‘समुन्नत समाज निर्माण’ मधेश प्रदेशका युवाहरुको साझा माग
जनकपुरधाम : मधेश प्रदेशका युवाहरुले एक साझा मागपत्र सार्वजनिक गर्दै ‘समुन्नत समाज’ निर्माणका लागि सुधारका मार्गचित्र तयार गरेका छन् ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रम पश्चात युवाहरुबीचको अन्यौलता र अपेक्षालाई सम्बोधन गर्ने अभिप्रायले मधेश प्रदेशका आठै जिल्लाका १८ देखि ३५ वर्षमुनिका युवाहरुले के चाहेका छन् त ? भन्ने अनुसन्धान गरिएको थियो । दुई संस्थाहरु दलित सरोकार मञ्च र कायापलटले संयुक्त रुपमा गरेको अपेक्षा र माग संकलनका आधारमा युवाहरुको साझा माग स्पष्ट अगाडि आएको हो ।
मधेशका अधिकांश युवाहरुले गैरराजनीतिक मुद्दाहरुको रुपमा जीवनउपयोगी, रोजगारमूलक र गुणस्तर शिक्षामा कमी, स्वास्थ्यसेवाको पहुँच र गुणस्तरमा कमी, जीविकोपार्जन, रोजगारी र आर्थिक अवसरहरुको कमी, साँस्कृतिक विविधतामा सामाजिक सद्भावको कमी र सामाजिक न्यायको अनिश्चिततालगायतका विषय रहेका छन् ।
त्यसैगरी शासन, जवाफदेहिता र सार्वजनिक सेवा प्रभाव प्रभावकारितामा कमी, डिजिटल सुरक्षा र सार्वजनिक सुरक्षाको बढ्दो चुनौती, कृषिको बजारीकरणको कमी, जलवायु र वातावरणमा ह«ास, समावेशी पूर्वाधार र विकासको अपर्याप्तता, युवा सहभागिता र खेलकुद विकासमा अपर्याप्तता लगायतका छन् ।
त्यसैगरी गैरराजनीतिक मुद्दाहरुमा राजनीतिक दलमा युवा सहभागिता र नेतृत्व हस्तान्तरणको कमी, आर्थिक सुरक्षा, स्वरोजगार र वैदेशिक पलायन, राजनीतिक शिक्षा र संस्थागत नेतृत्व प्रशिक्षणमा कमी, राजनीतिक शुद्धीकरण र स्वस्थ प्रतिष्पर्धा र राजनीतिक स्वतन्त्रता र आलोचनात्मक चेतको कमीलगायतका विषयहरु रहेका छन् ।
‘यस मागपत्रलाई संघीय, प्रदेश, स्थानीय सरकारले आफ्ना नीति निर्माण तहमा यथोचित सम्बोधन गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ कायापलट संस्थाका अध्यक्ष दिवाकर उप्रेती भन्छन्, ‘मधेशलाई आर्थिक रुपमा आत्मनिर्भर, सामाजिक र राजनीतिक रुपमा समावेशी तथा प्रभावकारी बनाउन यो मागपत्र एक कोशेढुंगाको रुपमा स्थापित हुनेछ भन्ने विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस !