसलाई आफ्नो ठानिरहँदा नेमकिपाले त्यसमा अमेरिकी साम्राज्यवादी ट्रम्प सरकारको छाया देख्यो। वास्तवमा जेन–जी बिद्रोहले नेपालीको सोचाइ बदलिएको परिवेशमा त्यसले नेमकिपाको जनमतलाई बिथोलिदियो। अमेरिकाले इरानी सरकार पल्टाउन आक्रमण गर्ने पहिल्यै थाहा पाएर चुनावी घोषणापत्रमै समेट्ने नेमकिपाले नवयुवाको भावना थाहा पाउन सकेन।

बसाइँसराइको प्रभाव
राष्ट्रिय जनगणना २०७८ अनुसार भक्तपुर नगरमा १९ प्रतिशत मानिस बसाइँ सरेर आएका छन्। बसाइँ सरेर आएका मानिस आफ्नो क्षेत्रमा जुनसुकै पार्टी भए पनि  भक्तपुर–१ मा कि नेमकिपा हुन्छ कित नेमकिपाको विकल्प हेर्छ। शक्तिको आधारमा नेमकिपालाई स्वीकारेको त्यो समूह अवसर पाउना साथ नयाँ शक्तिलाई साथ दिन्छ वा, त्यसो गर्न अन्य मतदातालाई उक्साउँछ। 

भक्तपुरमा शक्तिका लागि नेमकिपालाई मत हाल्ने त्यो समूह यसपटक रास्वपातार्र्फ ढल्किएको हुनसक्ने विश्लेषण गरिएको छ। त्यस्तै विदेशमा रहने कतिपयले आफ्नो परिवारमा रास्वपाका लागि मतसमेत मागेका मतदाताहरू स्वीकार गर्छन्। यसले नेमकिपाको मतमा प्रभाव पारेको देखिन्छ।

परिवर्तनको चाहना
हरेक मानिसमा परिवर्तनको उत्कट चाहने हुने प्रा. रोहित दाहाल बताउँछन्। चिनी पनि धेरै भएपछि तीतो लाग्ने भने झैँ भक्तपुरका जनता पनि ३० वर्षदेखि निरन्तर एउटै दल र नेतादेखि दिक्क भएका हुनसक्ने उनले बताए। पार्टी र नेतृत्वले संगठन बिस्तार र सांगठनिक गतिविधि मात्र गरेर नहुने र आम जनताको भावनाको सर्वेक्षण गरिरहनुपर्ने उनको भनाइ छ। राजनीतिक रूपमा इमान्दार र योग्य भए पनि मनोवैज्ञानिक रूपमा जनताले पुरानोभन्दा नयाँ मन पराउने ट्रेन्ड हुन्छ, उनले भने। 

प्रा. दाहालको भनाइलाई पुष्टि गर्दै मतदानका लागि लाइन बसिरहेकी २४ वर्षीया रोहिणी भुजुले अन्नपूर्ण पोस्ट्सँग भनेकी थिइन् कि उनी नयाँ जनप्रतिनिधि आओस् भन्ने चाहन्छिन। भक्तपुर बहुमुखी क्याम्पस केन्द्रमा अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै उनले भनेकी थिइन् कति पुरानो अनुहार हेर्नु, नयाँ जनप्रतिनिधि आओस् भन्ने चाहना छ। 

विशेषगरी ३० वर्षमुनिका प्रायस युवाहरू पुरानाका पक्षमा देखिएका थिएनन्। उनीहरूले नेमकिपा र यसका उम्मेदवार प्रेम सुवाललाई पुरानै माने र मत परिवर्तन गरे।

रास्वपाको उदय
कुनै बाद र दलभन्दा बेग्लै र स्वतन्त्र नै जसरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गत निर्वाचनताका स्थापना भएपछि मानिसहरूले यसलाई राजनीतिक दलको रूपमा नभई बैकल्पिक शक्तिको रूपमा देख्न थाले। सबै राजनीतिक दल उस्तै भन्ने भाष्य स्थापित हुँदै जाँदा नेमकिपामा पनि त्यसको स्वत प्रभाव 
पर्न पुग्यो।

अमेरिकी ट्रम्प सरकारले इरानी सरकार ढाल्न आक्रमण गर्ने कुरा पहिल्यै थाहा पाउने नेमकिपाले स्थानीय जनताको परिवर्तनको चाहना पत्ता लगाउन नसक्दा पराजयको नतिजा भोग्नुपर्‍यो।

