कम्वोडियाबाट १६ नेपालीको उद्धार, तीन जना ‘डिपोर्ट’
प्रलोभनमा पारेर अवैध स्क्यामिङमा लगाउथे तस्करहरु
काठमाडौं : मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा कम्बोडियाबाट उद्धार गरी नेपाल फर्काएको हो ।
मोटो रकम कमाउने प्रलोभनमा उनीहरुलाई वैदेशिक रोजगारीमा लैजाने भन्दै कम्वोडिया पुर्याएर अवैध काममा लगाइएको थियो । यस्तै नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान व्युरोका प्रबक्ता राजन लिम्वुका अनुसार, विभिन्न अपराध गरेर कम्वोडियामा लुकेर बसेका ३ जनालाई बुधबार कम्वोडिया सरकारले नेपाल डिपोर्ट गरेको छ ।
नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान व्युरोका अनुसार डिर्पोट हुनेमा खोटाङका स्यान्द्रा राई, डढेलधुराका दिपेन्द्र साउद, धादिङका धनबहादुर रेग्मी रहेका छन् । उनीहरुमध्ये राईविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।
उद्धार गरिएको १६ जनाले कम्वोडियाको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका थिए । उनीहरुलाई बन्धक बनाएर स्क्यामिङ गर्न बाध्य पार्ने गर्थे । विभिन्न एजेण्ट हुँदै कम्वोडिया पुगेका नेपालीहरुलाई त्यहाँका एजेन्टले निश्चित टार्गेट दिने र उक्त टार्गेट पुरा नगरे निकै यातना दिने गर्थे । यसअघि पनि कम्वोडिया पुगेका नेपालीहरुलाई विभिन्न यातना दिने, हिंसा गर्ने र एउटै ठाँउमा बन्धक बनाउने गरेका सूचना बाहिरिएको थियो । उद्धार गरिएका नेपालीहरू कम्बोडियामा अवैध स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका थिए ।
दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ । कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासले उल्लेख गरेको छ ।
म्यानमार, कम्वोडिया र थाइल्याण्डका विभिन्न ठाँउमा लगेर नेपाली लगायत अन्य देशका नागरिकलाई गैरकानुनी काममा लगाउने धन्दा चलिरहेको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले भनेको छ, नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा बैदेशिक रोजगारीमा नआउनु होला ।
कम्वोडिया–थाइल्याण्ड, म्यान्मार–थाइल्याण्ड सीमा तथा लावोसमा रहेका स्क्यामिङ केन्द्रहरुमा नेपाली लगायतका विभिन्न मुलुकका व्यक्तिहरु अलपत्र पर्ने गरेका घटना बढ्न थालेको छ । यस्तो कार्य रोक्नको लागि थाइल्याण्डमा रहेको नेपाली राजदूतावासले २०८० साउन २३ देखि यात्रा सचेतना जारी गरेको थियो ।
जसअन्र्तगत थाइल्याण्ड सरकारसँगको सहकार्यमा राजदूतावासले अलपत्र नेपालीलाई उद्धार गर्न शुरु गरेको हो । आव ८० /८१ मा ६८ जना अलपत्र नेपालीको उद्धार गरिएको छ । ८१- ८२ मा १५६ जना अलपत्र नेपालीलाई उद्धार गरिएको हो । आव ८२/ ८३ मा करिव २०० जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।
मानव वेचविखन व्युरोका प्रमुख कृष्णप्रसाद पंगेनीका अनुसार, अवैध रुपमा कम्वोडिया, म्यानमार पुगेका नेपालीहरु शारिरीक तथा आर्थिक शोषणमा पर्ने गरेका छन् । उद्धार गरिएका कतिपयले प्रहरीमा उजुरी पनि दिएका छन् । निश्चित लगानी गरेर त्यहा पुग्ने, बाध्यात्मक रुपमा काम गर्ने, स्क्यामिङमा काम नगरी नेपाल फर्कन चाहेमा कुटपिट गर्ने र नेपालबाट पैसा मगाएर उनीहरुलाई तिर्नुपर्ने जस्ता कार्य गर्ने गर्थे ।
प्रतिक्रिया दिनुहोस !