लहानमा ´हात्तीदह वनस्टे`
सिरहा : सिरहाको लहान नगरपालिका-१५ का पर्यटकीय स्थल हात्ती दह परिसरमा ´हात्तीदह वनस्टे` सञ्चालनमा आएको छ। होमस्टे जस्तो वनस्टे हो।
यहाँ कोइरालो खोला नमूना वन उपभोक्ता समूहले हात्ती दह सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्दै आएका छन्। जसमा पाहुना घर (वनस्टे) निर्माण गर्न जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन), राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा लहान नगरपालिकाको समन्वयमा संचालित संरक्षण परियोजनाले सहयोग गरेका छन्।
पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट वनस्टे सुरु गरिएको छ। सामुदायिक वनभित्र रहेका हात्ती दहमा तालिम हल, पिकनिक स्पोट, दहमा बोटिङ्, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखाना र सेल्फी पोइन्टहरू छन्। वनस्टे निर्माणका लागि परियोजनाबाट ८ लाख ६ हजार ८८ र समुहले ३ लाख ६७ २९५ गरि ११ लाख ७३ हजार ९८३ रुपैयाँ खर्च गरिएको छ।
सामुदायिक वनमा पर्यटकीय स्थलको रूपमा विकास भएपछि यहाँका समुदायलाई आयआर्जनमा जोडेको छ। प्रत्यक्षरूपमा १४ जनाले रोजगारी पाएको छ । नगरपालिकाबाट थप २० लाख बजेट विनियोजन गरेर २/२ कोठाको दुई वटा घर बनाउने वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी गराए।
यहाँ आउने पाहुनाहरूलाई थारू साँस्कृतिक देखाउने र थारू खानेकुराको परिकारहरू राख्ने योजना रहेको वडाध्यक्ष तेजनारायण चौधरीले सुनाए। अहिले १ जना बराबर ८०० रुपैयाँ तोकेको छ। त्यसैमा खान र बस्न व्यवस्था छ। अहिले दैनिक२ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको उपभोक्ता समूहका अध्यक्ष रुद्र नारायण चौधरीले सुनाए। लहान बजारदेखि ५ किलोमिटर उतरमा यो हात्ती दह पर्यटक स्थल रहेको छ।
प्रतिक्रिया दिनुहोस !