कस्ता–कस्ता भए समानुपातिक सांसद ?
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ कस्ता–कस्ता सांसद निर्वाचित भए ? कुन क्षेत्रका व्यक्ति समानुपातिकमा समेटिए ? निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका १ सय १० जनाको नाम सार्वजनिक गरेको छ। जसमा संसद्मा शिक्षा, सञ्चार, खेलकुद, उद्यम, सामाजिक अभियानदेखि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरू पुग्ने भएका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो समानुपातिक सूचीमा फरक–फरक क्षेत्रका व्यक्तित्वलाई समेटेको छ।
कांग्रेस–एमाले बाहेकका राजनीतिक दलले नयाँ अनुहारलाई प्राथमिकतामा राखेका छन्। अनुसन्धानकर्ता डा. राम लामा समानुपातिकबाट निर्वाचितको सूचीमा पहिलो नम्बरमा छन्। मेकानिकल इन्जिनियर तथा जलविद्युत् र हरित हाइड्रोजनका विशेषज्ञ डा. लामाले विदेश नजाने निर्णय गर्दै नेपालमै अध्ययन, अनुसन्धान, उद्यमशीलता, शिक्षा र समाजसेवामा आफूलाई समर्पित गरेका छन्।
काठमाडौं विश्वविद्यालयबाट जलविद्युत् विषयमा मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका उनी सन् २०२१ को दीक्षान्त समारोहमा विश्वविद्यालयका सबैभन्दा कान्छा पीएचडी उपाधिकर्ता बनेका थिए।
धादिङकी बसुमाया तामाङ पनि समानुपातिक सूचीमार्फत सांसद बनेकी छन्। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धादिङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन्। प्रत्यक्षमा पराजित भए पनि यसपटक उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी छन्।
एक दशकभन्दा बढी समय सीएनएनमा काम गरेकी पत्रकार सुम्निमा उदास पनि रास्वपाको समानुपातिक सांसद भएकी छन्। उनले द्वन्द्वग्रस्त क्षेत्रबाट कठिन रिपोर्टिङ गर्दै न्युयोर्क, हङकङ र दिल्लीबाट काम गरिन्। सन् २०१२ मा भारतको चर्चित बलात्कार काण्डको कभरेजका कारण उनले ‘सिने गोल्डेन इगल अवार्ड’ जितेकी थिइन्। रोल्पाको जिनाबाङमा जन्मिएकी पत्रकार क्रान्तिशिखा धिताल र सुनसरीका प्रकाशचन्द्र परियार पनि समानुपातिक सूचीमा समेटिएका छन्। सञ्चारकर्मबाट करिअर सुरु गरेकी रीमा विश्वकर्मालाई रास्वपाले दलित महिला क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस गरेको छ। बर्दियाको गुलरियाकी रीमाले टेलिभिजन प्रस्तोता, अभिनेत्री र मोडलका रूपमा पनि परिचय बनाएकी छन्। उनले गायन रियालिटी सो नेपाल आइडल सञ्चालन गरेकी थिइन् भने विभिन्न नेपाली चलचित्रमा अभिनय पनि गरिसकेकी छन्।
सौन्दर्य प्रतियोगिता जितेकी अनुष्का पनि अब नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा पुग्ने पुगेकी छन्। मिस नेपालबाट सांसद बन्ने पहिलो विजेताका रूपमा उनको नाम जोडिएको छ। अनुष्का सफल महिला उद्यमीका रूपमा पनि चिनिन्छिन्। उनले स्थापना गरेको ‘माकुसी’ नामक चकलेट ब्रान्डले उनलाई दक्षिण एसियाका उत्कृष्ट १० महिला उद्यमीमध्ये एक बनाएको थियो।
समानुपातिक सूचीमा स्वास्थ्य क्षेत्रका पेसाकर्मी पनि छन्। डा. ओजस्वी शेरचन, डा. अंकिता ठाकुर र नर्स प्रभा ढकाल सूचीमा अटाएका छन्। मेडिकल डाक्टर शेरचन नेपाल मेडिकल कलेजमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन् भने अंकिता दन्त चिकित्सक हुन्। प्रभा ढकालले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजमा अप्रेसन थिएटर नर्सका रूपमा काम गरिसकेकी छन्।
बडीबिल्डिङ खेलाडी रजनी श्रेष्ठ पनि समानुपातिक सूचीमा परेकी छन्। २०१७ देखि खेल सुरु गरेकी उनले राष्ट्रियदेखि दक्षिण एसियाली, एसियाली र विश्वस्तरका प्रतियोगितामा पदक जितेकी छन्। पुरुष खेलाडीको वर्चस्व रहेको बडीबिल्डिङमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीका रूपमा उनी परिचित छन्। गोरखा–१ की एलिजा गुरुङलाई पनि रास्वपाले आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनाएको छ। ‘मिस आदिवासी जनजाति २०१९’ विजेता एलिजा लामो समयदेखि सामाजिक काममा सक्रिय छन्।
यसपटकको समानुपातिक सूचीमा सबैभन्दा चर्चित नाममध्ये एक हुन् भूमिका श्रेष्ठ। उनी ट्रान्सजेन्डर समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तित्व हुन्। जन्मदा कैलाश नामका पुरुषका रूपमा जन्मिएकी उनले पछि आफ्नो पहिचान स्वीकार्दै भूमिका नाम धारण गरेकी थिइन्। सुनीलबाबु पन्त २०६४ मा भएको संविधानसभामा एसियाकै पहिलो खुला समलिंगी सभासद बनेका थिए।
उद्यमी विदुषी राणा पनि समानुपातिक सूचीमा समेटिएकी छन्। किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक रहेकी राणाको नाम खस–आर्य महिलातर्फ रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा समावेश थियो।
जेन–जी आन्दोलनसँग जोडिएका परिवारका सदस्यहरू पनि समानुपातिक सूचीमा परेका छन्। जेन–जी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री पनि समानुपातिक सूचीमा समेटिएकी छन्। काभ्रेका २३ वर्षीय रसिकको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको थियो। आन्दोलनमा घाइते भएका मुकेश अवस्थीकी दिदी आकृति अवस्थी सांसद भएकी छन्। सामाजिक सेवा र नेतृत्व अनुभवबाट अघि बढेकी मञ्जु (ज्ञवाली) भुसाल पनि समानुपातिक उम्मेदवार बनेकी छन्। अर्घाखाँचीमा जन्मिएकी उनी सामाजिक कार्य, व्यवसाय र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। परिवारको राजनीतिक पृष्ठभूमि र सामाजिक सेवा भावले उनलाई नेतृत्वतर्फ प्रेरित गरेको बताइन्छ।
त्यस्तै, सहकारी अभियानबाट समाजसेवाको यात्रा सुरु गरेकी ज्ञानु पौडेल पनि समानुपातिक सूचीमा समेटिएकी छन्। सहकारी तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै उनी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्न सफल महिला व्यक्तित्वका रूपमा चिनिन्छिन्। रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ।
त्यस्तै, नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र चन्द्रमोहन यादव सूचीमा छन्। कांग्रेसको सूचीमा परेका यी ३ बाहेक सबै नयाँ अनुहार हुन्। कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पद्माकुमारी अर्याल र रामबहादुर थापा मगरसहित १६ जना समानुपातिक सांसद चुनिएका छन्। एमाले युवा नेतृ निता घतानीलाई समेटेको छ। मुस्लिमबाट महिला साजिदा सिद्दीकी रहेकी छन्। नेपाली कम्युनिस्ट पार्टीले प्रमेश हमाल, गणेश विकलगायत समानुपातिकबाट समेटेको छ। नेकपाका पनि अधिकांश नयाँ अनुहार छन्। नेकपाले समानुपातिकमा ९ सिट हात पारेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओली र ताहिर अली भाटजस्ता नामहरू पनि समानुपातिक सूचीमा देखिएका छन्। राप्रपाले पनि समानुपातिकमा ४ सिट पाएको छ। श्रम संस्कृति पार्टीले धनुषाकी २५ वर्षीया रुवीकुमार ठाकुरसहित ४ जनालाई समानुपातिकमा समेटेको छ। प्रतिनिधिसभामा रास्वपाले १ सय ८२ सिट ल्याएको छ भने कांग्रेसले ३८, एमालेले २५, नेकपाले १७ तथा श्रम संस्कृतिले ७ एवं राप्रपाले ५ सिट जितेको छ। एक जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन्।
निर्वाचित समानुपातिक सदस्यहरू :
राष्ट्रिय स्वतन्त्र पार्टी (५७)
राम लामा, खुस्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा, बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, रमेश प्रसाई, प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य), विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा, ज्ञानु पौड्याल, प्रभा ढकाल, प्रकाशचन्द्र दर्जी, रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गीता चौधरी, करिश्मा कठरिया, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण, पूनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, समिना मिया, अफ्साना बानु, गजाला शमीम मिकरानी
नेपाली कांग्रेस (२०)
भीष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ,गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, अर्जुननरसिंह केसी, कालिबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, हरिनादेवी कामी, पवित्रा विक, मनमाया विक, चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण, रेखाकुमारी यादव, शाहजान खातुन
नेकपा एमाले (१६)
भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्माकुमारी अर्याल, टुकाभद्रा हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल, पुष्पराज कडेल, कृपाराम राना, विष्णुमाया विक, नीता घतानी, रिगला यादव, यशोधा कुमारी, चन्देश्वर मण्डल, साजिदा खातुन सिद्धिकी
नेपाली कम्युनिस्ट पार्टी (९)
बलावती शर्मा, प्रमेशकुमार हमाल, प्रेमबहादुर वयक, भीमकुमारी बुढामगर, परशुराम तामाङ, पार्वती विक, गणेशबहादुर विश्वकर्मा, जोगकुमार बरबरिया यादव, निराशा चौधरी (डगौरा)
श्रम संस्कृति पार्टी (४)
पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी संग्रौला, राधिका रम्तेल, रुवी कुमारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (४)
सरस्वती लामा, भरत गिरी, खुश्बु ओली, ताहिर अली भाट
प्रतिक्रिया दिनुहोस !