सम्हालिएका रवि, नवनिर्वाचित सांसदलाई दिए गहकिलो सन्देश

सम्हालिएका रवि, नवनिर्वाचित सांसदलाई दिए गहकिलो सन्देश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार पार्टीका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिएका छन्। आधा घण्टाको प्रशिक्षणमा उनले देश निर्माणको अभिमत जनताले आफूहरूलाई सुम्पिएको विषय बारम्बार दोहोर्‍याए। सांसदको कुर्सीमा बस्दैमा सबै ज्ञान प्राप्त नहुने उल्लेख गर्दै उनले निरन्तर अध्ययन र रिसर्च गर्न सांसदहरूलाई जोड दिए।

पार्टीको विधि-सिद्धान्त र देशको हित विपरीत हुने काम सह्य नहुने भन्दै ‘राइट टु रिकल’को व्यवस्थालाई पनि बेवास्ता नगर्न सांसदहरूलाई सचेत गराए। सभापति लामिछानेले विजयी भएर नमात्तिन र विपक्षी दलका नेताहरूलाई पनि सम्मान गर्न आग्रह गरे। यसअघि राजनीतिकर्मी, शीर्ष नेता र अमुक व्यक्तिहरूप्रति चर्को टिप्पणी गर्ने सभापति लामिछाने करिब दुई तिहाइ सिट जितेपछि सम्हालिएका छन्। उनले विपक्षीसहित कुनै पनि दलका नेताहरूविरुद्ध कटाक्ष नगर्न निर्देशन दिएका छन्।

'आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विपक्षीहरूप्रति सामाजिक सञ्जालमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनुभएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु वा विपक्षीलाई कटाक्ष गर्नु होइन,' उनले भने।

प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले दिएको अभिव्यक्तिलाई धेरैले प्रशंसा गरेका छन्।

लामिछानेले दिएको वक्तव्यको पूर्ण पाठ
जनताको आँखाबाट आफ्नो आँखा कहिल्यै पर पुर्‍याइएन। जनताको आँगनबाट कहिल्यै टाढा भइएन। आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा रहिरहन्थ्यो। हामीले जमिन छोडेका थिएनौं। नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनुहुनेछ भन्ने कुरा कहीँ न कहीँ सोचिएको थियो। थाहा के थियो भने, यो देश परिवर्तन चाहन्छ, मुलुक र जनताले चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। सही समूह र सही नेतृत्व भए पुग्छ। इतिहासको त्यो बिन्दुमा हामी आइपुगेका छौं। धेरै कुरा भन्नुभन्दा, तपाईंहरुलाई जिम्मेवारी महसुस गराउन यहाँ आएको छु। गर्वका साथ भन्न सक्छौं, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। त्यस मानेमा रास्वपाको अभिभावक हुनुमा मलाई गर्व छ। 

पहिलो कुरा त, प्रशस्त पानी पिउनुहोला। अनि लामो समय शौचालय नरोक्नुहोला। यसबीचमा म आफैं युरिन इन्फेक्सनबाट ग्रसित भएँ। कम पानी पिउने र निर्वाचनको धपेडीमा ट्वाइलेट जान पर्ला भनेर रोक्ने काम गरें। त्यसले मलाई बढी नै ग्रसित बनायो। त्यसबाट अहिले बाहिर निस्किने क्रममा छु। निर्वाचनमा सबैको खटाइ अनुहारबाटै देखिरहेको छु। यी अनुहारहरु सधैं यस्तै हुनुपर्छ। जनतासँग सधैं भिजेको, असिन पसिन भएको, जनतासँग सधैं गाँसिएको हुनुपर्छ। नतृत्व र जनताका बीचमा एउटा ठूलो पर्खाल छ। कयौं नेतासँग जनता नजिक हुनै चाहँदैनन्। किनकि उनीहरू आफ्नो मान्छेजस्तै लाग्दैन। घर घरमा नमस्कार गर्न पुगेका छौं। भोलि नमस्कार नगर्ने ठाउँमा हामी पुग्न सक्छौं, होसियार। त्यस्तो नेतृत्व जनताले खोजेका छैनन्। 