विकास गर्ने जनप्रतिनिधि
भक्तपुरकी मतदाता बिनु   श्रेष्ठले आफूलाई नीति निर्माण गर्ने मात्र नभई विकास गर्न सक्ने जनप्रतिनिधि मन पर्ने प्रतिक्रिया दिएकी थिइन्। नेमकिपाको सरकार नबनाउने र सरकारमा नजाने नीतिलाई राजनीतिप्रति चासो नभएका मतदाता मन पराउँदैनन्। उनीहरू आफ्नो जनप्रतिनिधिले विकास निर्माणका साथै आफ्ना प्रशासनिक समस्यासमेत समाधान गरिदियोस् भन्ने चाहना राख्द छन्। नेमकिपा क्रान्तिकारी संसादको कुरा गरेर काग हुलमा बकुल्लो जस्तो बन्न पुग्यो। उसले आफ्ना कार्यकर्तालाई कन्भिन्स गरे पनि आम मतदातालाई यो विषयमा प्रष्ट पार्न सकेन।

तत्कालीन माओवादीको हल्लाएको जग
निर्वाचनको ३० वर्षे इतिहासमा नेमकिपाको शक्तिमाथि यसअघि पनि प्रहार भएको थियो। तत्कालीन नेकपा माओवादी सशस्त्र विद्रोहपछि निर्वाचनमा भाग लिँदा २०६४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेमकिपा पहिलोपटक डराएको थियो। मत माग्न घरदैलो गर्न छोडेका अध्यक्ष बिजुक्छेले त्यसबेला घरदैलो गर्दै मत माग्नु परेको थियो।

त्यति हुँदाहुँदै पनि तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र   श्रेष्ठले ११ हजार ५ सय ४८ मत ल्याएका थिए। त्यो मत भक्तपुरमा माओवादी समर्थक मत थिएन, नेमकिपा बिरोधी मत थियो जसले भक्तपुरको राजनीतिक परिवर्तन खोजिरहेको थियो। माओवादीले हल्लाएको जगमा टेकेर त्यो शक्ति नेमकिपाको सत्ता भत्काउन चाहन्थ्यो। अघिल्लो निर्वाचनमा भक्तपुर–१ मा रास्वपाले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नहुँदासमेत समानुपातिकतर्फ ११ हजार मत प्राप्त गरेको थियो। त्यो त्यही मत हो जो नेमकिपासँगै राजनीतिप्रति असन्तुष्टहरूको मौन जनमत प्रदर्शन थियो। त्यसलाई समयमै पहिचान र सम्बोधन गर्दा नसक्दा यो निर्वाचनमा नेमकिपालाई चुनौती थपियो।

स्थानीय सरकारप्रतिको असन्तोष 
भनिन्छ, मानिस सत्ताप्रति असहिष्णु हुन्छ। अन्य दललाई शासक दल भन्ने नेमकिपा स्थानीय सत्तामा भने सधैं शासन गरिरहेको छ। भक्तपुर नगरपालिकाले गरेको देको मिवा इतापाखे जग्गा एकीकरण आयोजनाले पीडित बनाएको भन्दै किसानहरू गरिरहेको आन्दोलनलाई रास्वपाले क्यास गर्दा निर्वाचनमा जित भएको रास्वपा नेता उपेन्द्र केसी स्वीकार गर्छन। ‘निर्वाचनको दुई महिनाअघि संघर्ष समितिका अध्यक्षलाई नै रास्वपा प्रवेश गरायौं र अघिल्लोपटक पीडितको तर्फबाट मेयर पदमा उम्मेरद्वार रहेका नेतालाई पार्टीमा भित्रायौं।’ उनले भने, ‘उहाँहरू नयाँ उत्साहका साथ घरघर पुग्नुभयो र हाम्रो जितको आधार भयो।’

केटाकेटी परिचालन 
रास्वपाले भक्तपुर–१ मा बालबालिकालाई घण्टीको अघोषित प्रचारकर्ता बनायो। घण्टी ठीक र बालेन ठीक भन्ने भाष्य उनीहरूमार्फत घर–घरमा प्रचार गरायो। त्यतिमात्र होइन, घण्टीमा उनीहरूले मत पनि मागे। आफ्ना छोराछोरी, नातिनातिना र बालबालिकाको खुसीका लागि पनि मतदाताले रास्वपामा मतदान गरे।

अन्य दलको राजनीतिक उदासीनता 
भक्तपुर–१ मा आफ्नै उम्मेदवार रहेका कतिपय राजनीतिक दलका क्रियाशील कार्यकर्ता नै आफ्नो पार्टीमा मत नमागी रास्वपाका प्रचारकर्ताको रूपमा प्रस्तुत भए। आफूहरूले नजित्ने अथवा, बरु घण्टी नै ठीक भन्दै उनीहरूले रास्वपाको लागि माहोल बनाए। जसले गर्दा रास्वपामा मत खनियो र नेमकिपालाई अघि बढ्न रोक्यो। जुन अन्य दलले पाएका अति कम मतले पुष्टि हुन्छ। यसपटक यहाँ नेपाली कांग्रेसका किरण न्यौपानेले ४ सय २८२, नेकपा एमालेका सोमप्रसाद मि श्रले ३ हजार ७ सय २१, नेकपाका हरिराम लवजूले १ हजार १ सय ७७ र राप्रपाका भरतबहादुर खड्काले २ हजार ४ सय ६९ मत मात्र प्राप्त गरेका छन्।

युवाप्रतिको आकर्षण
पछिल्लो समय युवाहरू मात्र होइन, बयस्कहरू पनि नेतृत्वमा युवा खोज्न थालिसके। जेनजी बिद्रोहले त्यसलाई अझ स्थापित गरिदियो। नेककिपाले तेहर्‍याएर सुवाललाई उम्मेदवार बनाए पनि युवा उम्मेदवारको रूपमा रास्वपाका रन्जितप्रति मतदाताहरू आकर्षित भए। बालेन साहलाई प्रधानमन्त्रीको रूपमा अघि सरेको पार्टीको उम्मेदवार भएकाले पनि बालेनलाई मन पराउने मतदाताको रोजाइमा रन्जित परे।

को हुन् रुकेश रन्जित
४६ वर्षीय रुकेश रन्जित रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। भक्तपुरको वंशगोपालमा जन्मिएका उनी व्यासीमा बस्छन्। व्यासीमा उनको मोबाइलको व्यवसाय छ। विद्युतीय सामग्री व्यवसायी संघको उपाध्यक्ष रहेका रन्जित गत पुसमा भक्तपुर उद्योग वाणिज्य संघमा मतदानमार्फत महासचिव पदमा नेककिपाकै उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए।

वामपन्थी राजनीतिबाटै आएका उनी राजनीतिक रूपले नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए। भक्तपुर बहुमुखी क्याम्पसमा पढ्दा अनेरास्ववियुको सदस्य रहेका उनी एमाले पृष्ठभूमिबाट दुई वर्षअघि मात्र रास्वपाको राजनीतिमा संलग्न भएका थिए। आफ्ना पिता स्व राजाराम रन्जित भक्तपुर नगरमा एमालेको नेता रही नेमकिपासँग राजनीतिक संघर्ष गरेको नजिकबाट नियालेका रन्जितले रास्वपाको तर्फबाट उम्मेदवार भएपछि नेमकिपाको बिरासत ढाल्ने सपना देखिसकेका थिए। कतिपयले यसलाई दिवासपना ठाने। तर, रन्जितसँग स्पष्ट योजना र रणनीति थियो। उनले रास्वपाका नेताकार्यकर्तालाई मात्र होइन आफू निकटका आफन्त र साथीभाइलाई समेत आफूले निर्वाचन जित्ने भएकाले सक्दो सहयोग गर्न आह्वान गर्दै परिचान गरेका थिए।

व्यवस्थापनमा स्नातकोत्तर गरेका रन्जित एक सामान्य व्यवसायी र राजनीतिमा भर्खरै बामे सर्दै गरेका थिए। उनले नेमकिपाको ३० वर्षभन्दा लामो जनमत भत्काउनु चानचुने कुरा होइन। भक्तपुर–१ को हारसँगै नेमकिपा अब संसद्मा देखिने छैन। यो एउटा हारजितभन्दा पनि नेमकिपाको क्रान्तिकारी संसदादको अनुमोदन वा बहिस्कार भन्ने अर्थमा राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो। 

३० वर्ष लामो नेमकिपाको विरासत क्षणभरमै भत्काएर रन्जितले इतिहास रचेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै रन्जितले आफू नेमकिपाको पनि प्रतिनिधि भएको तथा भक्तपुर–१ को हरेक समस्या प्रतिनिधिसभामा पुर्‍याउने र समाधान गर्ने प्रतिबद्धता प्रकट गरेका छन्। ‘मतदाताले जुन परिवर्तन खोजेर मत दिनुभएको छ, त्यसबाट दाँयाबायाँ हुनेछैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.