अन्नपूर्ण निगरानी

मौका छोप्दै सिमेन्ट र पाइपमा ४० प्रतिशतसम्म मूल्यवृद्धि

मौका छोप्दै सिमेन्ट र पाइपमा ४० प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं : एचडीपीई (हाई डेनसिपट पोलिथाइलिन) पाइप, सिमेन्टसहितका निर्माण सामग्रीको मूल्यवृद्धिले यतिबेला बजार तातेको छ। सरकारी ठेक्काको काम सुरु गर्ने समयमा बजारमा एचडीपीई पाइपको करिब ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यसले सरकार, गैरसरकारी संस्था, विभिन्न स्थानीय तहका विकासका काम अवरोध भएको छ।

विशेषगरी सरकारी तहका खानेपानी आयोजनालगायतमा प्रयोग हुने यी पाइपको मूल्यवृद्धिले बजारमा तरंग पैदा गरेको छ। सिमेन्टसहितका निर्माण सामग्रीमा पनि मूल्यवृद्धि आफूखुसी भइरहेको छ। ओम कालिन्चोक हार्डवयर एन्ड सप्लायर्सका सञ्चालक सालिग्राम खड्काले भक्तपुरमा करिब १० वर्षदेखि एचडीपीई पाइप र हार्डवेयर व्यवसाय गर्दै आएका छन्। ‘निर्वाचन लगत्तै एक्कासि प्लालिस्टकजन्य सामग्रीहरू विशेषतः एचडीपीई पाइपको मूल्य बढेको छ। निर्वाचन अघिसम्म कुनै जानकारी थिएन। एक्कासि उद्योगहरूले ४० प्रतिशतसम्म मूल्य बढाएर बजारमा पठाएका छन्। 

यसले व्यापारमा असर गर्छ,’ उनले अन्नपूर्णसँग भने। उनका अनुसार उद्योगीहरूले आवश्यक अर्डर पनि लिन छोडेका छन्। सामान्यतया, सरकारी ठेक्का कार्यान्वयन वर्षा, दसैं, तिहार र छठ पर्व सक्किएपछि कात्तिकबाट सुरु भई जेठसम्म सक्किने हुन्छ। योपटक निर्वाचन परेकाले निर्वाचन लगत्तै लागेका ठेक्का कार्यान्वयन हुने समयमा एचडीपीई पाइपको मूल्य आकासिदा यसको असर उपभोक्तासम्म पर्ने देखिएको छ। खानेपानी, सिँचाइ, कृषि, सडक, ढल निकासलगायतमा सिमेन्ट र पाइपको प्रयोग हुने हुँदा यसको मूल्यवृद्धि सीधा उपभोक्तासँग जोडिएको उपभोक्ता हित संरक्षण मञ्चकी उपाध्यक्ष सुवर्णप्रभा गुरागाईं बताउँछिन्। आमनागरिकले भन्दा पनि यसमा सरकार नै अघि सुर्नपर्ने उनको धारणा छ। 

अमेरिका–इरानयुद्धका कारण कच्चपदार्थ भएको मूल्यवृद्धिको असर यसमा परेको जगदम्बा प्लास्टिक इन्ड्रस्ट्रिजका अध्यक्ष लक्ष्मण अर्याल बताउँछन्। युद्धले ३० देखि ५० प्रतिशतसम्म क्रुड आयलको मूल्यमा वृद्धि भएका कारण नेपाली बजारमा पनि त्यति नै हिसाबले एचडीपीईको मूल्य बढ्ने अनुमान गरिएको उनी बताउँछन्।