आज तपाईंहरुले खुसीयाली मनाउनुभएको छ। तपाईंको निधारको टिका नुहाएर पनि गएको छैन। कसैले अझै माला लगाइरहनुभएको छ। हो, त्यसैगरी अबको पाँच वर्ष नेपाली जनताले प्रत्येक दिन गर्न सक्ने काम गर्नुपर्छ। तपाईंको परिवार खुसी हुनुभएको छ नि, आफन्त देश-विदेशमा सेलिब्रेसन चलिरहेको होला। केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला। हो, त्यस्तै उत्सव पाँच वर्ष नेपाली जनताले मनाउनुपर्छ। त्यो हाम्रो चुनौती हो।

null

यो पाँच वर्ष अन्य चुनावजस्तो चुनिए भनेर सोच्नुभयो भने अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ। राजनीति यही ढंगले चल्छ भनेर दौडधुप गरेको पनि मैले देखिरहेको छु। ‘नथिङ’, कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। त्यही काँचुली फेर्न नेपाली जनताले हामीलाई अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईंहरूको काँधमा नेपाली जनताले दिएका छन्। उनलाई थाहा छैन, कुन कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ वा इन्टरनेट चल्छ। तर, तपाईंलाई थाहा हुनुपर्छ, कुन धाराले कहाँ अड्काएको छ। तपाईंले अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधुप, यता उता, यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि, यसो भेटेर गएर फोटो खिचे हुन्छ कि, यो पसल बन्द गर्नुहोला साथीहरू। म आज अलिकति तीतो कुरा गरिरहेको छु। कानुन निर्माताका रूपमा तपाईंको जिम्मेवारी हाम्रो जिम्मेवारी हो। अत्यन्त गहन छ। पछिल्लो परिवर्तन  संविधान कार्यान्वयन हुनका लागि समेत कयौँ कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा–अड्चनहरू भए। तर, नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुईतिहाइको बहुमत दिएका छन्। अब के को बाधा? के ले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईं हाम्रो नियतले मात्रै हो।

अर्को कुरा, धेरै लामो अनुभव त राजनीतिमा रहेन, तर जति समय रहेँ, सधैँभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नुपर्‍यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो, पार्टीको नाममा मुद्दा चल्यो, यसलाई जन्मँदै कुल्चिने कोसिस भयो। तर, हामीले बचाउँदै ल्यायौँ। यो पार्टीको चुनाव चिह्नमा मुद्दा चल्यो, चिह्न नै भत्काइदिने गरी प्रहारहरू भए। स्थापित राजनीतिक दलहरूबा६, विभिन्न स्वार्थ समूह र शक्ति समूहबाट जोगाएर ल्यायौँ। हामीले घण्टी बचायौँ किनकि नेपाली जनताको लागि घण्टी बचाउनुपर्थ्यो, घण्टी बजाउनुपर्थ्यो। यो सजिलो थिएन। देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ। हामी डराएनौँ, हल्लिएनौँ किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ, भनेर हामीले ८४ कुरेका थियौँ। नागरिकले सबै हेरेका हुन्छन्। हरेक गतिविधि हेरेका हुन्छन्।

जनताको चेतनालाई कसै कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर। तर होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई २१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे जनताले। अघिल्लो चुनावमा जनताले के भने भने, यी नयाँहरूलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमात्तिऊन्। त्यति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिट्यान्न नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी बाँधिन्छ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३४-३५ वर्ष कुरे, तपाईं हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्। यो कुरामा निर्धक्क हुनुहोला। किनकि जनता अब्बल चेतनामा आएका छन्। अब कानुन निर्माताका रूपमा तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन, घण्टीका मुनि सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति धेरै तागत छ, कहीँ गुट बनाउनुपर्दैन।

