गोरखा-२ बाट रास्वपाका महामन्त्री बुर्लाकोटी विजयी
गोरखा : गोरखा क्षेत्र नं. २ बाट भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई निर्वाचित भएको घोषणा गरेको हो ।
कूल १ लाख ८ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ मतमात्र सदर र ३ हजार ९ मत बदर भएको थियो ।
विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशतमतप्राप्त गरेका हुन् । बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेद्वार प्रकाशचन्द्र दवाडीले भन्दा १४ हजार ९६० बढी मत प्राप्त गरेका छन् । दवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका थिए ।
अर्का प्रतिस्पर्धी नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन)ले ३ हजार ८७ मतप्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी जन्माउने सक्रिय सदस्यमध्ये एक हुन् । २०७९ असारमा पार्टी स्थापना हुँदा उनी केन्द्रीय सदस्य थिए भने दुई महिनामै सहमहामन्त्री र दुई बर्षमै महामन्त्री बन्न सफल भए।
प्रतिक्रिया दिनुहोस !