माग र आपूर्तिको शृखंलामा कच्चापदार्थको मूल्यमा भएको वृद्धिले नेपाली बजारमा एचडीपीई पाइपको मूल्यवृद्धि भएको एचडीपीई उत्पादक संघका अध्यक्ष नीराजन सिम्खडा बताउँछन्। एचडीपीईको माग सुरु भएको समयमा नै कच्चापदार्थ भएको कटौतीले माग र आपूर्तिको खाडल बनाएको उनी बताउँछन्। अहिले करिब ४ सय मेट्रिकटन माग भइसकेकोमा त्यसको उत्पादन हुन सकेको छैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदी अनौपचारिक ढंगले मूल्य बढेको पाइए सरकारले कडा निगरानी गर्ने बताउँछन्। ‘खुला बजार भए पनि मनपरी हिसाबले मूल्य बढाउन पाइँदैन। उद्योहरूले कच्चापदार्थ आयातको मूल्य र लागत मूल्य देखाउन सक्नुपर्छ। अन्तर्राष्ट्रिय मूल्यले प्रभावलाई बहाना बनाएर अस्वाभाविक वृद्धि गर्ने सम्भावना छ। यसले गर्दा उपभोक्ता पीडित हुने सम्भावना पनि छ। यसका लागि निगरानी बढाइन्छ।’, उनले भने।

वाणिज्य विभागलाई निर्माण सामग्रीमा भएको र हुनसक्ने मूल्यवृद्धिको अनुगमन तथा निगरानीका लागि निर्देशन दिइने सुवेदीले बताए। कच्चापदार्थ आयात गरी एचडीपीई पाइप उत्पादन गर्ने ५३ उद्योग नेपालमा छन्। लगभग ४० हजार मेट्रिक टनको उत्पादन तथा खपत हुँदा ८–९ अर्बको वार्षिक कारोबार हुने गरेको छ। कोरोना, आर्थिक मन्दीलगायतका कारण यी उद्योग करिब २५ प्रतिशत क्षमतमा मात्र सञ्चालन भएको संघ बताउँछ। 

यीमध्ये केही उद्योगले मात्र करिब ३ महिनाका लागि कच्चापदार्थ जोहो गर्ने क्षमता राख्छन्। बाँकीले भने कच्चापदार्थ ल्याउँदै उत्पादन गर्दै आइरहेका छन्। नेपालमा एचडीपीईका लागि कच्चा पदार्थ (क्रुड आयल) थाइल्यान्ड, भारत र सिंगापुरबाट आउने गरेको छ। प्लास्टिकजन्य सामग्रीको उच्च मूल्यवृद्धिले बजारमा सामान अभाव भएको निर्माण व्यवसायी तेजु कार्की बताउँछन्।

शिवदूती निर्माण सेवाकाका सञ्चालक कार्कीका अनुसार ४० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको भन्दै डिलरले अर्डर लिन मानेका छैनन्। ठेक्का कार्यान्वयनको समय सुरु भएकोले जेठसम्म सक्काउनुपर्ने भए पनि सामान नहुँदा हात झिकेर बस्नुपरेको उनि सुनाउँछन्। यता, नेपाल निर्माण व्यवसायी महासंघ पनि प्लास्टिकजन्यसँगै अन्य निर्माण सामग्रीमा मूल्यवृद्धि भएको बताउँछन्। महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा एचडीपीई पाइपसँगै रड, सिमेन्टको पनि मूल्य बढेको सुनाउँछन्। व्यवसायीहरूले अन्तर्राष्ट्रिय कारण देखाउँदै कृत्रिम अभाव देखाउने, मूल्य बढाउने गर्ने गरेको उनको अनुभव छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। यो मूल्य बढ्दा ढुवानी बापत करिब ५ देखि ७ प्रतिशत भार परे पनि त्यही मौका छोपी व्यापारीले सामान हेरेर २०, ३० देखि ४० प्रतिशतसम्मको मूल्यवृद्धि गराएको उनी सुनाउँछन्। अन्तर्राष्ट्रिय वृद्धिका कारण असर पर्ने भए पनि एकमहिना पछि हुने असरको अहिलेबाट नै मूल्य बढाउनु उचित नहुने उनी बताउँछन्। यता, संघका अध्यक्ष सिम्खडा भने ९ सय ५० रुपैयाँ मेट्रिक टनमा किनिरहेको कच्चापदार्थ को मूल्य १ हजार ३ सय ५० रुपैयाँ मेट्रिक टन पुगेको भन्दै करिब ४२ प्रतिशतले कच्चा पदार्थको मूल्य बढेको प्रष्ट्याउँछन्। यसका कारण एचडीपीई पाइपको बजारमूल्य पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.