आफ्नो पोजिसन के हुन्छ? म कहाँ हुन्छु? मलाई के हुन्छ? पार्टीमा मेरो हैसियत के हुन्छ? संसद् र सरकारमा मेरो हैसियत के हुन्छ? ‘म केन्द्रित’ राजनीतिबाट माथि उठ्न सकिएन र ‘देश केन्द्रित’ राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि खत्तम हविगत हुन्छ। यो कुरा म तपाईंहरूलाई ‘डे वान’ मै बताउन गइरहेको छु। त्यसैले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, राष्ट्रिय सहमति भन्दै नेताहरूले आ-आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीले आफ्नो ठाउँ सुरक्षित राखे। तर, देशलाई केन्द्रमा राखियो कि राखिएन? त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईंको र मेरो मन्त्री/प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले र समाजले बोक्दैन। तर यो समाजको सपनाको भारी तपाईं हामीले बोक्ने हो। त्यसैका लागि मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन, यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया वा एक घुट्को पानी खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर संसद् छिरेकी छन् सहिदकी आमा। यो सामान्य कुरा होइन।

null

यो देशमा बिचौलियाहरूको बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ, त्यो अनुभव तपाईंहरूलाई सुनाउँदै छु। तपाईंहरूलाई विचलित र प्रभावित बनाउन मानिसहरू दौडिन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको दिनबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ, प्रत्येकपटक। हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं, अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ-ठाउँबाट प्रयास भएको तपाईंहरुले हेर्नुहुन्छ होला नि। समाचारका नियतहरु पनि हेर्न सकिन्छ नि। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ। हामीविरुद्ध पनि लाखौँ भोट परेका छन्। प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन,  फरक यति हो कि हामी कति बलियो छौँ? आफू बलियो हुनुपर्छ, अरुलाई दोष लगाएर, अर्काले फुटायो, विदेशीको चाल, उसको चाल, यसको जालजस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन, हामी मिल्न सकेनौँ र स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो।

विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईंहरूले कहीँ कतै लघुताभास राख्नै पर्दैन। मलाई पुरानो पार्टीको भन्छन् कि,  वा पुराना पार्टीलाई गाली गर्दा अनुहार रातो पार्नुपर्छ कि भन्नुपर्दैन। हृदय ठूलो पारेर हामीले तपाईंहरूलाई स्वागत गरेका छौँ, खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाईंहरू टक्टकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्थाबाट नचलोस् भनेर कलिला भाइबहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो पाँच वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त सहिदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभाबी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाईं हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन। सञ्चारमाध्यममा बोल्न र आफ्ना बारेमा वाहवाह हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरूले राम्रो कुरा लेखिदिँदा दंग परिन्छ। तर त्योभन्दा अलिक माथि उठ्नुपर्छ।

तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद र राजनीतिकर्मी हो। कसैलाई अझै म पुरानो पेशाकर्मी हुँ, म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु  भन्ने लाग्छ भने तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ। केही फरक पर्दैन। तर होइन भने अब जिम्मेवार बन्नुपर्छ। मेरो भूमिका फेरिएको छ। मैले कानुनहरू फेर्नुपर्नेछ, संसद्‌मा नयाँ कानुन ल्याउनुपर्नेछ। मलाई मत दिएका जनताको घरघरमा खुसियाली आउनुपर्नेछ र उनीहरुको चुलो बल्नुपर्नेछ। उनीहरूले मेरोजस्तै अस्पतालमा उपचार गर्न जाँदा कसैको ‘सोर्स’ बिना बेड पाउनुपर्छ भन्ने कुराको महसुस तपाईंलाई हुनुपर्छ। म अनुरोध गर्न चाहन्छु,  सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमै उपचार गराउनुस् (इमर्जेन्सीको बेलामा भनेको होइन)। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीलाई अप्ठ्यारो पर्ने तर तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन। यो महसुस गर्न सक्नुपर्छ।

रास्वपा स्थापना भएको साढे तीन-चार वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौं। रास्वपाभित्र देशको अनुहार छ। कसैको विवाद र कसैको उच्च छबि पनि होला। कसैको सामान्य र कसैको उच्च जीवनशैली होला। एउटा कुरा स्पष्ट पार्न चाहन्छु- सरकार दुई तिहाइको छ, सङ्ख्या घट्ला, बहुमतमा रहला वा अल्पमतमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, अर्को अनुशासन हुन्छ। यसबीचको पातलो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईंको स्वतन्त्रता हनन गर्ने उद्देश्य पार्टीको छैन। सभापतिको रूपमा मेरो पनि कुनै आपत्ति छैन। तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर। अनुशासनमा पार्टीले तपाईंलाई कडाइका साथ पालना गराउँछ। परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौं  भने त्यसले अराजकता सिर्जना गर्छ, अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौं। 

म अरुबेला भन्दा अलिकति फरक सुनिएको छु होला, तपाईंले महसुस गर्नुभएको होला। अलिअलि कारबाहीका कुरा गर्‍यो, राइट टु रिकलको कुरा गर्‍यो, खबरदारी गर्‍यो  भन्ने लागेको होला। लाग्नुपर्छ तपाईंलाई। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन्, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईंलाई प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिल्यै बन्दैन भनेर साथीहरुले भनेका छन्, हरेक ठाउँमा भनेका छन्। भोट माग्न जाने बेला, बाबु यो देश बचाऊ भनेका छन्। सुन्दा सामान्य लाग्न सक्छ। तर, कति गहन र ठूलो कुरो छ, हामी जस्ता सामान्य मान्छेको हातमा नीलो झन्डा र घण्टी बोकेर हिँडेकाहरूको काँधमा जेष्ठ नागरिकदेखि बालबालिकासम्मले देश बचाऊ भनिरहेका छन्। जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी। यो जिम्मेवारी तपाईं हामी सबैले महसुस गर्नुपर्छ। 

null

यति ठूलो परिवारलाई अनुशासन बाँध्न एकदम जरुरी छ। मिडियामा तपाईंको उपस्थितिलाई हामी केही भन्दैनौं। तर, पार्टीलाई त्यसबारे जानकारी अवश्य गराउनुहोला। तपाईंको अभिव्यक्तितले मतदान गर्नेको चित्त नदुखोस्। देशको सम्बन्धमा आँच नपुर्‍यायोस्। तपाईंहरूका टिप्पणीले आशालाई निरासामा बदलिन सक्छ। अब संसद्‌को सेश न चलेको बेलाबाहेक तपाईंहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। त्यहाँ कसैले दुःख पायो भने त्यो तपाईंको जिम्मेवारी हो। किनिक उहाँहरुले तपाईंहरुलाई जिताएर पठाएको छ। ठूला ठूला हल वा विदेशको सेमिनार हलमा होइन, त्यो गाउँको चिया चौताराहरुमा आफ्ना सांसदहरुलाई देख्न चाहन्छु। चुनाव जितेको सर्टिफिकेटले मात्र ज्ञान दिँदैन। आफ्नो आचरण र व्यवहारमा विशेष ध्यान दिनुहोला। चुनाव त फेरि पनि आउँछ, तर यसपटक हामीले नागरिकसँग ‘करार’ गरेका छौँ। त्यो करारका अक्षर-अक्षर पढ्नुहोला।

तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायल गरेर म फलानो मन्त्री   भन्ने जस्ता चिज बन्द गरिदिनुहोला। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने निर्णय अहिलेसम्म गरिसकेको छैन। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईंले भन्नुपर्दैन। पार्टीलाई तपाईंहरूको क्षमता र विज्ञता थाहा छ। कैयौं साथीहरु देखिएको देखियै गर्नुहुन्छ, कैयौं साथीहरु  छेकिएको छेकियै गर्नुहुन्छ। पार्टीले छकिएको साथीहरुलाई पनि हेरिरहेको छ। म सञ्चारकर्मी साथीहरूलाई पनि अनुरोध गर्छु, सार्वजनिक चर्चामा आइसकेका बाहेक रास्वपाभित्र १०१ विज्ञ साथीहरू यो हलभित्र हुनुहुन्छ, क्यामेरा अलिकति उहाँहरूतर्फ पनि फोकस गरिदिनुहोला। एकसेएक विज्ञ साथीहरू हुनुहुन्छ।

हामीले भनेका थियौँ, ‘यसपटक आफ्नो भाग्य र इतिहास आफ्नै हातले लेख्ने हो।’ आज म तपाईंहरूलाई भनिरहेको छु- यो देशको भविष्य कस्तो लेख्ने भन्ने तपाईंहरूकै हातमा छ। अरु कसैको हातमा छैन। जनताले दिए तपाईंलाई, ल लेख हाम्रो भविष्य, ल रोक हाम्रो छोराछोरीलाई विदेश जानबाट, रोजगारी सिर्जना गर अनि बनाउ बाटोघाटो र बिजुली। जनताले आफ्नो काम गरे। त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। नजानेको कुरा सिक्न कहिल्यै पनि अप्ठ्यारो मान्नुपर्दैन। सांसदको लोगो लगाउनेबित्तिकै, संसदको कुर्सीमा बस्नेबित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउँदैन। मेहनत र परिश्रम गर्नुपर्छ। कहाँ कहाँ समस्या छन्, अध्ययन र रिसर्च गर्नुपर्छ। यति धेरै प्रबुद्ध व्यक्ति र युवाले देश बनाउन सक्दैन भने कसले बनाउन सक्ला? हामी सक्छौं, हामी गर्छौं।
 
यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको ‘सामाजिक न्याय’ हो। आम मानिसको आँखाले देखिने विकास भनेको भौतिक पूर्वाधार हुन्। ठूला बिल्डिङ र चिल्ला सडक विकासका सूचक हुन सक्लान्, तर मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। जुन समाजमा न्याय छैन र विभेद छ, त्यो मान्छे बस्ने समाज होइन। सामाजिक न्यायका लागि हामीले पैरवी गर्नुपर्छ। रास्वपाले चाहेर पनि कयौँ साथीहरूलाई जोड्न सकेन। अन्य दलभन्दा धेरै महिला साथीहरूलाई उठाए पनि यो पर्याप्त होइन। म दुःखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बु समुदायको प्रतिनिधित्व यो संसद्‌मा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्दै आगामी दिनमा समावेशिताको यो कडीलाई प्राथमिकतामा राख्ने अगाडि बढ्नेछु।

भोलि तपाईंहरू मन्त्री बन्नुहोला, भोलि बजेट सोरेर आफ्नो क्षेत्रमा लानुभयो, तर कर्णाली, मधेस वा सुदूरपश्चिमलाई रुवाउनुभयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन मलाई थाहा छ। जिल्लामा कति पुल र सडक बने भनेर तपाईंलाई कीर्तिमानी बनाउँदैन। कर्णालीमा अस्पताल बन्यो कि बनेन, बाट बने कि बनेन, सुत्केरी आमाले मृत्युवरण गर्न पर्‍यो कि परेन, मधेसमा शिक्षाको उज्यालो र स्वच्छ खानेपानी पुग्यो कि पुगेन, विकासको सूचक यो हो। अर्को पटक बाटो लगिनँ भने चुनाव जित्दिनँ भनेर लाग्नुभयो भने मलाई फे रि पनि ‘राइट टु रिकल’को सम्झना गराउनुपर्ने हुन्छ। एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौँ। अर्को चुनाव जितौंला नजितौंला तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो।

म लोकतान्त्रिक पद्धति, वर्तमान व्यवस्था र संविधानप्रति पूर्ण प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही सुधार चाहिएको छ भन्ने हेक्का छ, तर संविधानप्रतिको हाम्रो प्रतिबद्धता डगमगाएको छैन र तपाईंहरूले पनि डगमगाउन दिनुहुनेछैन। इतिहास रचनामा एउटा मान्छे वा पार्टीको मात्र हात हुँदैन। पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आजको दिन ल्याउनुभएको छ। उहाँहरूका बेथितिप्रति हाम्रो प्रश्न हो, तर इतिहासले दिएको उहाँहरूको योगदानलाई अपमानित गर्ने हक हामी कसैलाई छैन। इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ। हाम्रा विपक्षीहरूप्रति कटाक्ष भयो भने अनर्थ हुन्छ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विपक्षीहरूप्रति सामाजिक सञ्जालमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनुभएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु वा विपक्षीलाई कटाक्ष गर्नु होइन। रास्वपाका समर्थकहरू अराजक, असहिष्णु र सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिन्छन् भन्ने आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ। सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार र सहिष्णु भएर प्रस्तुत हुन अनुरोध गर्दछु। यो रास्वपाले जितेको होइन, देशले जितेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.